News Portal

  • सिडिओ पाण्डे र मेयर प्रजापतिको पहलमा १०८ रोपनीमा पार्किङ

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ११ असाेज
    २७०० पटक
    भक्तपुर, ११ असाेज

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपली स्थित यातायात व्यवस्था सेवा कार्यालयका सेवाग्राहीहरुका लागि छुट्टै पार्किङ्ग स्थलको पहिचान गरिएको छ । १०८ रोपनी चौरसंगै रहेको कार्यालयमा आउने सेवाग्राहीका लागि उक्त चौरलाई नै पार्किङ्ग स्थल कायम गरिएको हो ।

    दैनिक करिब ७/८ सयको हाराहारीमा आउने सेवाग्राहीका सवारीसाधन अव्यवस्थित रुपमा सडकमै पार्किङ्ग हुँदा स्थानीयवासीलाई असुविधा हुँदै आएको थियो । वर्षौदेखि नपलीमा रहेको कार्यालयले छुट्टै पार्किंग स्थल कायम गर्न नसक्दा स्थानीय मानिसहरु आफ्नै घरमा जान आउन पनि निकै समस्या ब्यहोर्नुपर्थ्यो ।

    निकै दिक्क भएपछि पछिल्लो समय स्थानीयको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था सेवा कार्यालय पुगी आफ्नो असुविधाबारे अवगत गराएको थियो । नपलीका स्थानीयसमेत रहेका गायक एवं सामाजिक अभियन्ता कपिल कस्पालको अग्रसरता एवं जनप्रतिनिधि सूर्यप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको उक्त टोलीले पार्किङ्ग समस्या तत्काल समाधान गर्न आग्रह गरेको थियो । उक्त टोलीमा प्राज्ञ नन्दु उप्रेती, संजना प्रेमी लगायत १ दर्जन स्थानीय उपस्थित रहेका थिए ।

    यस विषयमा भक्तपुर पोस्टले प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बिमल भट्टराइले आफूले यथासक्य चाडो समस्या समाधान गर्ने बताएका थिए । ”हामी सिडिओ साब र नगरपालिकासंग आवश्यक समन्वय गरी यथासक्य चाडो समस्या समाधान गर्न प्रतिवद्ध छौं ।” भक्तपुर पोस्ट मार्फत प्रमुख भट्टराइले प्रतिवद्धता प्रकट गरेका थिए ।

    यस सम्बन्धमा भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारी कार्यालय जनताको सास्तीका लागि नभई सेवाका लागि भएको भन्दै नपलीका स्थानीयको गुनासो सम्बोधन गरिने ग्यारेन्टी गरेकी थिइन् । ”हामी छिट्टै पार्किङ्ग स्थलको पहिचान गरी दीर्घकालीन समाधानको उपाय दिन्छौं ।” भक्तपुर पोस्टसंग उनले भनेकी थिइन् ।

    प्रतिवद्धता बमोजिम नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कार्यालय संगै रहेको नेपाल ट्रस्टको स्वामित्वमा रहेको चौरमा सवारी साधन पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको छ । यो चौरको संरक्षण भने भक्तपुर नगरपालिकाले गर्दै आएको छ । नगरपालिकाले आफ्नै बजेटबाट करिब १ करोड खर्च गरी चौरलाई पर्खालले घेरेको छ ।

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेले ट्रस्ट र नगरपालिकासंग समन्वय गरी पार्किंगको लागि उक्त चौर उपयोग गर्न सफल भएकी हुन् । ट्रस्ट र भक्तपुर नगरपालिकाबीच सुमधुर सम्वन्ध बन्न नसकेको भएपनि सार्वजनिक हितका लागि दुवै निकाय पार्किङ्ग स्थलको रुपमा यसलाई प्रयोग गर्न दिन सहमत भएका छन् । सिडिओ हुमकला पाण्डे र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको पहलमा पार्किङ्ग स्थल पहिचान भएको हो । यसले उक्त क्षेत्रको पार्किङकाे समस्या दीर्घकालीन रुपले हल भएको भन्दै स्थानीयले सन्तोष व्यक्त गरेका छन् ।

    पार्किङ्ग गर्ने सवारीधनीले सेवा लिने अवधीभर पार्किङ्ग गरे वापत रु १० शुल्क बुझाउनुपर्ने र सो शुल्क भक्तपुर नगरपालिकाको राजस्वमा जाने व्यवस्था मिलाइएको वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए । सवारी साधनको रेखदेख र सुरक्षाको लागि नगरपालिकाले आफ्ना २ कर्मचारी समेत पार्किङ्ग स्थलमा परिचालन गरेको देखिन्छ । पार्किङ्ग स्थल पाएपछी स्थानीय मात्र होइन, सेवाग्राही समेत खुशी भएका छन् । ”बाटोमा सवारी राख्दा अर्काले स्क्राच गरिदिने अथवा चोरी होला भन्ने डर हुन्थ्यो, अहिले ढुक्क भएर सेवा लिन पाइएको छ ।” कोटेश्वरबाट सेवा लिन आएका एक सेवाग्राहीले भने ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...