News Portal

  • किसानलाई अलैँची टिप्ने चटारो, भाउ ओरालो

    ९४४ पटक

    बागलुङ, १५ असोज । किसानलाई यतिबेला अलैँची टिप्ने चटारो छ । हजार–बाह्र सय मीटरको उचाइमा त साउन अन्तिमतिरै अलैँची पाक्न शुरु गर्छ । उपल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । अलैँचीको फल वर्षमा एकचोटि लाग्छ । बरेङ गाउँपालिका–२ को नमूना अलैँची उत्पादक कृषक समूहका सदस्य अहिले अलैँची टिप्न र सुकाउनमा व्यस्त छन् । दश क्विन्टल जति अलैँची टिपिसकिएको समूहका अध्यक्ष विमल पौडेलले बताउनुभयो । “अलैँची टिप्न अझै बाँकी छ, सुकाउँदा यो वर्ष २५ क्विन्टलसम्म ठहर्छ कि ?”, उहाँले भन्नुभयो ।

    यहाँका किसानले झण्डै ४०० रोपनीमा अलैँची खेती गर्दै आएका छन् । बरेङमा अलैँचीको पकेट कार्यक्रम सञ्चालित छ । ताराखोला गाउँपालिकाको अलैँची ‘ब्लक’ ले वडा नं. १, २, ३ र ४ वडा समेटेको छ । गाउँपालिकाको आँकडानुसार ६५० रोपनीमा अलैँची खेती छ । अलैँची ब्लक सञ्चालक समितिका सचिव इन्द्रबहादुर रोकाले अर्को सातादेखि अलैँची टिप्न शुरु हुने बताउनुभयो । “चिसो र उचाइमा भएका कारण यहाँको अलैँची अलिक ढिलो पाक्छ”, उहाँले भन्नुभयो, “असोज अन्तिमसम्ममा सबै टिपीसक्छौँ ।”

    जातअनुसार पनि अलैँची ढिलो–छिटो पाक्ने हुन्छ । ताराखोलामा रामसाइ र गोलसाइ जातको अलैँची खेती छ । यो वर्ष अलैँचीको राम्रो फल लागेको रोकाको भनाइ छ । उहाँले मात्र २२ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको छ । यो वर्ष उत्पादन अझै बढ्ने देखिएको छ । गाउँपालिकाभर गर्दा ३० देखि ३५ क्विन्टलसम्म फल्ने अनुमान छ ।

    वर्षेनी अलैँची भित्र्याउँदा खुशी हुने किसान बजार भाउदेखि भने निराश छन् । पहिलेकै झैँ मूल्य पाउने हो भने अलैँची खेतीतर्फ किसानको आकर्षण झनै बढ्ने थियो । उत्पादनअनुसारको मूल्य नपाउनु दुःखद् भएको अध्यक्ष पौडेलको भनाइ छ । “गत वर्ष रु ६०० देखि रु ६५० सम्ममा विक्री भएको थियो, अहिले त्यही पनि पाइने हो या होइन, यस्तो अवस्था छ”, उहाँले भन्नुभयो । विदेशमा नेपाली अलैँचीको माग र बजार भए पनि किसानले उचित मूल्य नपाएको अलैँची किसान रोकाले बताउनुभयो ।

    उहाँका अनुसार चार–पाँच वर्ष अघिसम्म प्रतिकिलो अलैँची रु २५ सयसम्ममा विक्री हुन्थ्यो । एक मन (४० किलो) को रु एक लाखसम्म पथ्र्यो । अहिले एक मनको मूल्य रु २५ हजार हाराहारी पर्छ । “नेपालले अलैँचीको आफ्नै ब्राण्ड बनाएर अन्तराष्ट्रिय बजारमा बेच्नुपर्छ”, रोकाले भन्नुभयो । नेपालमा उत्पादन हुने अलैँची पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात हुन्छ । अलैँचीको बजारमा भारतीय व्यापारीको एकाधिकार छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग र बजारमूल्य नघटे पनि नेपाली किसान भने सस्तोमा बेच्न बाध्य छन् ।

    केही वर्ष अघिसम्म अलैँची किन्न व्यापारी घरघरै आउने गरेको जैमिनी नगरपालिका–१० राङ्खानीका किसान मनबहादुर श्रीसले सुनाउनुभयो । अहिले किसान आफैँ व्यापारी खोज्दै जानुपर्ने बाध्यता छ । त्यतिबेला राम्रो भाउ पाउँदा किसान खुशी पनि थिए । अहिले अलैँची बेच्नै गाह्रो हुन थालेको उहाँको भनाइ छ । शुरुमा कमाइ हुने देखेर अलैँची खेतीमा लागेका किसान निरुत्साहित हुन थालेका छन् । कतिपय अगुवा किसानले गाउँभरिको अलैँची जम्मा पारेर बिर्तामोड पु¥याउने गरेका छन् ।

    उचित मूल्य पाउने आशमा कोही किसानले लामो समय अलैँची थन्काएर राख्छन् । अलैँची खेतीमा लाग्ने मेहनत र श्रमअनुसारको मूल्य पाउने वातावरण बन्नुपर्ने किसान बताउँछन् । रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैँची खेतीमा खर्च हुन्छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ पकेट र दुई ब्लक क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउँछन् । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ब्लक छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालित छ ।

    केन्द्रका कृषि प्रसार अधिकृत विशाल काफ्लेले वबचौलियाका कारण अलैँची किसान मर्कामा परेको बताउनुभयो । “पछिल्लो समय नेपालमा अलैँची उत्पादन बढे पनि मूल्य भने घट्दै गएको छ”, उहाँले भन्नुभयो । जिल्लामा झण्डै ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । अलैँचीको उचित बजार व्यवस्थापन हुन सकेको छैन ।

    भारतबाहेक अन्य मुलुकमा पनि अलैँची निर्यातका लागि सरकारले पहल गर्नुपर्ने कृषि क्षेत्रका जानकार बताउँछन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुने गरेको छ । अलैँची खेती हजारदेखि २२ सय मिटरसम्मको पहाडी र हिमाली क्षेत्रमा हुन्छ । अलैँचीलाई ओसिलो ठाउँ चाहिन्छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...