News Portal

  • नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

    ५७७ पटक

    काठमाडौं, ३० असोज । कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ । संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन् । सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो । सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन् ।

    तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए । आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो । परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा अक्सिजनसहितको बेड मिलाइदिन आग्रह गरे । कटवालले अक्सिजनसहितको बेडका लागि निकै पहल गरे तर पाइएन । प्रतिष्ठानबाट अक्सिजनसहितको बेड नभएको जानकारी पाएपछि विजयपुर अस्पतालबाट अक्सिजन सिलिन्डर घरमा ल्याएर दिइएका ती संक्रमितलाई राति सास फेर्न कठिन भएपछि प्रतिष्ठानमा लगियो । प्रतिष्ठानमा पुयाएको केही समयमै ती संक्रमितको मृत्यु भयो ।

    धरान १६ का करिब ६० वर्षीय संक्रमितलाई पनि बुधबार साँझ सास फेर्न गाह्रो भयो । प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोसिस गरे । तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो । ती संक्रमितको राति नै घरमा मृत्यु भयो ।

    त्यस्तै धरान १५ का ६८ वर्षीय पुरुष ४ दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसे । ती संक्रमितलाई पनि बुधबार दिउँसो सास फेर्न गाह्रो भयो । दिउँसो करिब ४ बजेतिर प्रतिष्ठानमा लगियो । त्यहाँ भेन्टिलेटरको त कुरै छाडौं, सामान्य बेडसमेत नपाएपछि ती संक्रमितलाई विराटनगर लगियो । ती संक्रमितको बुधबार राति नै कोसी कोडिभ उपचार केन्द्रमा मृत्यु भएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले बताए ।

    धरान ९ का वडाध्यक्ष कटवालले पनि संक्रमितको उपचारका लागि सामान्य बेडसमेत प्रतिष्ठानमा उपलब्ध हुन नसक्नु दुःखद भएको बताए । करोडौं खर्च गरेर लेभल थ्री अस्पताल बनाए पनि अक्सिजनसहितका बेड पर्याप्त व्यवस्था नगरेको भन्दै उनले आक्रोश पोखे ।

    संक्रमण तीव्र भएपछि धरान, इटहरीलगायत सहरमा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो छ । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना नपाउँदा घरमै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ ।

    संघीय सरकारले बिपी प्रतिष्ठानलाई सुरुमा लेभल थ्री अस्पताल घोषणा गर्दै सोही अनुसार स्रोत, साधन तयार गर्न बजेटसमेट उपलब्ध गराएको थियो । प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल बनाए पनि संक्रमित बढ्दै गएपछि त्यो पर्याप्त छैन । गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने बेड र उपकरण त्यहाँ छैन । सामान्य बेड पनि पाउन मुस्किल भएपछि संक्रमितले उपचार पाउने अवस्था छैन । अस्पताल पनि भद्रगोल अवस्थामा छ । अस्पताल सञ्चालन भएको ३ महिनामै नयाँ जडान गरिएका भेन्टिलेटर बिग्रिएका छन् । एक्स रे र एबिजी मेसिन पनि बिग्रिएको अस्पताल स्रोतले जनाएको छ । कोभिड अस्पतालका १० वटा भेन्टिलेटरमा ४ वटा मात्र सञ्चालनमा छन् । सय बेडको कोभिड अस्पतालमा भेन्टिलेटरबाहेक संक्रमितलाई पाइपबाट सीधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र छन् ।

    कोभिड अस्पतालमा भर्ना भएकालाई पनि अक्सिजन चाहिँदा पालैपालो दिनुपरेको अस्पताल स्रोतले बतायो। ‘कोभिडका बिरामीका लागि अलग्गै अक्सिजन प्लान्ट अहिलेसम्म व्यवस्था भएको छैन, भेन्टिलेटरको त कुरै छाडौं, अक्सिजन बेड पनि पर्याप्त छैनन्,’ स्रोतले भन्यो, ‘लेभल थ्री अस्पताल भनेपछि सिरियस बिरामी ल्याएर उपचार गर्ने हो, सय बेडमा मात्र ९ वटामा अक्सिजन जोडिएको छ ।’

    प्रतिष्ठानमा आएका कोभिडका बिरामी व्यवस्थापन समन्वयकर्ता डा. इन्द्र लिम्बुले अक्सिजनसहितका बेड कम भएको विषयमा पदाधिकारीलाई जानकारी गराइसकेको बताए ।

    धरानका मेयर तिलक राईले प्रतिष्ठानका उपकुलपतिलाई पटकपटक आइसियू, भेन्टिलेटर थप गर्न आग्रह गरे पनि पहल नगरेको बताए। प्रतिष्ठानले सही रुपमा व्यवस्थापन नगर्दा समस्या भएको उनको भनाइ छ ।

    आइसियू नपाउँदा ज्यान गयो

    अर्घाखाँचीबाट उपचारका लागि बुटवल ल्याइएका कोरोना संक्रमितको पनि उपचार नपाएर मृत्यु भएको छ । अर्घाखाँची भूमिकास्थान ९ का ७३ वर्षी पुरुषको बुटवलका अस्पतालमा आयसियू बेड खाली नभएपछि बिहीबार बिहान दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ती पुरुषलाई मंगलबार संक्रमण पुष्टि भएका बुधबार बुटवल ल्याइएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएका ती संक्रमितलाई आइसियू बेड खाली नभएकाले आइसोलेसन वार्डमै राखिएको थियो । स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि ती संक्रमितलाई बुधबार राति दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा रेफर गरिएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. विष्णु गौतमले बताए । दाङ लैजाने क्रममा बिहीबार बिहान पौने ८ बजेतिर ती संक्रमितको बाटोमै मृत्यु भएको जानकारी आएको गौतमले बताए ।

    बुटवलस्थित कोरोना अस्पतालमा उपचारत बुटवलकै एक महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ । बुटवल ७ कि ७० वर्षीया संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बिहीबार बिहान सबा ९ बजेतिर मृत्यु भएको डा. गौतमले बताए । गत २१ गते संक्रमण पुष्टि भएकी ती महिलामा उच्च ज्वरो र निमोनिया देखिएको जानकारी उनले दिए ।

    उपचारै नपाएर संक्रमितले ज्यान गुमाइरहँदा र लक्षणसहितका संक्रमित थपिइरहँदा पनि प्रदेश सरकारले अस्पतालको क्षमता बिस्तारमा भने ध्यान दिएकै छैन । चैतमा तयार गरिएका संरचनामा नै अहिलेसम्म काम चलाइएको छ । सुरुमा एक सय बेडको भनेर प्रचार गरिएको बुटवलस्थित कोरोना अस्पतालमा चारवटा भेन्टिलेटसहित १६ वटा आइसियू शड्ढया र ३२ वटा आइसोलेसन शड्ढया छन् । ती शड्ढया सबै भरिएका छन् । संक्रमितको उपचारका लागि भैरहवामा ५ शड्ढया आइसियू् र अन्य १७ शड्ढया छन्। तर त्यहाँ जनशक्ति नहुँदा संक्रमितले उपचार पाउन नसकेको चिकित्सक बताउँछन् । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...