News Portal

  • चाडपर्वमा पनि पठनपाठन

    ८८० पटक

    काठमाडौं, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण घरमै बसेर अध्ययन (होम स्कुलिङ) गरेका विद्यार्थीले चाडपर्वका बेलामा समेत आफ्नो पठनपाठनलाई निरन्तरता दिने भएका छन् । सरकारले वैकल्पिक विधिलाई पठनपाठनको मूलधारका रूपमा स्वीकृति दिएको तथा निर्धारित समयमै पठनपाठन पूरा गरी शैक्षिक सत्रसमेत दुपयोग गर्नुपर्ने भएकाले चाडपर्वको बिदा छोट्याएर पढाइ अघि बढाउने योजनामा विद्यालयहरू जुटेका छन् ।

    ललितपुरको आदर्श सौल युवक माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्य यस पटक कात्तिक ६ देखि १६ गतेसम्म मात्रै विद्यार्थीलाई बिदा दिने र अरू बेला अनलाइन कक्षा नियमित सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस पटक चाडपर्वको मुखैमा पनि बालबालिकाको कक्षा नियमित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सरकारले आगामी चैतमा यस वर्षको शैक्षिक सत्र पूरा गर्ने भनेकाले पनि विद्यार्थीको पढाइमा केही कसिलो बनाउनुुपर्ने अवस्था रहेको जनाइएको छ । बिदा कम दिने नै आफूहरूको नीति रहेको उल्लेख गर्दै प्रअ आचार्यले निर्धारित समयमा कोर्स पूरा गर्न आफूहरूलाई हम्मेहम्मे पर्ने स्थिति देखिएको बताउनुभयो । कोर्स पूरा गर्न नसकिने अवस्था भएको खण्डमा सरकारको निर्देशनअनुसार पाठ्यक्रम छोट्याउनुपर्ने उहाँको भनाइ छ । विद्यार्थीको पठनपाठन अघि बढाएर आगामी मङ्सिरमा पहिलो सत्रको परीक्षा लिने कार्ययोजना विद्यालयले बनाएको छ ।

    कलङ्कीस्थित जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछाने सामुदायिक विद्यालयका अनलाइन कक्षामा हालै मात्र विद्यार्थी जोडिने क्रम बढ्दै गएकाले केही दिन कक्षा अझै नियमित हुने बताउनुहुन्छ । दशैँमा बढीमा १० दिन मात्रै बिदा दिएर चाडपर्वमा समेत विद्यार्थीलाई घरमै बसेर गरिने अध्ययनलाई निरन्तरता दिन आफूहरूले आग्रह गरेको उहाँको भनाइ छ । कोरोना भाइरसका कारण धेरै महिना सार्वजनिक विद्यालयको कक्षा कोठा सञ्चालन हुन नसकेको अवस्थामा अब थप गतिका साथ पढाउनुपर्ने र विद्यार्थी तथा अभिभावकलाई पनि सोहीअनुसार जानकारी गराइएको उहाँ बताउनुहुन्छ । विद्यार्थीलाई चाडपर्वका बेलामा पनि पढ्न र परीक्षाका लागि समेत तयार हुने गरी आफूहरूले प्रशिक्षित गरेको जानकारी प्रअ लामिछानेले दिनुभयो । तिहारअघि नै पहिलो त्रैमासिक परीक्षा लिने योजना रहेको जनाइएको छ ।

    छुटेका विद्यार्थी मुख्य चुनौती
    सामुदायिक विद्यालयमा अध्ययन गर्ने तर हालको अनलाइन कक्षामा अध्ययन गर्न छुटेका विद्यार्थीलाई कसरी समेट्ने भन्ने कुरा यति बेला सबैभन्दा मुख्य समस्याका रूपमा रहेको जनाइएको छ । प्रधानाध्यापकहरूले अनलाइन कक्षामा छुटेका विद्यार्थीलाई विद्यालयमै बोलाएर दशैँको अवधिको गृहकार्य दिएको र सहजीकरणको प्रयास गरिएको जनाएका छन् । प्रअहरूका अनुसार माथिल्लो कक्षामा अनलाइनमा विद्यार्थीको उपस्थिति राम्रै भए पनि तल्लो तहमा न्यूून उपस्थिति छ ।

    निजी विद्यालयले भने पठनपाठन प्रभावकारी रूपमा अघि बढाइएको र समयमै शैक्षिक सत्र सदुपयोग गर्न कुनै समस्या नरहेको जनाएका छन् ।

    कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन निर्देशन
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार अध्यापन कार्य अगाडि बढाउन निर्देशन दिएको छ । कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रमअनुसार मात्र विद्यार्थी भर्ना गराउन र विद्यार्थीको मूल्याङ्कन पनि सोहीअनुसार गर्न मन्त्रालयले सोमबार सबै विद्यालयलाई निर्देश गरेको हो ।

    कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार अध्यापन गराएको पाइएपछि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी सरकारको निर्देशनअनुसार नै नयाँ पाठ्यक्रम लागू गराउन निर्देशन दिएको हो । मन्त्रालयका तर्फबाट उपसचिव विदुरकिरण गिरीले जारी गर्नुभएको विज्ञप्तिमा कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार अध्यापन गरे नगरेको अनुगमन गर्न स्थानीय तहलाई समेत आग्रह गरिएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...