News Portal

  • प्रहरी हत्या प्रकरणः परिवारको खम्बा ढलेपछि…..

    ६३१ पटक

    धनगढी, ५ कार्तिक । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो ।

    विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन तर परिवारको त्यो खुसी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ ।

    गस्तीमा गएका बेला बीभत्स हत्या भएको छ, विकको । उहाँसँगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यही नियति भोग्नु प¥यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गर्नुभएको छ । मोहना नदी दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिबार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए ।

    कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत हुनुहुन्थ्यो । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ ।

    कर्तव्य पालनाको सिलसिलामा हत्या भएपछि दुवै जनाको परिवार अहिले विक्षिप्त बनेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९, सुकुम्बासी टोल ख गाउँमा विककी आमा र श्रीमती तीन दिनदेखि बेहोश हुनुहुन्छ । यो घटनाले परिवार मात्रै हैन सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

    ‘‘गस्तीमा जानुभएका हाम्रो दाइको मात्रै हत्या भएको छैन’’, विकका भाइ नरेशले भन्नुभयो, “घरमा रहेका अरू १२ जना सदस्यको पनि हत्या भएको छ । घरका लागि कमाइ गर्ने एक्लो व्यक्तिको मृत्युले हामीहरू सबै मरेतुल्य भएका छौँ ।”

    निष्ठापूर्वक प्रहरी सेवामा लागेकै कारण आफ्नो दाइले ज्यान गुमाउनु परेको उहाँले बताउनुभयो । “यदि मेरो दाइले घुस वा कमिसन लिन जानेको भए ड्युटीमा हत्या हुने थिएन”, नरेशले भन्नुभयो ।

    घरमा ५० वर्षीया आमासहित १२ जना सदस्य छन् । जसमध्येका छ र तीन वर्षीया दुई कलिला छोरी छन् । विक परिवारको आशाको त्यान्द्रो हुनुहुन्थ्यो । उहाँलाई आमाले धेरै दुःखकष्ट गरेर प्रवीणता प्रमाणपत्र तहसम्म पढाउनु भएको थियो । पढेर छोरो जागिर खाने आशा थियो, आमा कलावतीको ।

    “आमाको सपना साकार पार्न दाजुले धेरै मिहिनेत गरेर असईमा नाम निकाल्नु भएको थियो”, नरेशले भन्नुभयो– “उहाँको हत्याले हाम्रो एउटै आशाको दियो सधैँका लागि निभेको छ ।” भारतमा मजदुरी गर्न गएका बेला २० वर्ष अगाडि नै बुबाको मृत्यु भएपछि रोगी आमाले दाउरा बेचेर दाइ गोविन्दलाई पढाएको नरेशले बताउनुभयो । “आम्दानी केही थिएन । रोगी आमाले दाउरा बेचेर दाइको लागि पढाइ खर्च जुटाउनु हुन्थ्यो”, उहाँले भन्नुभयो– “त्यत्रो सङ्घर्षले मिलेको हाम्रो खुसी छिन्ने हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्दछ ।”

    उता अछाम घर भएका प्रहरी जवान साउँदको परिवार पनि शोकमा डुबेको छ । श्रीमान् बेपत्ता भएको खबर पाएलगत्तै सोमबार धनगढी पुग्नुभएकी मृतककी श्रीमती विक्षिप्त हुनुहुन्छ । मृतक साउँदका पनि दुई छोरी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउँद २०६७ सालबाट प्रहरी सेवामा हुनुहुन्थ्यो । विक अस्थायी प्रहरी पोस्टमा गत भदौमा मात्रै खट्नु भएको थियो भने साउँद त्यहाँ पहिल्यैदेखि कार्यरत हुनुहुन्थ्यो ।

    हत्याको आरोपमा सात जना पक्राउ
    उहाँहरूको हत्याको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का रोहित राना, राजेन्द्र राना, सुरेश राना, राजकुमार राना, रामनिवास राना, दलराम राना र वडा नम्बर ११ का रामगोपाल राना रहेका छन् । उनीहरू सबै स्थानीय तस्कर रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरूले योजनाबद्ध रूपमा धारिलो हतियार प्रहार गरेर प्रहरीकै हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । उहाँले धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीबाट करिब चार सय मिटर उत्तरमा घटना भएकोबताउनुभयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...