News Portal

  • मात्रा नमिलेको औषधि घातक

    ५९८ पटक

    काठमाडौं, ६ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने भनाइ विज्ञको छ ।

    दैनिक भान्छामा प्रयोग हुने औषधीय गुण भएका मसलाले स्वाद बढाउने मात्र होइन, औषधिको समेत काम गर्छन् । मसलाको बढी प्रयोगले विभिन्न रोग लाग्ने खतरातर्फ कमैको मात्र ध्यान पुगेको पाइन्छ ।
    पद्मकन्या क्याम्पसको गृह विज्ञान विभागका प्रमुख पोषणविद् डा। जया प्रधानले कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक भएको बताउनुभयो । उहाँले कोभिड–१९ लाग्ने डरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै बेसार, मेथी, अदुवा, लसुन, भिटामिन ‘डी’ लगायतका चिज बढी प्रयोग गरेको पाइएको जानकारी दिनुभयो । यसले गर्दा पनि कतिपय मानिस विभिन्न रोगको सिकार हुनुपरेको अनुभव डा। प्रधानले सुनाउनुभयो ।

    नेपालीमा एउटा उखान नै छ, ‘चिनी पनि बढी खाए तीतो हुन्छ’ भने झैँ क्षमता बढाउने नाममा राम्रो जानकारी र मात्रा नमिलाई औषधीय गुण भएका चिज खाँदा समस्या आउने गरेको भनाइ डा. प्रधानको छ ।

    भान्छामा प्रयोग हुने मरमसला औषधिजन्य हुन्छन्, त्यसमा कुनै द्विविधा नै छैन । धेरै खाने कुरा यस्ता छन् जुन एउटा रोगलाई हुन्छ भने अर्को रोगलाई हुँदैन । उदाहरणका लागि रक्तचाप कम भएको व्यक्तिले गुर्जो तथा बेसार पानीको बढी सेवन गरे खुट्टा बाउडिने तथा रिङ्गटा लाग्ने समस्या हुन सक्ने भनाइ डा। प्रधानको छ ।

    यता फिजिसियन जेनर तामाङले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने खानेकुरा खाएका धेरै बिरामी आउने गरेका छन् । मानिसले कोभिड–१९ सङ्क्रमित सँगको सम्पर्क भएपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधि प्रयोग गर्ने गरेको पाइएको छ भन्नुभयो ।

    तामाङले धेरै आयुर्वेदिक र यस्ता भिटामिन मात्रा मिलाएर खाँदा धेरै असर गर्दैन तर मात्रा नमिलाई आफ्नो खुसी अथवा हल्लाका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको पनि प्रस्ट पार्नुभयो ।

    आयुर्वेदिक चिकित्सक डा. अमितमान जोशीले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधि प्रयोग गरिरहेका हुन सक्छन्, त्यस्ता व्यक्तिलाई मात्रा नमिलेको औषधि खाँदा डरलाग्दो अवस्था सिर्जना हुने सम्भावना औँल्याउनुभयो ।
    रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले मह, च्यवनप्राश, अदुवा, करेला, हर्वल चिया, तुलसी, बेसार, कागती, गुर्जो खाने गरेको पाइन्छ । यस्ता औषधिको प्रयोग गर्दा विज्ञसँग सल्लाह गरेर मात्र मात्रा मिलाएर प्रयोग गर्न डा। जोशीको सुझाव छ ।

    डा. जोशीले तौल व्यवस्थापन, मधुमेहको सही नियन्त्रण, उचित औषधिको प्रयोग र रक्तचाप नियन्त्रण, मास्कको प्रयोग र हात धुने जस्ता उपाय अपनाउनु नै अहिलेका लागि राम्रा विकल्प हुन् भन्नुभयो ।

    जडीबुटी प्रयोग गर्दा गर्भावस्था, स्तनपान गर्ने शिशुको स्थिति पनि ख्याल गर्नुपर्दछ । विशेष परामर्श वा सल्लाह बिना यी जडीबुटी प्रयोग गर्दा शरीरमा असर गर्छ । त्यसैले परामर्श लिएर मात्र जडीबुटी एवं यसबाट निर्मित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

    अचेल मानिसका मुखमा ‘कोरोनाका लागि बेसार पानी’ झुन्डिएको छ । अवश्य पनि बेसार धेरै औषधीय गुण भएको जडीबुटी हो । बेसारमा पाइने रासायनिक तìव एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लामेसनमा धेरै फाइदा पुग्ने भनाइ डा. जोशीको छ ।
    उहाँले आयुर्वेद चिकित्सामा छालाको रोगमा बाह्य एवं आन्तरिक प्रयोग ज्यादै प्रभावकारी मानिएको छ । रक्तनलीभित्र जम्ने बोसो कोलेस्ट्रोल कम गर्न प्रभावकारी देखिएको छ । बेसार मिर्गौला एवं पित्तथैलीमा हुने पत्थरी हुनेले बढी प्रयोग गर्नुहुँदैन किनभने यसमा अत्यधिक क्याल्सियम हुन्छ भन्नुभयो ।
    दिल्लीस्थित मेदान्त अस्पतालका इन्डोक्राइनोलो एन्ड डाइबिटिजका सिनियर कन्सल्ट्यान्ट डा. एम सफी कुचेले ट्विट गर्दै बेसारको अत्यधिक प्रयोगबाट आफ्ना एक बिरामीमा आँखा पहेँलो हुने समस्या देखिएको अनुुसन्धान निष्कर्षमा उल्लेख गर्नुुभएको छ ।

    ट्विटमा उहाँले लेख्नुभएको छ– एक मधुमेहका बिरामीलाई हेरेँ, उहाँको बिलिरुबिन सामान्य थियो । आँखा सामान्य अवस्थाको भन्दा पहेँलो थियो तर कलेजोको कुनै समस्या थिएन । कारण ः कोभिड–१९ बाट बच्न पछिल्ला २–३ महिना यता एक दिनमा हरेक पटक दुई चम्चा बेसार पानीमा मिसाएर पिउने गरेका रहेछन् ।

    बेसारको मनपरी प्रयोग निकै घातक हुनसक्ने चिकित्सा क्षेत्रका विज्ञ बताउँछन् । बेसार पानी अनियन्त्रित रूपमा खाँदा कोरोना भाइरस मार्छ वा त्यसको सङ्क्रमण हुन दिँदैन भन्ने दाबीको वैज्ञानिक प्रमाण छैन ।

    बेसारले शरीरको प्रतिरक्षा प्रणाली सुदृढ गर्छ भन्ने कुरा विभिन्न अध्ययनले भने देखाएका छन् । तसर्थ हाम्रो भान्सामा तरकारी र दालमा प्रयोग हुने बेसारको मात्रा नै ठीक रहेको र यो भन्दा बढाउनु आवश्यक नरहेका विज्ञको सुझाव छ ।

    गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदका विज्ञ जितेन्द्रमान वैद्य बताउनुहुन्छ । उहाँ यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै ज्वरो, रुघाखोकी निको हुन्छ भन्नुहुन्छ ।
    सामान्यतया खान मिल्छ तर खाने तरिका भने उमेर र तौल अनुसार फरक फरक हुन्छ । वैद्यले आयुर्वेद चिकित्सकको सल्लाह अनुसार खानुपर्छ, आफ्नै तरिकाले मात्रा निर्धारण गरेर खानु घातक हुन सक्छ भन्नुभयो ।

    उहाँले गुर्जो खाने व्यक्तिमा रक्तचाप न्यून छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा बिरेनुन मिलाएर आधा मात्रा खानुपर्ने सुझाव दिनुहुन्छ । वैद्यका अनुसार गर्भवती, दूधपान गराइरहेका आमा, पाँच वर्ष मुनिका बालबालिका, पखाला लागेका बिरामीले गुर्जोको प्रयोग गर्नुहुँदैन । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...