कर्णाली । चामल नपाउँदा कुनै बेला कर्णालीका गाउँघरमा दशैँमा चामलको साटो चिनोको टीका बनाएर लगाइन्थ्यो ।
खासै धान खेती नहुने क्षेत्रका मानिसले चिनोकै भात खाने र चिनोकै टीका लगाउने चलन थियो ।
डोल्पा, जुम्ला, मुगु, कालीकोटजस्ता जिल्लाका हुनेखाने मानिसले बाँके, बर्दिया वा सुर्खेततिरबाट भारी बोकाएर चाडपर्वका लागि चामल ल्याउँथे ।
तर अहिले परिस्थिति फेरिएको छ । गाउँघरमै सजिलै चामल पाइन्छ ।
दुर्लभ चामल
कतैबाट ऐँचोपैँचो गरी ल्याएको चामललाई दुर्लभ वस्तुकै रूपमा दशैँमा टीका बनाएर लगाउने गरेको कालीकोटका हंसबहादुर मल्ल सम्झिन्छन् ।
दशैँको टीकासँगै आशीर्वाद दिँदा प्रयोग हुने श्लोकका विशेषता
महामारीको छायामा जात्रा र चाडपर्व, ुदेवता रिसाउने र अनिष्ट हुनेु त्रास
चामल यतिसम्म दुर्लभ थियो कि टीका लगाइदिँदा अक्षता नखाऊन् भनेर कतैकतै केटाकेटीको हात पनि बाँधिदिने गरेको बूढाबूढाहरू सुनाउँछज् ।
मल्ल आफूले पनि त्यो कुरा सुनेको बताउँछन् ।
तर अहिले यातायातको सुविधाले गर्दा कर्णालीका गाउँबस्तीमा यस्तो अवस्था छैन । अहिले गाउँहरूले पनि आफैँ धान खेती गर्न थालेका छन् ।
ूपहिलाको जस्तो छैन, जुम्लाको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहरा भन्छन्, अहिले गाउँगाउँमा सडक पुगेपछि चामल सजिलै पाइन्छ ।
झन्डै ३० वर्षअघि पातारासी गाविसको अध्यक्ष हुँदा अधिकांश जनता चामलको सिफारिस माग्ने आउने गरेकोमा अहिले त्यो अवस्था नरहेको बोहरा बताउँछन् ।
अन्नपात कम उत्पादन हुने र बर्सेनि भोकमारीले सताउने कर्णालीका गाउँमा सडक नपुगेको बेलासम्म भने सरकारले हवाईमार्गबाट ढुवानी गरेर चामलको आवश्यकता पूरा गर्दै आएको थियो ।
अहिले महत्त्व घट्यो
तर गाउँगाउँमा सडक पुगेपछि ३०–४० वर्षअघि चामलको जुन महत्त्व थियो, त्यो अहिले घटेको उनको धारणा छ ।
चामल नपाउँदा चिनोको टीका बनाएर धेरै वर्ष दशैँ मनाएकी डोल्पाकी शोभा शाही जहाज चल्न थालेपछि केही कम भएको चामलको समस्या सडक पुगेसँगै अन्त्य भएको बताउँछिन् ।
पहिले हुनेखानेले बाहिरबाट जाक्नामा चामल ल्याएर गाउँलेलाई विक्री गर्ने र ऐँचोपैँचौ दिने गर्थे, उनी भन्छिन्, अहिले पैसा भए जुन भन्यो त्यही चामल घरमै पुग्छ ।
दुर्गम क्षेत्रमा सेवा गर्दै रमाएका डाक्टर
कर्णालीका गाउँमा स्वर्ग पुगिनेु भन्दै गरिने अनौठो अन्त्येष्टि चलन
सडकसँगै कर्णालीका अधिकांश गाउँमा खाद्यान्न पसल र डिपो पुगेकोले चामल पाउन खासै समस्या नभएको सर्वसाधारण बताउँछन् ।
चामलको अभावमा बाउबाजेको पालामा जस्तो हात बाँधेर दशैँको टीका लगाउनुपर्ने बाध्यताबाट मुक्ति पाइएको उनीहरूको भनाइ छ ।
त्यतिबेला बारीमै उत्पादन हुने चिनो–कागुनोबाट चामलको आवश्यकता पूरा गर्दै आएका मानिसहरू यातायात सुविधाले घरआगँनमै चामल आउन थालेपछि कसैको दैलो चहार्नु नपरेको सुनाउँछन् ।
दशैँको लागि जोहो
कर्णालीका कतिपय गाउँलेले दशैँका लागि भनेर महिनौँ पहिलेदेखि नै चामलको जोहो गरी राख्ने चलन थियो ।
तर अहिले जतिबेला पनि चामल पाइने थालेपछि त्यस्तो चलन हटेको जुफाल डोल्पाका कुमार शाही बताउँछन् ।
सडक नपुग्दासम्म बर्सेनि खाद्यान्न सङ्कटबारे चर्चा भइरहने कर्णालीका गाउँबस्तीबाट अहिले त्यस्तो खबर हतपत आउँदैन ।
कामको बोझले यसरी थिचिएका छन् कर्णालीका महिला
जटिल समस्या भएका गर्भवती महिलाको उद्धार गर्न हेलिकप्टर प्रभावकारी
आर्थिक, सामाजिक र राजनीतिकसँगै पछिल्लो समय सर्वसाधारण मानिसको जीवनशैलीमा पनि सुधार आएको देख्न सकिन्छ ।
कामको सिलसिलामा भारत वा अन्य देश जाने, गाउँमै पनि केही इलम गरेर बस्ने चलन बढ्न थालेपछि कर्णालीवासीको क्रयशक्ति पनि बढ्दै गएको पाइन्छ ।
दुर्गम गाउँबस्तीहरू सडक सञ्जालमा जोडिएपछि भातको लागि पहिलाको जस्तो चाडपर्व नै पर्खिनुपर्ने अवस्था हटेको उनीहरू बताउँछन् ।
चामल ढुवानीको लागि भरिया, घोडा, खच्चडको भर पर्नुपर्ने र थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
घोडा, खच्चड र मान्छेले बोकेर ल्याएकोभन्दा यातायातका साधनबाट ढुवानी गरेको चामल सस्तो पर्छ । बीबीसी