News Portal

  • उच्च शिक्षामा घरबाटै परीक्षा

    ६४५ पटक

    काठमाडौं, १४ कार्तिक । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम) को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन् । पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन् ।

    नौलो अनुभव ग¥यौँ
    पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी हुनुभयो । सधँै भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगाल्नुभएका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उहाँले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गर्नुभयो ।

    परीक्षा नौलो र रमाइलो अनुभूति भए पनि समय व्यवस्थापनका हिसाबले भने चुनौतीपूर्ण रहेको अनुभव उहाँ सुनाउनुहुन्छ । घरमा बसेर परीक्षा दिँदा समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ । “परीक्षा केन्द्रमा नभई घरमै परीक्षा दिए पनि यताउता सल्लाह गर्ने तथा किताब कापी हेर्न लागेको अवस्थामा भने पूरै प्रश्न भ्याउने सम्भावना हुँदैन”, उहाँ भन्नुहुन्छ । घरबाटै परीक्षा दिँदा प्रविधिको हिसाबले भने सधैँ समस्या भइरहने अनुभव छ परीक्षार्थीको । खासगरी उत्तरपुस्तिका लेखन सकेपछि सम्बद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पुगे नपुगेको विषयले भने सधैँ तनाव बनाउने गरेको अनुभव विद्यार्थीको छ ।

    अनलाइन माध्यमबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी हुनुभएका विपुल पोखरेल घरमा बसेर परीक्षा दिँदा परीक्षाको स्तरीयता कायम नरहला र हेर्ने सार्नेमा जाला कि भन्ने आफ्नो पूर्वानुमानभन्दा फरक तरिकाको परीक्षा भएको बताउनुभयो । खासगरी मौलिक खालको प्रश्नपत्र सोध्ने शैलीका कारण पनि आफूले सोचेभन्दा राम्रो खालको परीक्षा भएको उहाँको भनाइ छ । परीक्षा हलमा तीन घण्टा लेख्नेभन्दा फरक शैलीमा घरबाटै परीक्षा दिए पनि यसले सही मूल्याङ्कन गर्न सक्छ भन्ने आफूलाई लागेको पोखरेलले बताउनुहुुन्छ । नयाँ अनुभव भएकाले परीक्षाको त्रास भने कायमै रहेको उहाँको भनाइ छ ।

    यसरी पठाइन्छ उत्तरपुस्तिका
    भर्चुअल माध्यमबाट प्रश्नपत्र पाइसकेपछि विद्यार्थीले तीन घण्टामा लेखेर सक्नेबित्तिकै सम्बद्ध विश्वविद्यालयको कार्यालयमा पठाउनुपर्छ । त्यसअघि तीन घण्टामा लेखेको उत्तरपुस्तिकाका पानाका तस्बिर खिचेर या स्क्यानिङ गरेर पठाइन्छ । विद्यार्थीले उत्तरपुस्तिका पठाएको एक मिनेटमा विद्यार्थीलाई उत्तरपुस्तिका प्राप्त भएको प्रतिक्रिया प्राप्त हुन्छ ।

    पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादव कोइरालाले अहिलेको परिस्थितिअनुसार अनलाइन माध्यमबाट विद्यार्थीसित लिइएको परीक्षा सकारात्मक रहेको बताउनुभयो । परीक्षा प्रारम्भ भएको दिन विश्वविद्यालयका तर्फबाट सानातिना कमजोरी भएको, दुई तीनवटा कलेजले उत्तरपुस्तिका पठाउन केही समस्या देखिएको भए पनि विस्तारै यसको समाधान भएको उहाँ बताउनुहुन्छ । सङ्क्रमण कायमै रहेको अवस्थामा आगामी दिनमा यस खालको अनलाइन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    परीक्षणमा अन्योल
    अनलाइन माध्यमबाट लिइएको परीक्षाको परीक्षण कुन माध्यमबाट गर्ने भन्नेचाहिँ अहिलेसम्म निधो हुन सकेको छैन । उत्तरपुस्तिका प्रिन्ट गरेर परीक्षण गराउने या प्रविधिबाटै परीक्षण गराउने भन्नेमा आफूहरू निचोडमा पुग्न नसकेको उपकुलपति कोइरालाले बताउनुभयो । प्रविधिको माध्यमबाट विद्यार्थीले परीक्षाको अवधिमा के काम गरिरहेका छन् भनेर हेर्न सक्ने अवस्था नरहेको र परीक्षाको समय सकिएपछि भने तुरुन्त उत्तरपुस्तिका पठाउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयले भने उत्तरपुस्तिका प्रिन्ट गरेर चेक गर्ने र विद्यार्थीको उत्तरपुस्तिका पनि सुरक्षित रूपमा सङ्कलन गर्ने गरिएको बताउनुभयो ।

    लुम्बिनीले सञ्चालन गरेको अनलाइन परीक्षाबाट सकारात्मक सन्देश गएको र आगामी दिनमा पनि यस खालको परीक्षा निरन्तर सञ्चालन हुने जनाएको छ । सुरुमा सबै हच्किए पनि सञ्चालित परीक्षाबाट सकारात्मक सन्देश गएको विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न वज्राचार्यले जानकारी दिनुभयो । अब केही दिनमै स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिने गरी आफूहरूले सुसूचित गरिसकेको जानकारी उपकुलपति वज्राचार्यले दिनुभयो । स्नातकोत्तर तहका विद्यार्थीको परीक्षापछि अब स्नातक तहका विद्यार्थीले पनि अनलाइन परीक्षाकै माग गरेको जनाइएको छ । विद्यार्थीलाई भर्चुअल माध्यमबाट लिइने परीक्षा क्यामरामा प्रत्यक्ष रूपमा देखिने र विद्यार्थीको अनुगमन गर्नसमेत मिल्ने भएकाले परीक्षाको विश्वसनीयता कायम गर्न सकिएको उपकुलपति वज्राचार्यले बताउनुभयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...