News Portal

  • जोगिएर सहरको सरसफाइ

    ८०२ पटक

    तस्विर सौजन्यः गोरखापत्र दैनिक

    काठमाडौं, १६ कार्तिक । राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन् ।

    “फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ,” उनले भने । बन्दाबन्दीपछि उनी पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउँछन् ।

    यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारी व्यापक रूपमा देशभर फैलिएको छ । उनीजस्तै झन्डै तीन हजार तीन सय सरसफाइकर्मी यसैगरी जोखिम मोलेर काठमाडौँ उपत्यकामा सङ्क्रमित र आम मानिसले उब्जाएका फोहोर बटुलिरहेका छन् ।

    भाइरसबाट बच्न सबै निकायमा कतिपयले आलोपालो र कतिपयले घरबाटै काम गर्ने चलन चलाएको छ । तर अत्यावश्यक सेवाभित्र पर्ने सरसफाइ र फोहोर उठाउनेको काम निरन्तर जारी छ ।

    तीन महिनाको बन्दाबन्दी होस् वा अहिलेको उच्च महामारीमा समेत उच्च जोखिम मोलेर सरसफाइ कर्मचारी ‘फ्रन्ट लाइन’मा सक्रिय छन् । आफू बच्दै समाज र नगरवासीलाई फोहोरको सङ्क्रमणबाट हुने विभिन्न रोगको जोखिमबाट सरसफाइकर्मीले बचाइरहेका छन् । सरसफाइकर्मी नहुँदा हुन् त महामारीको यो बखतमा सहर फोहोर र अन्य महामारीको घर बनिसकेको हुने थियो ।

    त्यसै पनि कोरोना भाइरसको महामारी फैलिरहेको बेला नगर, टोल सफा राख्नुपर्ने हुन्छ । नत्र कोरोनासँगै अनेक रोगको अर्को महामारीले मानिसको थप ज्यान लिन सक्ने उनी औँल्याउँछन् । यस्तोमा आफू बचेर अरूलाई बचाउँदै काम गर्नुपर्ने दोहोरो जिम्मेवारी सरसफाइ कर्मचारीमा आइपरेको पुजारी बताउँछन् । उनी बीएन्डपी कम्पनीका तर्फबाट फोहोर सङ्कलन गर्छन्।

    काठमाडौँ, ललितपुर महानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकासँगको समन्वयमा सार्वजनिक– निजी साझेदारीको अवधारणा अनुसार फोहोर सङ्कलन गरिँदै आएको उनी बताउँछन् ।

    नेपालमा महामारीको सुरु भएसँगै पीसीआर परीक्षण गरे पनि सङ्क्रमणले उनलाई भेटेको छैन । उनका अनुसार घरघरबाट फोहोर उठाउने क्रममै सतर्क रहेर उठाइन्छ । पहिले पहिले घरभित्रै पुगेर ल्याउने गरिन्थ्यो, अचेल सिटी फुकेर बाहिर ल्याउन भनिन्छ । ल्याउने वित्तिकै फोहोर उठाइँदैन, केहीबेर घाममा राखेपछि बल्ल गाडीमा राखिन्छ ।

    फोहोर फालेर फर्केपछि लगाएको पीपीई फुकालेर छुट्टै राखिन्छ । अनि साबुनपानीले सफा गरेर मात्र भित्र परिवारको सम्पर्कमा जाने चलन सरसफाइकर्मीले बसालेका छन् । सरसफाइकर्मीलाई प्रोत्साहन गर्न फोहोर व्यवस्थापन कम्पनीका मालिकहरू अचेल साथै हिँड्छन्, सँगै काम गर्छन् । आफ्नै कम्पनीमा सँगै खाना खान्छन् । उहाँको कम्पनीका १६ जना दिनहुँ गाडीमा फोहोर सङ्कलनका लागि हिँड्छन् । अन्य करिब १५ जना भने सडकमा बिहान कुचो लाउने र सरसफाइ गर्न सक्रिय रहन्छन् । उनको टोलीले दिनको तीन गाडी फोहोर उठाउँछ ।

    काठमाडौँ उपत्यकाभरि सरसफाइका लागि साना ठूला गरी ९२ वटा सरसफाइ कम्पनी छन् । उपत्यकाको सरसरफाइकर्मी र कम्पनीको छाता सङ्गठन फोहोरमैला व्यवस्थापन सङ्घका अध्यक्ष ध्रुव आचार्य जोखिम मोलेरै भए पनि सरसफाइको काम भइरहेको बताउँछन् ।

    समय कठिन छ तर व्यक्तिगत सुरक्षामा ध्यान दिएर गर्नुपर्ने जरुरी उनी औँल्याउँछन् । कोरोना भाइरस सङ्क्रमण सुरु भएकै बेलादेखि सबै संस्था र सरसफाइकर्मीलाई जोखिमबाट जोगिने तालिम दिएको उनले बताए ।

    “सबै मानिस घरभित्र बन्दाबन्दीमा बसेका बेला परिचालन गर्न कठिन भएको थियो तर परामर्श दिएर सरसफाइमा सक्रिय पारेका हौँ”, उनले सुनाए । त्यसको परिणाम सहर, टोल र समुदायको सफा मुहारले देखाइरहेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य

    नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ ।...

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...