News Portal

  • स्थानीय साधनले फेरियो गाउँको मुहार

    ५६१ पटक

    काठमाडौं, २१ कार्तिक । आफू र परिवारको सुखका लागि उहिले मुुग्लान पस्ने चलन थियो । अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा यहाँ एउटा गाउँले देखाएको छ ।

    गाउँकै पाखापखेरामा खेर गइरहेको स्थानीय जडीबुटी त्यसको कारण बनेको छ । त्यही स्थानीय स्रोतको सदुपयोगले नै सिङ्गो गाउँकै मुहारमा परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण नेक्पाका स्थानीयवासीले दिएका छन् । खेर गइरहेको जडीबुटी सङ्कलन गरेर यहाँका स्थानीयवासीले घरको छाना नै बदल्नुका साथै पठनपाठनको गर्जो समेत टार्न सफल भएका छन् । यहाँको जङ्गलमा पाइने जटामसी, कुट्खी, सेतकचिनी जस्ता जडीबुटीले स्थानीयवासीको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याइदिएको छ ।

    जडीबुटीको सङ्कलनबाट हुम्लाकै दुर्गम नेक्पा बस्तीमा बर्सेनि खरका छाना हटाउने क्रम जारी रहेको स्थानीय धनबहादुर तामाङले जानकारी दिनुभयो । स्थानीयवासीले जङ्गलमा पाइने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जबाट आउने व्यापारीलाई बिक्री गर्छन् । उच्च हिमाली भेगमा पाइने यी मूल्यवान् जडीबुटी विदेश निर्यात हुने गर्छ । जसले गर्दा माग पनि निकै हुने गर्छ ।

    तामाङले गाउँमा अन्न उत्पादन राम्रै हुने भए पनि कमाइको मुख्य स्रोेत जडीबुटी भएपछि घरमा जस्तापाताका छाना लगाउन थालेको बताउनुभयो । याममा घरका काम गर्न सक्ने सबैजना जडीबुटी सङ्कलन गर्न जाने भएकाले त्यसबाट दह्रो कमाइ गर्न सकिने उनी बताउँछन् । भदौ अन्तिमदेखि हिउँदभर स्थानीय बासिन्दा जडीबुटी सङ्कलनमा लाग्छन् । जसबाट एक परिवारले वर्षमा सातदेखि आठ लाख रुपियाँ आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

    अर्का स्थानीय धनबहादुर तामाङ पनि जडीबुटीकै कमाइबाट घरमा खरको छाना फेरेर पक्की बनाउन सफल भएको बताउँछन् । उनको परिवारले जडीबुटीबाट मात्र वार्षिक १२ देखि १ं५ लाख रुपियाँ कमाइ गर्ने गर्छ । यसबाट घरको छाना फेर्न सफल भएको उनी सुनाउँछन् ।

    नेक्पा गाउँका जो कोही स्थानीयवासीलाई कमाइको कुरा उठ्नेबित्तिकै जवाफ आइहाल्छ जडीबुटी भनेर । अहिलेसम्म मोबाइल सेवाको समेत पहुँच पुग्न नसकेको नेक्पा गाउँमा आम्दानीमा भएको वृद्धिसँंगै आधुनिकता भित्रिन थालेको छ । घरको आम्दानी राम्रो हुने भएपछि पढेलेखेका युवा पठनपाठनकै लागि सदरमुकाम सिमकोट र जिल्ला बाहिर जान थालेका छन् । सरकारी जागिरमा बिरलै पहुँच भएका नेक्पावासीका लागि गतिलो आम्दानीको स्रोेत जडीबुटी भएको छ ।

    वडाध्यक्ष भैरव तामाङ नेक्पामा परिवर्तन ल्याउन जडीबुटीको कमाइको महत्वपूर्ण योगदान रहेको बताउँछन् । कुल ६६ घरधुरी रहेको नेक्पा गाउँमा ४६ घरधुरी दुई वर्षमा खरका छाना हटाएर जस्तापाताले छाउन सफल भएको उनले बताए । अब बाँकी रहेका २० घरधुरी पनि खरका छाना हटाउने अन्तिम तयारीमा रहेको बताउँदै वडाध्यक्ष तामाङले यो हिउँदसम्म धेरै घरका छानाको मुहार फेरिने बताए । शिक्षा, स्वास्थ्यका केही सुविधा गाउँमा पुगेको भए पनि अन्य धेरै कुरा उक्त गाउँमा पुग्न नसकेकाले तीनै तहको सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।

    वल्ड लिङ्कको एक लाइन इन्टरनेटबाट सञ्चार सम्पर्क गर्ने माध्यम रहेको नेक्पामा मोबाइल सेवा सञ्चालनमा छैन । नेपाल टेलिकमको मोबाइल टावर बनाउने भनेको तीन वर्ष भए पनि हालसम्म सो टावर निर्माण हुन सकेको छैन । काम विशेषबाहेक अन्य मानिसको समेत नेक्पा गाउँमा आवतजावत हुने गरेको छैन ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा राजन राउतले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...