News Portal

  • आएन सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी, तिहारमा अभाव हुने 

    ८८९ पटक

    काठमाडौं, २१ कार्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ ।

    १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो ।

    त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन ।

    खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए । उनले पहिलो पटक टेन्डर गर्दा १० हजार टन चिनी आयात गर्न कुनै पनि कम्पनी इच्छुक नहुँदा सहुलियत चिनी ल्याउन नसकेको बताए । उनले चिनी आयातका लागि फेरि दोस्रो पटक टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताए ।

    महाप्रबन्धक खनालले अहिले टेन्डर आह्वान गरेर परिहाले पनि खाद्य कम्पनीको सहुलियत चिनी आउन करिब तीन महिना लाग्ने बताए । उनले सरकारी प्रक्रिया पूरा गर्दा सो समय लाग्ने जिकिर गरे ।

    ‘सार्वजनिक खरिद ऐनअनुसार सूचना प्रकाशन गरियो । तर, एउटै कम्पनीले पनि आवेदन दिएनन्,’ महाप्रबन्धक खनालले भने, ‘चिनी आयातको टेन्डर मिति २९ असोजसम्म थियो । तर, कुनै पनि कम्पनीको टेन्डर परेन । त्यसकारण फेरि टेन्डर गर्नुपर्ने भएको छ ।’

    ऐनअनुसार ४५ दिनको सूचना प्रकाशन गरेपछि मूल्यांकन, एलसीलगायत प्रक्रिया गर्दा यो तिहार छठसम्म आउने कुनै सम्भावना छैन । उनले भने, ‘सबै प्रक्रिया पु(याउँदा करिब तीन महिना लाग्छ । अझै पनि टेन्डर पर्छ भन्ने छैन ।’

    साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाका अनुसार साल्टले २० हजार टन चिनी सहुलियतमध्ये ५ हजार टन ल्याइसकेको छ । तिहार र छठसम्ममा थप ५ हजार टन चिनी ल्याइसक्ने उनले बताए ।

    उनले सरकारले सहुलियतमा आयात गर्न आफूहरूलाई दिएको अनुमतिअनुसार निरन्तर आइरहेको जानकारी दिए । साल्टसँग अहिले मौज्दात चिनी भएपछि निजी व्यापारीलाई प्रतिकिलो ७७ रुपैयाँ २० पैसामा बिक्री गरिरहेको उनले जानकारी दिए । निजी व्यापारीले भने थोकमा नै प्रतिकिलो ८१ देखि ८३ रुपैयाँसम्म लिइरहेका छन् । तिहार र छठपर्व नजिकिँदै जाँदा व्यापारीले थोकमै चिनीको मूल्य बढाएका छन् ।

    हाल चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल दर छ । ५० प्रतिशत छुट पाउँदा खाद्य र साल्टले २० प्रतिशत मात्रै भन्सार तिरे पुग्छ । तर पनि खाद्य कम्पनीले सस्तो मूल्यमा चिनी आयात गर्न सकेको छैन ।

    सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ । तर, बजार हस्तक्षेप गर्ने दायित्व पाएका यी दुई सरकारी स्वामित्वका कम्पनीसँग पर्याप्त चिनी नहुँदा निजी व्यापारीले त्यसको फाइदा उठाउँदै प्रतिकिलो १० देखि १५ रुपैयाँ बढी मूल्य लिने गरेका छन् ।

    सहुलियत दरमा आयात गरेको चिनी साल्ट टे«डिङले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गर्दै आएको छ । चाडबाडलाई लक्ष्य गरी थप ३ रुपैयाँ छुट दिएको साल्टको चिनी प्रतिकिलो ७० रुपैयाँ पर्छ । तर, बजारमा व्यापारीले प्रतिकिलो ८५ देखि ९५ रुपैयाँसम्ममा बेचिरहेका छन् ।

    यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...