News Portal

  • भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा, ११ को पनि विद्यालयबाटै

    ८९१ पटक

    काठमाडौं, ५ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।

    विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

    बोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

    कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि निर्वाध रूपमा परीक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास केन्द्राध्यक्षहरूले राखेको जनाइएको छ । भौतिक रूपले टाढाको दूरीका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

    यसैबीच बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश गरेको छ । परीक्षाको दूरी कायम गर्न केही विद्यालयले समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए ।

    कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी छन् । ती विद्यालयलाई परीक्षा सञ्चालन गर्न समस्या भएको अवस्थामा नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गर्न सक्ने अधिकार दिइएको हो । धेरै विद्यार्थी अध्यापन गराउन सक्ने विद्यालयमा भौतिक संरचनासमेत ठूलो हुने र हाल अन्य कक्षाका विद्यार्थीको कक्षा नचलेकाले समस्या नहुने जनाइएको छ ।

    बोर्डले परीक्षा सञ्चालनको अवधिमा कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीलाई परीक्षामा सहभागी नहुन र नआत्तिन अनुरोध गर्दै ती विद्यार्थीको छुट्टै परीक्षा लिइने जनाएको छ । सङ्क्रमित अवस्थाका विद्यार्थीलाई हाल परीक्षामा सहभागी नगराउने र निको भएपछि १५ दिनपछि परीक्षा लिइने जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए ।

    सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदा जोखिम झनै बढ्ने भएकाले उनीहरूका लागि अलग्गै परीक्षा लिने व्यवस्था गरिएको हो । सङ्क्रमित विद्यार्थीले निको भएपछि आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था बोर्डले मिलाएको छ । सबै विद्यार्थीको अन्तिम नतिजा प्रकाशन एकैपटक गरिने भएकाले सङ्क्रमित विद्यार्थीले १५ दिनपछि परीक्षा दिएको अवस्थामा पनि केही फरक नपर्ने जनाइएको छ ।

    बोर्डले कक्षा १२ को परीक्षालाई यस पटक भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर दिइएको छ । विद्यार्थीले आफूले कक्षा १२ पढेको विद्यालयबाटै अन्तिम परीक्षा दिन पाउने छन् । परीक्षा केन्द्र परिवर्तन गर्न चाहेका विद्यार्थी मात्र अर्को विद्यालयमा परीक्षा लिन पुग्नेछन् ।

    केही हजार विद्यार्थीले परीक्षा केन्द्र परिवर्तनका लागि अनुरोध गरेको जानकारी बोर्डले दिएको छ । एउटा परीक्षा केन्द्रमा थोरै विद्यार्थी मात्र नयाँ हुन सक्ने जनाइएको छ । यसपटक विद्यार्थी अध्ययन गरेको विद्यालयलाई नै परीक्षा केन्द्र मानिएका कारण विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघट हुनु नपर्ने भएकाले परीक्षालाई स्वास्थ्यको हिसाबले समेत सुरक्षित बनाउन सकिने जनाइएको छ ।

    कक्षा ११ को परीक्षा विद्यालयबाटै
    कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डले दिएको छ । विद्यालयले आफ्नो आन्तरिक व्यवस्थापन अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न पाउने छन् । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतको सबै काम गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै दिइएको छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...