News Portal

  • न्युनतम सेवा मापदण्डमा सर्वोत्कृष्ट अंक हासिल गर्दै भक्तपुर अस्पतालले राख्याे नयाँ रेकर्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ पुस
    २६३७ पटक
    भक्तपुर, १७ पुस

    भक्तपुर अस्पतालले एक वर्षमा नै आफूलाई देशकै उत्कृष्ट अस्पतालको सूचीमा उभ्याएको छ । स्वास्थ्य मन्त्रालयको अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्डमा डबल छलाङ्ग लगाउदै भक्तपुर अस्पताल उक्त मापदण्ड कार्यान्वयनमा देशकै उत्कृष्ट अस्पतालकाे अग्रपङ्तिमा उभ्भिन सफल भएको हो ।

    अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्नेक्रममा आएको एक सरकारी मूल्यांकन टोलीले न्युनतम सेवा मापदण्ड मूल्यांकनकाे नर्म्स अनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको थाहा भएको छ । उक्त मूल्यांकन टोलीले शुक्रवार भक्तपुर अस्पतालले न्युनतम सेवा मापदण्डमा डबल प्रगती गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएकाे पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्यांकनमा भक्तपुर अस्पतालले ८२ अंक प्राप्त गरी सर्वाेत्कृष्ट नतिजा निकालेको स्वास्थ्य निर्देशनालयका वरिष्ट स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले पुष्टि गरेका हुन् ।

    शुक्रवार भक्तपुर अस्पतालमा आयोजित कार्यक्रमका बीच डा सापकोटाले भक्तपुर अस्पताल द्वारा संचालित विभिन्न सेवावापत मूल्यांकन टोलीले दिएको नम्बर पढेर सुनाएका थिए । मूल्यांकनकाे नतिजा अनुसार  भक्तपुर अस्पतालले कूल ८२ अंक प्राप्त गरी आफूलाई एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रुपमा प्रमाणित गरेकाे छ ।

    गत वर्ष यस्तै मूल्यांकनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अंकमा चित्त बुझाउनु परेको थियो । यस वर्ष भने अघिल्लो वर्षको तुलनामा यसले डबल भन्दा बढी अंक प्राप्त गरेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दंग देखिएका छन् ।

    शुक्रवार अस्पतालमा आयोजित अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्ड कार्यान्वन कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गत गुणस्तर मापन तथा कार्यान्वयन महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा रोशन न्यौपाने त्यसैगरी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी र नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुइ लगायतले भक्तपुर अस्पतालको अवस्थाबारे सन्तोष व्यक्त गरेका थिए । यहीँ गति कायम रहे आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयकारी सहकार्यमा भक्तपुर अस्पताल भक्तपुरबासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकावासी जनताकै रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको उनीहरुले बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकीले केहि वर्ष अघि सम्म बिरामी उपचार गर्न नसकी आफै बिरामी रहेको अस्पताल अहिले भने विश्वास गर्न लायक भएको भन्दै प्रशंसा गरेका थिए । रिफर सेन्टरको रुपमा बदनामी कमाएको अस्पतालको दुरावस्थाबारे धेरै पटक कलम चलाएको स्मरण गर्दै वर्तमान अवस्थाबारे कलम चलाउन पाउनु पत्रकार वर्गका लागि समेत खुशीको कुरा भएको अध्यक्ष बुढाथोकीले बताए ।

    कार्यक्रम स्वास्थ्य मन्त्रालयका प्रतिनिधि पान बहादुर क्षेत्री, धादिङ्ग अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झा, निरीक्षक रेवती थापा, शुशिल बस्नेत, कार्यक्रम संयोजक रिता पोख्रेल लगायतको समेत आतिथ्यतामा सम्पन्न भएको थियो । भक्तपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त अवसरमा भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले भक्तपुर अस्पतालको सेवा प्रवाहबारे कार्यपत्र प्रस्तुत गर्दै पहिले र अहिलेको चित्रमार्फत अवस्था अवगत गराएकी थिइन् । गरे सम्भव हुने आफ्नाे अनुभव साट्दै उनले सम्पूर्ण स्टाफ, संचालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिवद्धता प्रकट गरिन् ।

    अस्पतालका शाखा अधिकृत राजेन्द्र नेपालले संचालन गरेको कार्यक्रमको अध्यक्षता भने भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्व:ले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ज्याख्वले अस्पातालका अध्यक्ष मिलन सुवाल र मेसु डा सुमित्रा गौतमको ट्युनिङ मिलेको र व्यवस्थापकीय र प्रशासनिक योग्यताका कारण थोरै समयमा अस्पतालले धेरै प्रगती गरेको बताए । बिगतमा भक्तपुर अस्पतालको दुरावस्थादेखि वाक्क भएर नगरपालिकाले छुट्टै ख्वप: अस्पतालको अवधारणा ल्याएको खुलासा गर्दै उनले अहिलेको भक्तपुर अस्पतालको अवस्था पहिल्यै भएको भए ख्वप अस्पताल नै नचाहिने उल्लेख गरे । भक्तपुर अस्पतालको गत वर्षको अंकले निरास बनेपनि यस वर्षको प्रगतीले सबैलाई हर्षित बनाएको भन्दै उनले यसलाई कायम राख्नु र थप प्रगती गर्नु अस्पतालको लागि चुनौती थपिएको बताए ।

    भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतम र अस्पताल संचालन तथा विकाश समितिको नेतृत्व गरिरहेका मिलन सुवालको तालमेल मिलेसंगै भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै ठूलो विकाश गरेको हो ।  अस्पताल संचालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसीयु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै २ दर्जन बेडसहित अस्पतालले एचडीयु सेवा शुरु गरेको छ । त्यतिमात्र होइन, भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । यो सर्जरी शुरु भएसंगै काठमाडौ गएर सर्जरी गर्नुपर्ने दिनको अन्त्य भएको भन्दै बिरामीहरु खुशी भएका छन् । यस अघि रिफर सेन्टरको रुपमा बदनामी कमाएको अस्पताल अहिले स्थानीय विरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ ।

    यसअघि भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको थियाे । गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...