News Portal

  • जलस्रोतको बहुआयामिक उपयोगको नीति बनाउन विज्ञहरुको जोड

    इभक्तपुर संवाददाता
    १०८७ पटक

    काठमाडौं । राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो ।

    जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागितामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको जलस्रोतमाथि धेरै विदेशी राष्ट्रहरुले आँखा गाडेको बताए । नेपाल आफैले आफ्नो जल सम्पदाको उपयोग गर्न नसक्नु र राजनीतिक स्थिरता नभएका कारण यो स्रोतमाथि अरुहरुको नियन्त्रणमा जानसक्ने खतरा पनि विज्ञहरुले औल्याए ।

    कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चिनका लागि नेपालका पूर्व राजदुत लीलामणि पौडेलले नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारणमध्ये एक जलस्रोत रहेको बताए । विभिन्न बाहाना र कारण देखाएर नेपालमा पटक पटक विदेशी स्वार्थहरु घुस्ने गरेको भन्दै उनले त्यसका विरुद्धमा अडान लिन खोज्दा कतिपय अवस्थामा व्यक्तिगत सुरक्षाको समेत खतरा उत्पन्न हुने आफूले महशुस गरेको उनले बताए । आफ्नो पालामा यस्तै स्वार्थहरु छिरेर एउटा ठूलो प्रोजेक्ट डिजाइन गर्न खोजिएको तर आफूले रोकेको पनि उनले स्मरण गरे । उर्जा नहुनुभन्दा महंगो उर्जा हुनु सही हो भन्ने तर्क गर्दै डिजेल प्लान्टको अवधारणा आएको र देशका निम्ति त्यो निकै खतरानाक रहेको उनले बताए । त्यतिबेला ल्याइएको डिजेल प्लान्ट प्रति युनिट २९ रुपैयाँले नेपालीलाई नै बिक्री गर्ने भनिएको तर सबै लागत हेर्दा प्रतियुनिट ४५ रुपैयाँभन्दा बढी पर्ने स्पष्ट देखेपछि आफूले उक्त प्रोजेक्ट डिजाइन गर्नेहरुलाई यस्तो देशघाती काम नगर्न चेतावनी दिएको स्मरण गरे ।

    कार्यक्रममा बोल्दै पूर्व जलस्रोत मन्त्री तथा जलस्रोत विज्ञ दिपक ज्ञवालीले नेपालको पानीको उपयोग सही रुपमा हुन नसकेको बताए । कुनै आधिकारिता विना जलस्रोतमा नेपाललाई विश्वकै दोस्रो देश भन्ने गरिए पनि त्यो सही नभएको बताए । नेपालमा ४ महिना बाढीको धनी र ८ महिना खडेरीको धनी भएको बताए । उनले यो कुरा एउटा खुट्टो अँगेनामा झोस्ने र एउट खुट्टो रेफ्रीजेरेटरमा राख्ने अनि औषतमा भन्दा मलाई आरामै छ भनेको जस्तो भएको बताए । त्यही पानी पनि व्यवस्थित रुपमा उपयोग गर्न नसकिएको उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै एमसीसी र तिब्बती शरणार्थीको सहयोगका लागि ल्याइएको ऐन नेपाललाई अर्को देशका विरुद्ध प्रयोग गर्न ल्याइएको बताए । नेपाललाई अरु कुनै देशको गोटी बन्न दिन नहुने उनले बताए ।

    कार्यक्रममा जलस्रोत विशेषज्ञ रतन भण्डारीले जलस्रोतमाथिको बहस केवल विद्युतमा मात्र केन्द्रित हुने गरेको भन्दै यो सही बुझाई नभएको बताए । जलस्रोतको बहुआयामिक उपयोगमा ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । पानीलाई केवल विद्युतको आँखाले हेर्न नहुनेमा उनले जोड दिए । नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिए पनि नेपालका ग्रामीण भूगोलहरुमा स्वच्छ खानेपानीको समस्या रहेको, सिचाईमा आकाशेपानीको भर पर्नुपरेको र तराईमा जमिन मुनिको पानी उपभोग भइरहेको उनले बताए । अहिले केही मानिसले देशमा लोडसेडिङ अन्त्य भएको बताइरहेको तर यसमा पनि अध्ययनको कमी रहेको भन्दै भण्डारीले नेपालका अधिकांश गाउँहरु विद्युत सेवाबाट वञ्चित रहेको र विद्युत नपुगेका ठाउँको सदाकालिन लोडसेडिङका बारेमा कसैले कुरा नगरेको बताए ।

    त्यसैगरी नेपाल सरकारका जलस्रोत तथा सिंचाई सचिव मधुसुदन अधिकारीले जलस्रोतलाई बहुआयामिक रुपमा उपयोग गरिनुपर्नेमा जोड दिए । अहिले सरकारले एकीकृत जलस्रोत नीति ल्याएको जानकारी गराउँदै उनले कुन कुन क्षेत्रमा कति उपयोगिता र कुन कुन क्षेत्रहरु प्राथमिकतामा हुने भन्ने छुट्याइएको स्पष्ट पारे । उनले पानीमा अन्तरक्षेत्रीय द्वन्द्व नहोस भन्ने कुरामा नेपालले ध्यान दिनुपर्नेमा जोड दिए । जलस्रोतमा एउटामात्र देशको नभई अरुको पनि चासो रहने गरेको भन्दै धेरैले अहिले प्राकृतिक स्रोत उपभोगको अधिकार उठाउने गरेको बताए ।

    कार्यक्रममा जलस्रोतका अभियन्ता भरतबहादुर शाही र गणेश कार्कीले पनि आआफ्ना धारणा राखेका थिए । रमेश भट्टराईले सहजिकरण गरेको कार्यक्रमको सुरुमा फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका तर्फबाट प्रभात चलाउनेले कार्यक्रमको अवधारणाबारे विषयवस्तु राखेका थिए । कार्यक्रमको मिडिया पार्टनरको रुपमा बागमती टेलिभिजन रहेको थियो भने उक्त कार्यक्रममा ३ दर्जन बढी पत्रकारले सक्रिय सहभागिता जनाएका आयोजक संस्थाका सदस्य संजीप घिमिरेले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...