News Portal

  • कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ चैत
    १०१४ पटक
    भक्तपुर, ६ चैत

    काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने शाही पहिलो बनेका छन् ।

    टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधी प्रदान गरेको हो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर समेत गरेका शाहीले विकासोन्मुख देशहरुले उर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गरेका छन् ।

    रास्कोट–५, कालिकोटको एक सामान्य परिवारका शाहीको यो अध्ययनले नेपालको उर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ ।
    विद्यावारिधी प्राप्त गरेपछि उनले भने, “मलाई सधैं केही नयाँ गरौं र केही नयाँ सिकौ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ । कर्णाली जस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा हासिल गरेका अन्तराष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुसन्धान कर्तासँग प्रतिस्पर्धा गरी शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन । तर, निरन्तरको प्रयास, असफलता बहन गर्न सक्ने अठोट र सबैको सपोर्टले मेरो यो यात्रा पूरा भएको छ । एक अनुसन्धान कर्ताका लागि सधैं ज्ञान अपूर्ण नै रहन्छ । म निरन्तर अध्ययन अनुसन्धान मै रहनेछु ।”

    विद्यावारिधीको क्रममा शाहीका अनुसन्धानमूलक २ वटा सामग्री विश्वकै नम्बर १ जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित भएका छन् । साथै उनी विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारहरुमा सहभागी भएर आफ्ना प्रस्तुति दिइसकेका छन् । उनले टोक्यो युनिभर्सिटीबाट वेस्ट प्रिजेन्टेशन अवार्ड र हाइ इम्प्याक्ट जर्नलमा प्रकाशन गर्न सफल भएकोमा अवार्ड प्राप्त गरेका छन् ।

    एल्सेभिरमा जर्नलमा प्रकाशित शाहीका आलेखमा घरमा प्रयोग हुने ऊर्जा र समग्र ऊर्जाको तर्कसंगत प्रयोगका बारेमा उल्लेख गरिएको छ । उनको यो अध्ययन उर्जा क्षेत्रको बहसमा नयाँ अवधारणा मानिएको छ । विकसित देशहरुले गर्ने अत्यधिक ऊर्जाको प्रयोगले वातावररणमा अत्यन्त नकारात्मक असर परिरहेको बेला दिगो विकासको अवधारणा अनुसार ऊर्जा खपत र वातावरणीय सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषय पनि उनले अनुसन्धान गरेका छन् । साथै नेपाल जस्ता विकासिल देशहरुले विकशित देशहरुले गरेको भूलबाट पाठ सिकेर नयाँ विधिबाट अघि बढ्नुपर्नेमा उनको निष्कर्ष छ । त्यसका लागि उनले तर्कसंगत अवधारणा पनि अघि सारेका छन् ।

    विश्वमा सबैभन्दा बढी उर्जा घरायसी प्रयोजनमा खपत गरेको पाइन्छ । भविष्यमा नेपालमा पनि घरायसी प्रयोगजनमा ऊर्जाको खपत बढ्न सक्ने अनुमान गर्दै उनले कसरी यसमा के गर्न सकिन्छ भन्ने कुरामा नयाँ अवधारणा अघि सारेका छन् । नेपालका धेरै जाडो हुने र अत्यधिक गर्मी हुने ठाउँमाम घरहरुलाई सुधारेर घरभित्रको तापक्रम प्राकृतिक तरिकाले वृद्धि गरी २० प्रतिशतसम्म उर्जा बचत गर्न सकिने विधि पनि उनले अध्ययनमा देखाएका छन् । यो विषय पनि उनको अनुसन्धानको महत्वपूर्ण पक्ष हो ।

    उनी भन्छन्, “नेपाल विश्वको सबैभन्दा कम प्रतिव्यक्ति उर्जा खपत गर्ने देश हो । उत्पादित उर्जाले मानिसका सामान्य आवश्यकताहरु पनि परिपूर्ती गर्न सकिएको देखिदैन । त्यसैले उर्जाको विकास गर्न त जरुरी छ नै । त्यसका लागि दिगो विकास र तर्कसंगत (Rational) तरिकाले राष्ट्रिय उर्जा रणनीति बनाउनु जरुरी छ । यसमा गहिरो अनुसन्धान र तथ्यहरुको विश्लेषण गरेर निष्कर्षमा पुग्नु जरुरी छ । नत्र हामी पनि अन्य देश जस्तै हतारमा निर्णय गरी पछि पछुताउने अवस्थामा हुन सक्छौं ।”

    भौगोलिक जटिलताका कारण कर्णालीलाई अझै पनि नेशनल ग्रिडमा जोड्न नसकिएको भएपनि प्रसस्त नविकरणीय उर्जाका श्रोतहरूको उपयोग गरी विकेन्द्रीकृत ऊर्जा प्रयोगको अवधारणा जाँदा बढी उपयोगी हुने उनको भनाई छ । उनले भने, “नेपाल जस्तो ‘रन अफ रिभर’ भएको देशले वातावरणीय अनुकूलतालाई ध्यानमा राखी नविकरणीय ऊर्जाको उत्पादनमा जोड दिएर विश्वमै उदाहरणीय काम गरेर देखाउने महत्वपूर्ण अवसर छ । यो मौकालाई कर्णाली र नेपालले गुमाउनु हुँदैन ।”

    शाही अध्ययन अनुसन्धानका साथै जापानका बिभिन्न कम्पनीमा काम गरी जापानी कम्पनी व्यवस्थापनमा पनि विशेष दख्खल राखेका छन् । हस्पिटालिटि, समय व्यवस्थापन, सानो सानो कुराको पनि ख्याल राख्ने हुनाले उत्कृष्ट मानिने जापानी व्यवस्थापनमा समेत उनले दख्खल राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...