
भक्तपुरका पुराना पत्रकार कमल मिश्रको निधन भएको छ । कोभिड-१९ को उपचार गराइरहेका मिश्रको गएराति निधन भएको हो । एक साता अघि उनी उपचारका लागि टेकुस्थित सरुवा रोग अस्पताल भर्ना भएका थिए । गएराति करिब १ बजे उनको ज्यान गएको पत्रकार मकर श्रेष्ठले जानकारी दिए । झापा स्थायी घर भएका ४८ वर्षिय मिश्र विगत लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाएर काम गर्दै आएका थिए । नेपाल समाचारपत्रको भक्तपुर संवाददाता रहेकै बेला बैराग्यता जागेपछि उनी आध्यात्मिक बाटोमा लागेका थिए । उनले विभिन्न सन्चार माध्यममा धार्मिक कार्यक्रम संचालन गरेका छन् । पछिल्लो समय राधेराधेस्थित धार्मिक आश्रमसंग जोडिएका उनी जीवनमा आर्थिक अभावसंग जुधिरहेका थिए । दिवङ्गत मिश्रका श्रीमती र चार छोरी छन् ।