News Portal

  • चाँगुनारायणमा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम प्रभावकारी

    लक्ष्मी गारुभक्तपुर, १९ असार
    १०२९ पटक
    भक्तपुर, १९ असार

    लक्ष्मी गारु

    भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत अनामिका छुंकाको नेपाल बैंकमा रहेको खातामा चार हजार बढी रकम जम्मा भइसकेको छ । त्यस्तै देवी माध्यमिक विद्यालयलमा कक्षा १० मा अध्ययनरत सुनीता ह्याङ्गजुको पनि सोही बैंकमा रहेको खातामा त्यति नै रकम जम्मा भएको छ । सो माविकै कक्षा ८ मा अध्ययनरत सन्ध्या बस्नेतको पनि अनामिका र सुनीताको जस्तै बैंक खातामा रकम जम्मा भएको छ ।

    अनामिका, सुनीता र सन्ध्याको मात्र होइन, नगरपालिकाभित्रको सामुदायिक विद्यालयमा अध्ययनरत नगरवासी छात्राहरुको बैंक खाता खोलिएको छ । खातामा सबैको चार हजार बढी रकम जम्मा भइसकेको छ । यस वर्ष चार हजार थपिनेछ । यो क्रम छात्रा १२ कक्षा उत्तिर्ण नभएसम्म चलिरहनेछ । अनि १२ कक्षा उत्तिर्ण भएपछि एकमुष्ट व्याजसहित झिकेर कुनै व्यवसाय वा थप उच्च शिक्षा अध्ययन गर्न उनीहरुले लगानी गर्न सक्नेछन् ।

    नगरभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने नगरवासी छात्राहरुको बैंक खाता हुनु र सो खातामा वर्षेनी कम्तिमा चार हजार रुपैंया जम्मा हुनुको कारण हो नगरपालिकाको ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम । सामुदायिक विद्यालयमा अध्ययनरत छोरीहरुको शिक्षामा पहुँच अभिवृद्धि, गुणस्तरीय शिक्षा प्रदान, बालविवाह निरुत्साहित गर्ने, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम शुरु गरेको हो ।

    कार्यक्रम अन्तर्गत नगरपालिकाले नर्सरीदेखी कक्षा १२ अध्ययनरत ९ सय ३७ छात्राको बैंक खाता खोल्नुका साथै प्रत्येकको खातामा चार हजारका दरले ३७ लाख ६८ हजार रुपैंया जम्मा गरिसकेको शिक्षा शाखाका अधिकृत दिनेश अर्यालले जानकारी दिए । नगरका ३५ सामुदायिक विद्यालय मध्ये ३२ विद्यालयमा अध्ययनरत नर्सरीदेखी १२ कक्षासम्म अध्ययनरत ९३७ छात्राहरुले यो सुविधा प्राप्त गरेको अर्यालले बताए । तीन वटा विद्यालयमा भने स्थानीयवासीको छोरीको सङ्ख्या शून्य भएकोले ती विद्यालयमा यो कार्यक्रम लागु हुन सकेको छैन । कार्यक्रममा सहभागी हुन नगरवासी र नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने मापदण्डका कारण तीन वटामा सो सङ्ख्या शून्य भएको हो ।

    कार्यक्रम शुरु भएको वर्ष कक्षा १ मा हुने छात्राले १२ कक्षा पुग्दा नगरपालिकाबाट ४८ हजार पाउँछन् । अहिले कक्षा ११ मा पढ्नेले दुई वर्ष रकम पाउँनेछन् । कार्यक्रम शुरु हुँदा कक्षा ५ मा हुने छात्राले ८ वर्षको ४८ हजार पाउँछन । त्यसमा व्याज वापतको रकम थप हुनेछ । कार्यविधिमा ‘आर्थिक वर्ष २०७७÷०७८ देखि चाँगुनारायण नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत कार्यक्रममा सहभागी हुन चाहने नगरपालिकाका स्थायी वासिन्दा छोरीहरुलाई लक्षित वर्ग सम्झनु पर्दछ’ भन्ने उल्लेख गरिएको छ ।

    नगरप्रमुख सोमप्रसाद मिश्रले पनि चाँगुनारायणका नगरवासीले तिरेको कर वापतको रकम चाँगुनारायण बासीको हितमा खर्च गर्ने नीतिका कारण यस्तो नीति बनाउनु परेको बताए । ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम नगरपालिकाले निश्चित उद्देश्यका साथ लागु गरेको उनको भनाइ छ । यसले छोरीहरुले पढ्दापढ्दै विद्यालय छोड्ने समस्या हट्ने र उनीहरुले कम्तिमा १२ कक्षासम्म अध्ययन गर्ने वातावरण निर्माण हुने मिश्रले बताए । त्यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्ने, छोरीहरुको उमेर २० वर्ष नपुग्दै हुने विवाह रोक्ने र जम्मा भएको रकमले भविष्यमा केही गर्न सकियोस भन्ने उद्देश्य नगरपालिकाले लिएको छ । छात्राले १२ कक्षा उत्तिर्ण नगर्दै बीचमा पढाइ छाडेमा, स्थायीरुपमा अन्यत्र बस्न गएमा, १२ कक्षा उत्तिर्ण नहुँदै वा २० वर्ष नपुग्दै विवाह गरेमा भने खाताको रकम पाउने छैनन् । यसले बालिका शिक्षामा ठूलो फड्को मार्ने विश्वास नगरपालिकाले लिएको छ ।

    समाजमा विद्यमान लैङ्गिक विभेदका कारण छोरालाई निजी तर छोरीलाई सरकारी सामुदायिक विद्यालयमा पढाउने प्रवृत्ति हावी हुने जोखिम रहेपनि त्यसलाई निरुत्साहित गरिने नगरपालिकाले जनाएको छ । “समाजको विकाससँगै छोरा छोरीबीचको विभेद हट्दै आएको छ । शिक्षामा यस्तो प्रवृत्ति अत्यन्त कम छ । कार्यक्रममा सहभागी विद्यार्थी र विद्यालयका प्रधानाध्यापकले कार्यक्रम सकारात्मक भएको जनाएका छन् । उनीहरुले कार्यक्रमले छोरीहरुको भविष्य सुनिश्चित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले नगरपालिकाले जम्मा गरिदिएको रकमले १२ कक्षा भन्दा माथि अध्ययन गर्न उपयोगी हुने बताएका छन ।

    आर्थिक अवस्था कमजोर भएकी अनामिको भनाइ छ, “कक्षा १२ सम्म जसोतसो गरी पढे पनि त्यो भन्दा माथिको पढाइ नपाले जम्मा गरिदिएको पैसाले पढ्न सजिलो हुने भयो । म धेरै खुशी छु । यसले गर्दा मेरो परिवारलाई पनि केही हदसम्म आर्थिक भार कम हुने विश्वास गरेकी छु ।” नगरपालिकाले यो कार्यक्रम ल्याएर छोरीहरु माथि ठूलो गुन लगाएको कक्षा दशमा अध्ययनरत सुजिताको धारणा छ । “कक्षा १२ भन्दा माथि पढ्न नपाले खोली दिएको खाताको पैसाले पढ्न पाउनेमा अधिकांश छात्रा खुशी छन् । घरमा बुबाआमा पनि निकै खुशी हुनुहुन्छ ”, सुजिताले भनिन् । देवी माविमै कक्षा ८ मा पढ्ने सन्ध्याले उच्च शिक्षा हासिल गर्न कार्यक्रमले सहयोग हुने विश्वास व्यक्त गरिन । उनले भनिन्,“बुबा आमाको कमाइ राम्रो छैन । सामान्य खेतीपाती हो । यसले गर्दा पछि क्याम्पस पढ्नलाई हामीलाई सजिलो हुने भयो ।”

    देवी माविका प्रधानाध्यापक राजाराम छुंकाले कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि राहत पु¥याएको बताएका छन् । “यो कार्यक्रम गत वर्ष मात्र नपाले ल्याएको हो । एक वर्षमै हाम्रो विद्यालयमा यसको सेवा लिने ९० जना विद्यार्थी पुगे । यसले गर्दा विद्यार्थीहरुलाई पढ्ने हौसला प्रदान गरेको छ”, उनले भने । मापदण्ड भित्र नपरेका विद्यार्थीका अभिभावकहरुको भने आफ्ना छोरीहरु कार्यक्रममा नपरेको भन्दै गुनासो गरेको उनले बताए । यसवर्ष शैक्षिक सत्र शुरु भएसँगै छात्राको सङ्ख्या बढ्ने सङ्केत देखिएको जानकारी उनले दिए । गणेश माविका सहायक प्रधानाध्यापक सानुभाइ रावतले अधिकांश विद्यार्थीहरु बाहिर जिल्लाका भएका कारण कार्यक्रमबाट लाभ लिन बञ्चित भएकोले नगरपालिकाले विभेद गरेको गुनासो आएको बताए । आफ्नो विद्यालयमा १६ छात्रा कार्यक्रममा सहभागी भएको र अझै बढ्ने उनको भनाइ छ ।

    रासस

     

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...