News Portal

  • डोल्पाका स्याउ खेर जाँदै

    डोल्पा, २० असोज २०७८
    १२३२ पटक
    डोल्पा, २० असोज २०७८

    जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् ।

    उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिए ।

    यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा छवटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईवटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए ।

    स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन ९बाकस०समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउँछन् ।

    त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अङ्गुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए । उनीहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गरेका थिए ।

    सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ ।

    जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...