News Portal

  • देशैभरीका पाँच उत्कृष्ट सरकारी कर्मचारीमा परिन् भक्तपुर अस्पतालकी मेसु डा गौतम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ कात्तिक २०७८
    ३२८८ पटक
    Sumitra gautamभक्तपुर, ४ कात्तिक २०७८

    सार्वजनिक सेवामा रहेर जनताको पक्षमा निष्ठापूर्वक कार्यसम्पादन गरिरहेका राष्ट्रसेवकहरुको पहिचान र सम्मान गर्दै हरेक वर्ष सार्वजनिक गरिदै आएको ‘इन्टेग्रीटी आईकन’ यो वर्ष पनि सार्वजनिक गरिएको छ । आफ्नो काम इमान्दारीताका साथ पूरा गर्ने र परिणाम समेत देखिने गरि कार्यसम्पादन गर्ने आदर्श कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले प्रदान गरिने ‘इन्टेग्रीटी आईकन २०२१’ को नाम बुधवार सार्वजनिक गरिएको हो ।

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने मानसिकताबाट पर रहेर देश र जनतालाई सेवा पुर्याइरहेका पाँच सरकारी कर्मचारी ‘इन्टेग्रीटी आईकन २०२१’मा पर्न सफल भएका छन् । छनौट गरिएका पाँच जना सरकारी कर्मचारीमा भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतम समेत पर्न सफल भएकी छन् । उनीसंगै नवलपुरकी सिडिओ मनमाया भट्टराई पंगेनी,भेरी अस्पतालकी नर्सिङ अधिकृत शिला शर्मा,भाषा आयोगका अधिकृत डा. लोकबहादुर लोप्चन र मकवानपुर गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी समेत ‘इन्टेग्रीटी आईकन २०२१’मा पर्न सफल भएका छन् ।

    ‘इन्टेग्रीटी आईकन’ ८ वर्ष देखि निरन्तर दिइदै आएको आयोजकले जनाएको छ । भक्तपुर अस्पतालकी डा गौतमलाई उनले आफ्नो १४ वर्ष देखिको करिअरमा गरेको निस्वार्थ स्वास्थ्य सेवा र पाएको उपलब्धीलाई आधार मानेर यसवर्ष सम्मानित गरिएको आयोजकको भनाइ छ ।

    वरिष्ठ कल्सल्टेण्ट गाइनोकोलोजिस्ट समेत रहेकी डा गौतमले अल्पसंख्यक र सीमान्तकृत समुदायको स्वास्थ्यको क्षेत्रमा समेत योगदान पुर्याएको प्रति आयोजकले प्रसन्नता प्रकट गरेको छ ।उनले सिन्धुली अस्पतालको नेतृत्वमा रहँदा यसलाई भौतिक पूर्वाधार र स्वास्थ्य सेवा प्रवाहको हिसावमा नेपालकै उदाहरणीय सरकारी अस्पताल बनाउन योगदान गरेको चर्चा गरिएको छ ।

    त्यसैगरी भक्तपुर अस्पतालमा उनी प्रमुख भएर आउँदा एउटा पनि आइसीयु नभएको अवस्थामा उनको पहलमा अहिले ३६ आइसीयु वेड उपलब्ध भएको उल्लेख छ । उपत्यकाकै दोश्रो जेठो अस्पताल भएर पनि रिफर सेन्टरको रुपमा रहेको अस्पतालमा गौतमको नेतृत्वले २ वर्ष भित्रै ब्यापक सुधार भएको भनिएको छ । अहिले ६ सय बढी बिरामीलाई दैनिक सेवा दिन सफल भएको भन्दै यसको श्रेय प्रमुख डा गौतमलाई दिईएको छ । डा गौतम आउनु अघि गुमनाम जस्तै यो अस्पताल अहिले स्थानीय सेवाग्राहीको गन्तब्य बन्न पुगेको छ । बागमती प्रदेश सरकारले यस अस्पताललाई प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषणा गरेको छ भने यसको नेतृत्व गरेकी डा गौतमलाई प्रदेश सरकार लगायत धेरै संघसस्थाले यस अघि सम्मान गरिसकेका छन् । नेपाल सरकारले समेत उनलाई मानपदवीद्वारा पुरस्कृत गरिसकेको छ ।

    कोभिड १९ ले सबैलाई तर्साएको बर्षमा डा गौतम अध्यारो चिर्दै उज्यालो छर्ने एक प्रशंसनीय व्यक्तित्व भएको निष्कर्ष सहित ‘इन्टेग्रीटी आईकन २०२१’मा उनलाई समेटिएको आयोजकले जनाएको छ । आफै कोभिड संक्रमित हुँदा पनि उनले कहिल्यै ड्युटीबाट बिश्राम लिइनन् भने अक्सिजन अभावको समयमा देशैभरी समन्वय गरी अक्सिजन अभाव हुन दिएकी थिइनन् । कोभिड्को समयमा भक्तपुर र आसपासका जिल्लाका हजारौं संक्रमितको लागि पिसिआर सेवा, आइसोलेसन सेन्टर संचालन देखि उपचार समेतमा कुशलता प्रदर्शन गरी मन जित्न सफल भक्तपुर अस्पतालको कुशल नेतृत्व गरेकी डा गौतम स्थानीय जनताबीच पनि लोकप्रिय छिन् । भक्तपुर नगरपालिका र यसका मेयर सुनिल प्रजापतिले पनि अस्पतालको पछिल्लो प्रगतिप्रति संतोष व्यक्त गरेका छन् । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले पनि मेसुको लगनशीलता, क्रियाशीलता र प्रशासनिक नेतृत्व र भिजनको खुलेर प्रसंशा गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...