News Portal

  • नगरकोट सडकमा नेताहरु : होस्टेमा हैसेंको आवश्यकता

    मदन ढुंगाना / भक्तपुर पोस्ट चाँगुनारायण, १६ कात्तिक २०७८
    १६३८ पटक
    चाँगुनारायण, १६ कात्तिक २०७८

    भक्तपुरबाट बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल प्रदेश सांसद एवं नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले ४५ दिन भित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गरिसक्ने भविष्यबाणी गरेका छन् । गत उपनिर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी रहेका नेकपा(माओवादी केन्द्र) का नेता डिपी ढकालसंगै पूर्व प्रधानमन्त्री प्रचण्डलाई आइतवार भेटेर आएपछि उत्साहित हुँदै भँडेलले उक्त भविष्यवाणी गरेका हुन् ।

    यता, मन्त्रीसमेत रहेका काँग्रेस नेता भँडेलको नगरकोट सडक बनाउने कुरा भुइमा खस्न नपाउदै नेकपा(एमाले)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज समेत रहेका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले १ महिना भित्रमा नगरकोटको सडक नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोमबार उनले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै उक्त चेतावनी दिएका हुन् ।

    भक्तपुरको कमलविनायकस्थित भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडकको दुरावस्था देखेर स्थानीय वाक्कदिक्क भएका छन् । दैनिक उक्त सडक प्रयोग गर्नुपर्ने स्थानीयका लागि यो एउटा चिन्ताको विषय बन्दै आएको छ । तर एकअर्कालाई सहयोग गर्दै काम गर्नुपर्ने आफना जनप्रतिनिधि समेत रहेका सांसद र मेयर नमिलेको देख्दा स्थानीय आश्चर्यचकित मात्र छैनन्, उनीहरुलाई यसले निर्वाचनको झल्को दिएको छ । यसलाई नेताहरुको निर्वाचनको तयारीको रुपमा स्थानीयले बुझेका युवा नेता बिनोद लामिछाने बताउछन ।

    ७ वर्ष सम्म सम्झौता अनुरुप कार्य नगर्ने ठेकेदारको कारण सडक नबनेको निष्कर्ष निकालिएको छ । यद्यपी ठेकेदार कम्पनीले भने सरकारलाई नै दोष थुपार्दै आएको छ । ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जान निवर्तमान भौतिक योजना मन्त्री बसन्तकुमार नेम्बाङ्ग संग पटक पटक माग गरेपनि सो हुन नसकेको हेर्दा ठेकेदार कम्पनीको भनाइमा पनि दम देखिन्छ । तर, जेजस्तो कारण भएपनि ७ वर्ष सम्म सडक निर्माण सम्पन्न नहुनु राज्यको प्रशासनिक संरचनाको लागि लाजमर्दो विषय बनेको नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरेको बुझाइ रहेको छ ।

    प्रदेशसभाको गत उपनिर्वाचनको प्रमुख एजेण्डा यही सडक थियो । निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार डिपी ढकाल र नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल दुवैले सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । संयोगबस उतिबेलाका प्रतिष्पर्धी यी नेताहरु यतिबेला सत्ता साझेदार दलका नेता मात्र भएका छैनन्, भँडेल बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री समेत बन्न सफल भएका छन् । यो बेला नगरकोट सडक सम्पन्न गर्न नसके जनताले आगामी निर्वाचनमा पक्कै पनि प्रश्न गर्नेछन् ।

    के हो समस्या
    भक्तपुरको कमलविनायकस्थित भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडक लामो समयदेखि बन्न नसक्दा सडक प्रयोगकर्ताको बिजोग हुने गरेको छ । वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने यस सडकका कारण सडक प्रयोगकर्ता सास्ती खेप्न बाध्य छन् ।

    सडक स्तरोन्नति गर्ने ठेक्का पाएको कम्पनीले समयमै काम नसक्दा यो राजनीतिक पार्टीहरुका लागि समेत राजनीतिक मुद्दाको विषय बनेको छ । गत उपनिर्वाचनमा समेत यो विषयले निकै चर्चा पाएको थियो ।

    राज्य संयन्त्र अनुगमनमा सिमित
    मन्त्रलयका सचिव र सडक बिभागका महानिर्देशकसहितको सरकारी टोलीले मात्र होइन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले समेत यस सडकको स्थलगत अनुगमन गरेका थिए । त्यतिमात्र होइन संसदका बिभिन्न संसदीय समितिका सभापति देखि सांसद र नेताहरु पनि पटक पटक स्थलगत अनुगमनमा सहभागी भएका छन् ।

    जतिसुकै अनुगमन गरेपनि समस्या ज्युँका त्युँ रहेको स्थानीय सानु खत्री सुनाउँछन् । ”अनुगमनकर्ताका मोटरले उल्टै धुलो उडाए तर, उपलब्धी भएन ।” उनले भने ।

    यसकारण समयमा सकिएन सडक निर्माण

    भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक सुधार आयोजना अन्तर्गत तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारको पालामा योजना स्वीकृत भएको करीब १६ किमीको यो सडक खण्ड चौडा गरी कालोपत्रे गर्न भारतीय कम्पनी एआइसीपिएल र नेपाली कम्पनी एससीपिएल (शैलुङ कन्स्ट्रक्सन) काठमाडौंले संयुक्त ठेक्का पारेको  थियो । ०७१ असार मसान्तमै निर्माण सम्पन्न गरिने गरी ठेक्का स्वीकार गरेपनि यी दुई कम्पनीले काम सम्पन्न गर्न सकेनन् ।

    निर्माण कम्पनीले नाकाबन्दी, भूकम्प लगायत कारण देखाए पनि आफूले पाउनुपर्ने पैसा नपाउदा काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि सुदन गौलीले बताए ।

    प्रचण्डलाई प्रहार गर्ने हतियार
    संयोगबस यस सडकको निर्माण ठेक्का पाएको नेपाली कम्पनीका मालिक शारदा अधिकारी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डका घरबेटी हुन् । समयमै निर्माण सम्पन्न नगरेका शारदाको कमजोरीलाई अध्यक्ष प्रचण्डसंग लगेर जोडी दिंदा जिल्ला पार्टीलाई त्यसले आघात पुर्याइरहेको पार्टीका स्थानीय नेता कार्यकर्ताहरु स्वीकार गर्दछन् ।

    नेकपा (माओवादी केन्द्र)का भक्तपुर सहइन्चार्ज समेत रहेका नेता देवेन्द्र श्रेष्ठ दिवाकर भने यसलाई आफ्नो अध्यक्ष प्रचण्ड माथि प्रहार गर्ने हतियारको रुपमा उद्याइएको आशंका व्यक्त गर्दछन ।प्रचण्डको नेतृत्वको पार्टीलाई नै नेकपा बाट अलग गर्ने ल्याकत राख्ने तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रचण्डको आदेशमा घरबेटीलाई कारवाही नगरेको भन्ने विषय भ्रमपूर्ण भएको उनको भनाइ छ । बरु उल्टै प्रचण्ड माथि हिलो छ्यापिरहन घरबेटी संलग्न भएको कम्पनीलाई ओली सरकारले कारवाही नगरेको र सडकको यो नियती भएको हुनसक्ने उनले आशंका व्यक्त गरेका छन् ।

    एमाले पनि अग्रसर 

    नेकपा एमालेले यस क्षेत्रमा मेयर जितेको छ । यो बाटो बन्न नसक्दा त्यसको असर स्थानीय राजनीतिमा पर्ने चिन्ता एमाले लाई पनि देखिन्छ । एमाले भक्तपुर अध्यक्ष बचन देउजाले आफ्ना पार्टीका तत्कालीन मन्त्री बसन्तकुमार नेम्बाङलाई ल्याएर अवलोकन गराए पनि काम सम्पन्न नभएको स्वीकार गरेका छन् । पूर्व मन्त्री रहेका संघका सान्सद महेश बस्नेतले पनि यसमा चासो राख्दै आएका देखिन्छन् ।

    नेमकिपाकै कित्तामा नगरपालिका
    चाँगुनारायण क्षेत्रबाट संघीय सांसदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल रहेका छन् । राष्ट्रिय राजनीतिमै नेमकिपा जत्ति बिरोध सायदै अरुले गरेका होलान । नेमकिपाले बाटो नबनेकोमा स्थानीय जनता सहितको र्याली सहित समेत बिरोध गरिसकेको छ ।

    नेमकिपालाई समेत छक्क पार्दै चाँगुनारायण नगरपालिकाले त्यस्तै खाले बिरोध प्रदर्शनको तयारी गरेको बुझिएको छ , १ महिनाको अल्टिमेटम दिएर स्थानीय सरकार प्रमुख समेत रहेका मेयर मिश्रले सडक निर्माण सम्पन्न नभए आन्दोलनको चेतावनी दिएका छन् ।

    माओवादीलाई प्रतिष्ठाको विषय

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत उपनिर्वाचनमा यस क्षेत्रबाट हार ब्योहोर्न बाध्य भयो । गजबको कुरा त के भने उम्मेदवार डीपी ढकाल यो सडक आयोजनाका पहलकर्ता नै थिए । उनी तत्कालिन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव रहेका बेलामा यो आयोजनाले स्वीकृती पाएको थियो । तर, उनले त्यसको जस लिन नपाउदै समयमै सडक नबनाएको अपजस उनको पार्टीले पायो । जसलाई उनको हारको एक कारण समेत मानिंदै आएको छ । किनभने विपक्षीहरुले उक्त बाटोका ठेकेदार शारदा प्रसाद अधिकारी अध्यक्ष प्रचण्डका घरबेटी भएको कुराको निकै नै प्रचार गरेका थिए ।

    आफ्नै पहलमा योजना पारीएको सडक र आफू सो क्षेत्रको बासीन्दा र नेता समेत रहेकोले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक डिपी ढकालले यसलाई सम्पन्न गर्न सिंगो पार्टीकै तर्फबाट पहल गरिरहेका छन् ।

    होस्टेमा हैसेंको आवश्यकता
    नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले जिल्लाका सबै जनप्रतिनिधि, नेता,सामाजसेवी, बुद्धिजीवी, समाजसेवी र अगुवाहरु एकजुट भएर यो बाटोको निर्माण सम्पन्न गर्न लाग्नुपर्ने सुझाव दिएका छन् । बिकासलाई पार्टीकरण गरेर प्रगती नहुने भन्दै उनले सबैले होस्टेमा हैसें गर्नुपर्ने आवश्यकता औल्याए । नगरबासीका अलावा नेपाल र संसारभरिबाट नगरकोट घुम्न आउने पर्यटकहरुले यहि बाटोका कारण यस क्षेत्रको बदनामी भएको भन्दै चाँगुनारायण उद्योग बाणिज्य संघका अध्यक्ष श्रीभक्त कासिछवाले स्थानीय नेताहरु फुटेर नभई जुटेर सडक निर्माण सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...