News Portal

  • भक्तपुर देशको नमूना नगरपालिकाको रुपमा विकास भइरहेको छ : प्रमुख प्रजापति

    भक्तपुरपोस्ट/संवाददाताभक्तपुर, २ पुस २०७८
    १०३६ पटक
    भक्तपुर, २ पुस २०७८

    भक्तपुर  । भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये एक हो । कूल ६.८८ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो नगरमा २०६८ सालको जनगणनाअनुसार ८१,७४८ नागरिकहरु बसोबास गर्छन् । यो वर्ष पनि जनगणनाको काम भइरहेको छ । हाल १ लाख जनसंख्या पुग्ने हाम्रो अनुमान छ । करिब यहाँको बासिन्दा बराबर नै जनसंख्या नगर बाहिरबाट रोजगारी, शिक्षा, स्वास्थ्य उपचारलगायतको सिलसिलामा भक्तपुरमा बसिरहेको अनुमान गर्न सकिन्छ । यस हिसाबले भक्तपुर नगरपालिकाले करिब २ लाख जनतालाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    बितेको ७ दशकको अवधिमा यस नगरपालिकामा धेरै जनप्रतिनिधिहरु निर्वाचित भएर नगरको विकास र नगरबासीहरुको जीवनस्तर उठाउन योगदान गर्नुभयो । विभिन्न कालखण्डमा जनप्रतिनिधिको रुपमा काम गर्नुभएका ती सबै व्यक्तित्वहरुलाई आजको दिन सम्झन चाहन्छौं ।

    केही दशक अघिसम्म शैक्षिक रुपमा निकै पछाडि परेको, फोहर नगरको रुपमा परिचित भक्तपुर नगर आज शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइलगायत हरेक क्षेत्रमा देशको नमूनाको रुपमा विकास भइरहेको छ । देशका विभिन्न ठाउँका जनप्रतिनिधिहरुले भक्तपुर नगरपालिकाबाट सिक्न खोजिरहेका छन् । भक्तपुर नगरपालिकालाई आजको स्थितिसम्म ल्याइ पुर्याउन नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण भूमिका छ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनालाई आत्मसात गर्ने नेमकिपाका जनप्रतिनिधिहरुलाई जिताउने यहाँका तमाम मतदाता दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । भक्तपुरको विकासमा तपाई मतदाता दाजुभाई दिदी बहिनीहरुको महत्वपूर्ण योगदान छ । तपाईंहरुको मतबाट निर्वाचित भएर नै यी सबै काम गर्न सम्भव भएको हो ।

    हामी जनताबाट निर्वाचित भएर नगरपालिकामा बहाली गरेको साढे चार वर्ष पुग्यो । पदावधिको हिसाबले हाम्रो यो अन्तिम वर्ष हो । बाँकी समय पनि अलिकति पनि खेर नफाली नगर र नगरबासी जनताको सेवामा समर्पित भएर लाग्नेछौं ।

    निर्वाचनको बेला जनतालाई दिएको वचनअनुसार हामीले निरन्तर काम गर्दैछौँ । निर्वाचन घोषणापत्रमार्फत प्रतिबद्धता गरेकामध्ये कानुनी, व्यवहारिक र आर्थिक समस्या परेका अत्यन्त जटिल विषयहरुबाहेक अधिकांश विषयहरु पूरा गरेका छौं । अझ कयौं थप कार्यहरु गरी जनताको सेवा गरिरहेका छौं ।

    आ.व. २०७८।७९ को कूल बजेट १ अर्ब ९३ करोड(नपाद्वारा संचालित शैक्षिक संस्था र ख्वप अस्पतालकोबाहेक)मध्ये चालूतर्फ १ अर्ब १० करोड र पुँजीगततर्फ ८२ करोड ९७ लाख विनियोजन गरिएको थियो । साउनदेखि मंसिरसम्म ५ महिनामा चालूतर्फ ३१ करोड ३६ लाख खर्च भयो । त्यो विनियोजित बजेटको २८ प्रतिशत हो । त्यसैगरी पुँजीगततर्फ १६ करोड ६० लाख अर्थात विनियोजित बजेटमध्ये २० प्रतिशत खर्च भएको छ । चालू र पुँजीगत गरी बितेको ५ महिनामा २४ प्रतिशत बजेट खर्च भइसकेको जानकारी गराउन चाहन्छौं ।

    आयतर्फ हालसम्म आन्तरिक र बाह्य गरी कुल ४७ करोड ९९ लाख २७ हजार ६९६ रुपैयाँ भएको छ ।

    भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि स्नातकोत्तर तहसम्म सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यो वर्ष ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी रमण श्रेष्ठ सिभिल इन्जिनियरिङतर्फ स्नातक तहमा ८६ प्रतिशत अंक प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट हुन सफल भएको छ । भक्तपुर नपाबाट सञ्चालित २ वटा इन्जिनियरिङ कलेजहरुमध्ये पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेजमा हाल ६९ जिल्लाका १०१५ जना विद्यार्थीहरु स्नातक र स्नातकोत्तर कक्षामा अध्ययनरत छन् भने त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ख्वप कलेज अफ इन्जिनियरिङमा ६७ जिल्लाका ७३९ जना विद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । दुवै कलेज गरी १७५४ जना विद्यार्थीहरु इन्जिनियरिङतर्फ उच्च शिक्षा हासिल गरिरहेका छन् । ख्वप कलेज, ख्वप मावि, शारदा कलेज, शारदा मावि तथा कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थानसमेत गरी सात वटा शैक्षिक संस्थामा देशका विभिन्न जिल्लाका ६ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

    रु. ५ लाखसम्म शैक्षिक ऋण, करोडौं रुपैयाँ बराबरको गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि छात्रवृत्तिको व्यवस्था गरी आएको भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने योजनाका साथ अघि बढिरहेको छ । तर शिक्षा मन्त्रालयले २०६० सालदेखि संचालन गर्दै आएको नर्सिङ कलेजलाई आफ्नै १०० शैय्याको अस्पताल नभएको बहानामा यो वर्ष विद्यार्थी भर्ना लिन रोक लगायो । यस सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गरेका छौं ।

    स्वास्थ्यतर्फ भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा, २५ शैय्याको ख्वप अस्पताललाई स्तर बृद्धि गरी १०० बेडको बनाउन प्रक्रिया अगाडि बढाइरहेको छ भने उक्त अस्पतालले दैनिक ५०० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ । आ.व. २०७८।७९ को ५ महिनामा ख्वप अस्पतालबाट ६८,५११ जनालाई उपचार सेवा प्रदान गरी सकेको छ । गत आ.व. ०७७।७८ मा ४० जिल्लाका १ लाख १२ हजार २२ जनालाई उपचार सेवा प्रदान गरेको थियो ।

    साथै भक्तपुर नगरपालिकाले आयुर्वेदिक सेवा, आँखा उपचार सेवा, दम खोकीका दीर्घ रोगीहरुका लागि श्वासप्रश्वास उपचार सेवालगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । कोभिड महामारीको बेला ७५ शैय्याको कोभिड अस्पताल सञ्चालन गरी ४५५ जना कोरोना संक्रमितहरुलाई निःशुल्क उपचार सेवा प्रदान गर्यो भने अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरबासीहरुलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । कोरोनाबाट जनतालाई बचाउन प्रभावकारी खोप व्यवस्थापन गर्दै आएकोमा लक्षित वर्गलाई ९७ प्रतिशत खोप लगाई भक्तपुर नगरपालिका नेपालकै सबैभन्दा बढी खोप लगाउने नगरपालिका हुन सफल भएको छ ।


    २०७२ सालको भूकम्पबाट १२० भन्दा बढी सम्पदाहरुमा आंशिक र पूर्ण क्षति पुगेकोमा हालसम्म ११८ वटा सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ । तीमध्ये मन्दिर २६, पाटी ४०, द्योछेँ ६, प्रवेशद्धार ३, पोखरी १०, इनार ७, सत्तल ८, ढुंगेधारा ७ र अन्य ११ वटा रहेका छन् । हाल भनपा १ स्थित भाज्या पोखरी र रानी पोखरी निर्माणको अन्तिम चरणमा छन् भने भनपा वडा नं.४ स्थित साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण लक्ष्मी नरसिंह मन्दिरको पुनःनिर्माण शुरु भएको छ । अन्य सम्पदाहरुको जीर्णोद्धार र पुनःनिर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । मौलिक सीप, प्रविधि र निर्माण सामाग्रीहरुको प्रयोग गरी भक्तपुर नपाले सम्पदा संरक्षणमा उत्कृष्टता हासिल गर्दै आएको छ ।
    भौतिक पूर्वाधारतर्फ आ.व. २०७८।७९ मा ७७ वटा योजनाहरु स्वीकृत भएकोमा हाल ४२ वटा योजनाहरु चालू अवस्थामा छन् भने बाँकी योजनाहरु पनि शीघ्र सञ्चालन गर्ने प्रयास गरिरहेका छौं ।

    हरेक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा गत वर्ष कोरोनाको कारण प्रतियोगिता सञ्चालन सम्भव भएन । यो वर्ष हालै भक्तपुर नगर स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गरिएकोमा नगरभित्रका कुल ९२ वटा विद्यालयमध्ये ७१ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा विभिन्न १४ वटा खेलहरु समावेश गरिएको थियो ।

    भक्तपुर नगरपालिकाले युवा र महिला लक्षित विभिन्न सीपमूलक तालिमहरु, कृषिसम्बन्धी तालिम तथा विभिन्न भाषाहरुको तालिम कक्षाहरु पनि सञ्चालन गर्दै आएको छ । स्थानीय पथ प्रदर्शक तालिम, चिनियाँ र जापानी भाषा तथा नेपालभाषा लिपी कक्षा नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

    किसानहरुलाई लक्षित गरी सिजन अनुसारको बीऊविजन वितरण, उपभोक्ताहरुको हितलाई ध्यानमा राखी बजार अनुगमन तथा अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न तालिम तथा सहयोग सामाग्रीहरु वितरणजस्ता कार्यक्रमहरु पनि नगरपालिकाले गर्दै आएको छ ।
    नगरपालिकामा प्रशासनमा कार्यरत स्थायी कर्मचारीहरुको वृत्ति विकासको लागि आवश्यक ऐन निर्माण गरी ८७ जना कर्मचारीहरुको १ तह वृद्धि र ३० जना कर्मचारीहरुको २ ग्रेड वृद्धि गरी समायोजन गरिसकेको छ । साथै १०१ जना कर्मचारीहरुको १ तह स्तर वृद्धि गरिएको छ । २०७४ सालभन्दा अगाडि नियुक्ति पाइ हालसम्म यस नगरपालिकामा निरन्तर कार्यरत अस्थायी र सेवा करारका २२ जना कर्मचारीहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्नेे प्रक्रियामा रहेको छ । २०७४ सालमा जनप्रतिनिधि बहाल भएपछि हालसम्म ७७ जना कर्मचारीहरु अवकाश, राजीनामा र मृत्यु भई सेवा निवृत्त भइसकेका छन् ।

    अन्त्यमा,
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोग रोकथाम र नियन्त्रणको लागि निरन्तर सेवारत जनप्रतिनिधि, अतिआवश्यक सेवाअन्तर्गतका सफाई कर्मचारी र अन्य कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय तथा कलेजका शिक्षक विद्यार्थीहरुले संकटको बेला गरेको सेवाको उच्च मूल्यांकन गरी हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछौं । ख्वप अस्पताल कोभिड युनिटमा खटेर निरन्तर संक्रमितहरुको सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु तथा स्वास्थ्य सेवामा संलग्न अन्य कर्मचारीहरु र अक्सिजन प्लान्ट राख्न सहयोग गर्नुहुने तमाम नगरबासी र नगरभन्दा बाहिर रहनुभएका जनता र रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेर पनि हामीलाई सहयोग गर्नु हुने महानुभाव तथा तमाम दाजुभाइ तथा दिदी बहिनीहरुलाई आजको यो महत्वपूर्ण अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
    (भक्तपुर नगरपालिकाको ७२ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित प्रवचन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार संक्षेप)

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...