News Portal

  • भक्तपुर कर्णाली जस्तो भयो : जिसस प्रमुख गेलाल

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २० पुस २०७८
    ३०४३ पटक
    भक्तपुर, २० पुस २०७८

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर कर्णाली जस्तो बन्न पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको असुविधा हुँदा भक्तपुर कर्णाली जस्तो भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

    सोमबार सरोकारवालाहरु सहित बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकमा उनले भक्तपुरमा सार्वजनिक यातायात जनताको पहुँचमा पुग्न नसकेको बताए । जिल्लाका ग्रामिण भेगमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणलाई आवागमनमा समस्या भएको भन्दै उनले अझैपनि भक्तपुरका गाउँबस्तीमा सार्वजनिक यातायातको सुविधा पुग्न नसकेको प्रति चिन्ता व्यक्त गरे । राजधानीसंग जोडिएको जिल्लामा सार्वजनिक यातायातको असुविधा हुनु दुखद पक्ष भएको उनको भनाइ छ ।

    जिसस प्रमुख गेलालले यातायात व्यवसायी नाफामुखी हुँदा गाउँमा सार्वजनिक यातायातको असुविधा भएको र स्थानीय सरकारले समेत पहल लिन नसकेको गुनासो गरे । उनले कम्तीमा साना सवारी सार्वजनिक माइक्रो बसहरु जिल्लाका प्रत्येक बस्ती हुँदै गुड्नुपर्ने आवश्यकता औल्याउदै त्यसमा सबैले सहकार्य गर्नुपर्ने बताए ।

    जिल्लाका शहरी क्षेत्रमा समेत सार्वजनिक यातायात भरपर्दो र विश्वसनीय बन्न नसक्दा जनता निजी सवारी किन्न बाध्य भएका उनको भनाइ छ । ”यसले एकातर्फ सडकमा ट्राफिक जाम बढाएको छ भने अर्कोतर्फ जनतालाई ऋण गरेर पनि निजी सवारी खरिद र संचालन गर्नुपर्ने बाध्यता रहेको छ ।” उनले भने ।

    जिसस प्रमुख गेलालले सार्वजनिक यातायात जनताको दैनिक जीवनयापनसंग जोडिएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने र हेर्दा साना देखिने समस्यालाई पनि ठुलो महत्वका साथ् समाधान गर्नुपर्नेमा जोड दिए ।

    बैठकमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्नो नगरपालिकामा सबैतिर सार्वाजनिक यातायातको सुविधा नपुगेको स्वीकार गरे । नगरपालिकामा राम्रा सडक समेत नभएकोले नगरपालिकाले सडक निर्माण र स्तरोन्नतीमा ध्यान दिएको उनले खुलासा गरे । बाटो बनाइसकेपछि नगरपालिकाले नगर बस संचालन गर्न सक्ने भन्दै उनले अहिले नै नगर बस संचालनको योजना नबनाइएको बताए ।

    बैठकमा मेयर मिश्रले नगर भित्र ताथली बाहेकको रुटमा यातायात संचालकले समयको पालना नगरेको र बस आउने जाने समय नतोकिदा यात्रुलाई सास्ती भएको गुनासो गरे ।

    बैठकमा नागरिक समाजको तर्फबाट बोल्दै भक्तपुर बारका समेत अध्यक्ष रहेका रविन्द्र प्रधानले सार्वजनिक यातायातमा हुने भीडले विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई यात्रामा सास्ती भएको भनेका थिए । उनले भक्तपुर बाट साँझमै पनि काठमाडौ जाने साधन नचल्दा यहा उपचारका लागि आएका क्यान्सर, मिर्गौला लगायतका बिरामी लाई अप्ठ्यारो परिरहेको तर्फ सचेत गराउदै आवश्यक व्यवस्थाको लागि ध्यानाकर्षण गराए ।

    त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति र सचिव संजीप घिमिरे शुभचिन्तकले पहुँचका आधारमा सडक अतिक्रमण भैरहेको, कतिपय स्थानमा सर्विस ट्रयाक खुल्न नसकेको,ट्राफिक बत्तिको राम्रो व्यवस्था हुन नसकेको,सडकमा धुलोको समस्या, खाल्डाखुल्डीको समस्या भएको, यातायात मजदुरलाई सडक सुरक्षा, नैतिकता र संवेदनशीलताबारे अभिमुखिकरण तालिमहरु संचालन नभएको, नगरपालिकाहरुले आफ्ना नागरिकलाई यातायातको पहुँचमा पुर्याउने प्रवन्ध मिलाउन नसकेको लगायात समस्या सुनाएका थिए ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा संचालित बैठकमा सूर्यविनायक नगरपालिकाकी उप प्रमुख जुना बस्नेत, मध्पुरथिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, सूर्यविनायकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेल लगायतले आफ्नो नगर क्षेत्रमा सार्वजनिक यातायातको अवस्थाबारे बताएका थिए । बैठकमा इन्द्रबक्स गणका गणपती श्यामराजा बिक्रम थापा, भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठ, शसस्त्र एसपी उद्धवबहादुर न्यौपाने,जिल्ला ट्राफिक प्रमुख रहेका प्रहरी निरीक्षक प्रकास बस्नेतले सडक सुरक्षाबारे बताएका थिए भने सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेस लगायत सडक आयोजनाका प्रमुखहरुले सडकको अवस्थाबारे अवगत गराएका थिए ।

    बैठकमा राजनैतिक दलका प्रतिनिधिहरु ,यातायात,ट्रक तथा ट्रिपर व्यवसायीहरु, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स,नागरिक समाज, पत्रकार महासंघ लगायतको उपस्थिति रहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए ।

    बैठकमा सिडिओ शर्माले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सरोकारवालालाई आवश्यक निर्देशन दिएकी थिइन् भने सो बैठकले जिल्लामा सार्वजनिक यातायात लाई ब्यवस्थित बनाउन बिभिन्न ११ बुँदे निर्णय समेत गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...