नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । आठौ जिल्ला अधिबेशनबाट देउजाको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हो । उनी पार्टी एकतापछि बनेको तत्कालीन नेकपाको समेत जिल्ला अध्यक्ष रहेका थिए । यद्यपि उनी सातौ अधिवेशनबाट निर्वाचित अध्यक्ष भने होइनन् ।
शनिबार सम्पन्न अधिवेशनबाट देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित सचिव मोहनवीर श्रेष्ठले जानकारी गराए । उनका अनुसार उपाध्यक्षमा बासुदेव थापा निर्वाचित भएका छन् भने उपसचिवमा मिलन सुवाल र दामोदर दंगाल निर्वाचित भएका छन् । अध्यक्षका दावेदार नेताहरु शशीजङ्ग थापा, मदनसुन्दर श्रेष्ठ लगायतको फरक समूह देखिएको थियो । सर्वसम्मत भनिएको जिल्ला कमिटीमा भने उनीहरु अटाएका छैनन् । शुक्रवार पार्टीका बरिस्ठ उपाध्यक्ष इश्वर पोख्रेलले भक्तपुर अधिवेशन उद्घाटन गरेका थिए । करिब ५ सय जना अधिवेशन प्रतिनिधि रहेका एमाले जिल्ला अधिवेशन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको जिल्ला इन्चार्ज सोमप्रसाद मिश्रले दावी गरेका छन् । एमालेले २०४८ मा भक्तपुरमा पहिलो अधिवेशन गरेको थियो । त्यतिबेला एमाले भक्तपुर कमिटी ७ सदस्यीय रहेको थियो । नवनिर्वाचित १०५ सदस्यीय कमिटीमा युवाहरू बढी अटाएका छन् । नवनिर्वाचित अध्यक्ष देउजा पनि एमालेका युवा नेता हुन् ।