वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी हुने भएको छ । प्रसिद्ध बिस्का:जात्राको सन्दर्भमा उनको एकल फोटो प्रदर्शनी हुने भएको हो ।
मध्यपुर थिमी निवासी श्रेष्ठले उक्त फोटो प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा स्थित पर्यटन बोर्डमा गर्ने भएका हुन् । प्रदर्शनी यही चैत २२, २३ र २४ गते हुने बताइएको छ ।
राष्ट्रिय समाचार समितिमा दुई दशक बढी समयदेखि कार्यरत फोटो पत्रकार श्रेष्ठले मध्यपुर थिमिमा हुने बिस्काः जात्राका विविध पक्ष बारे बुझ्न खोज्ने उपत्यकाका बासिन्दा र यसबारे जानकारी लिन खोज्ने अध्यताहरुलाई आफ्नो प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे ।
‘थिमिको बिस्काः जात्रा भन्ने बित्तिकै बोडेको जिब्रो छेड्ने जात्रा मात्र हो की भन्ने भ्रम पनि रहेको छ । यो प्रदर्शनीले त्यो भ्रम चिर्ने छ भन्ने विश्वास लिएको छु,’ श्रेष्ठले भने ।
श्रेष्ठले यसअघि चीनमा दुई पटक, मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसमा एक पटक, मध्यपुर सञ्चार समाजको आयोजनामा भूकम्प सम्बन्धी एकल फोटो प्रदर्शनी गरिसकेका छन् ।
प्रदर्शनीबारे जानकारी दिन आइतवार गरिएको पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिको बिस्काः जात्राको प्रचार प्रसारमा फाटो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताए । यसले आन्तरिक तथा बाह्रय पर्यटकलाई मध्यपुरमा आकर्षित गर्न सकिने उनले बिश्वास व्यक्त गरेका छन् । उक्त अवसरमा प्रमुख श्रेष्ठले यसवर्षको बिस्काः जात्रामा शताब्धी पुरुष सत्यमोहन जोशीलगायत विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई अवलोकन गराउने तयारी गरिएको समेत जानकारी गराए ।
उक्त अवसरमा मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने समेत जानकारी गराइएको छ । ओस्ला नेपालको आयोजनामा चैत २६ गते उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने जानकारी गराइएको हो ।
यस अघि पनि उक्त प्रतियोगिता संचालन गरिसकेको ओस्लाको यो छैंटौं धिमे बाजा प्रतियोगिता हो । यसअघि थिमि नगरव्यापी र भक्तपुर जिल्ला व्यापी प्रतियोगिता आयोजना गरेको ओस्लाले यो पटक भने उपात्याकाब्यापीधिमे बाजा प्रतियोगिताका आयोजना गर्न लागिएको संयोजक सुशिल जोशीले जानकारी दिए । धिमे बाजा प्रतियोगिता लाई व्यवस्थित बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समिति अन्तर्गत कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति, खाना, खाजा तथा जलपान उपसमिति समेत गठन गरिएको सचिव रोशन बज्राचार्यले बताए । प्रतियोगितामा उपत्यकाका करिव तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने अपेक्षा गरिएको छ ।