News Portal

  • मध्यपुरमा ज्वाईजेठान बीच भिडन्त, बिजयकृष्ण बलिया उम्मेदवार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ बैशाख २०७९
    १०५९ पटक
    भक्तपुर, १३ बैशाख २०७९

    बैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिका प्रमुखमा १४ जना र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ज्वाई र जेठान बीचको भिडन्त हेर्न लायक बन्ने देखिन्छ । मध्यपुरमा नगर प्रमुख पदका लागि ज्वाई र जेठान बीच भिडन्त हुने भएको हो ।

    नेकपा (एमाले)का उम्मेदवार रहेका निवर्तमान नगर प्रमुख मदनसुन्दर जुगलु श्रेष्ठ र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नाताले ज्वाई जेठान हुन् । पारिवारिक नातागोता समेत प्राय: नगर भित्रै हुने मध्यपुरमा यी दुई ज्वाई जेठानको प्रतिष्पर्धा रोमाञ्चक समेत बनेको छ ।

    मध्यपुर थिमिमा नेपाली काँग्रेस बलियो रहेपनि आन्तरीक किचलोका कारण पछि पर्दै आएको छ । गत स्थानीय निर्वाचनमा उपप्रमुख र बहुमत वडा जितेर पनि काँग्रेसले प्रमुख पदमा बाजी मार्न सकेन । त्यसैले, यसपटक पनि त्यस्तो नहोला भन्न सकिन्न । मध्यपुर थिमिको नगर प्रमुखमा यस पटक उम्मेद्वारी दिएका सुरेन्द्र श्रेष्ठ पार्टीको नगर सभापतिमा पराजित उम्मेदवार हुन् । जिल्ला सभापति दुर्लभ थापा पक्षका श्रेष्ठलाई अष्टकुमार कबे पक्षका हरिदास प्रजापतिले १ सय बढी मतान्तरले सभापतिमा पराजित गरेका थिए । नगरमा उम्मेदवार छनौटको विषयमा उनीहरु असन्तुष्ट रहेको बताइन्छ । अष्ट र हरिदासले खुलेर सहयोग गरेमात्र श्रेष्ठलाई मेयर जित्न सजिलो हुनेछ ।

    अघिल्लो चुनावमा नेपाली काँग्रेस लाई चीत खुवाएका निवर्तमान मेयर मदनसुन्दर जुगलु श्रेष्ठलाई पनि यस पटकको जीत सहज देखिंदैन । मनोनयनको अघिल्लो दिनसम्म पनि उनको पार्टीका जिल्ला अध्यक्ष बचन देउजा नै मध्यपुरको मेयरमा उम्मेदवार बन्न दावी गरिरहेका थिए । त्यतिमात्र होइन, उक्त क्षेत्रका संघीय सांसद महेश बस्नेतसंग समेत श्रेष्ठको खटपट मिलिसकेको अवस्था छैन । अर्कोतिर, अघिल्लो निर्वाचनमा संगै रहेका नेकपा(एमाले)का नेता कार्यकर्ताहरु यस पटक अलग्गै पार्टी बनेको नेकपा(एकीकृत समाजवादी)मा आवद्ध भएका छन् । सो क्षेत्रमा एमालेबाट प्रदेश सांसद जितेका डा श्रेष्ठ नै अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

    निवर्तमान मेयर मदनसुन्दरले आफ्नो नेतृत्वमा भएका काम र भावी योजनालाई जितको आधार मानेका छन् भने गठबन्धनका उम्मेदवार सुरेन्द्रले मेयरको कमजोरी, आफ्नो पार्टीको जनाधार र गठबन्धनको शक्तिलाई जीतको आधार मानेका छन् । यी दुई ज्वाई जेठानको भिडन्तको फाइनल बैशाख ३० मा हुनेछ भने नतिजा हेर्न जेठसम्म जानैपर्छ ।

    मध्यपुरमा उप प्रमुख पदमा भने गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का बिजयकृष्ण श्रेष्ठ बलिया उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट उत्तरा नेपाल उम्मेदवार बनेपछि बिजयको जीत सुनिश्चित बनेको उनको पार्टी नेकपा(माओवादी केन्द्र)ले दावी गरेको छ ।
    मध्यपुर थिमिमा अघिल्लो चुनावमा नेपाली कांग्रेसकी अन्जनादेवी मधिकर्मी उपमेयर बनेकी थिइन् । यसपटक काँग्रेस संगै गठबन्धन दलहरुको समेत बिजयलाई मत खस्नेमा माओवादी केन्द्र बिश्वस्त बनेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म र बागमती प्रदेश सांसद समेत रहेकी नेतृ प्रतिमा श्रेष्ठ मध्यपुरवासी नै हुनु र मध्यपुर जनमोर्चाकालीन कार्यकर्ताहरुको समेत किल्ला रहनुले विजयको पक्षमा माहोल बनेको देखिन्छ ।

    त्यतिमात्र होइन,उप प्रमुख पदको उम्मेदवार विजय नगरको हरेक समस्या समाधानमा अग्रसर हुँदै आएका युवा नेता हुनुका साथै पछिल्लो समय स्ववासी स्थानीयलाई जग्गाधनी प्रमाण पूर्जा दिलाउन सफल भएका कारण पनि उनलाई बलिया दावेदार मान्न सकिन्छ । यद्यपी, एमालेको महिला संघकी जिल्ला अध्यक्ष रहेकी महिला नेतृ उत्तरा नेपाल पनि कमजोर उम्मेदवार भने होइनन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...