घरपरिवार तथा विद्यालयमा हुने विभिन्न क्रियाकलापले बालबालिकामा हिंसा वा दुर्व्यवहार भइरहेको धेरैलाई हेक्का नहुन सक्छ । तर, ठूला व्यक्ति वा उनीहरूसरहकै साथीहरूले गर्ने व्यवहारले कहिलेकाहीँ बालबालिकालाई मनोवैज्ञानिक असर परिरहेको हुनसक्छ । बालबालिकामाथि गरिने असहनीय क्रियाकलापले शारीरिक रुपमा मात्र नभई मानसिक तवरबाट नै उनीहरुलाई कमजोर बनाउँछ ।
वर्ल्ड भिजनले सन् २०२१ सेप्टेम्बरमा सार्वजनिक गरेको एक प्रतिवेदनमा कोभिड–१९ का कारण भएको लकडाउनपछि २४।७ प्रतिशत नेपाली बालबालिकामा नकारात्मक परिवर्तन देखिएको थियो । त्यसमा बालबालिकामाथि गरिने विभिन्न खालका हिंसा पनि प्रमुख एक कारण देखाइएको छ ।
विशेषगरी बालबालिकालाई अपमानजनक र बेइज्जतीपूर्ण व्यवहार गर्ने, बदनाम गर्ने, आलोचना गर्नेजस्ता व्यवहार भावनात्मक वा मनोवैज्ञानिक दुर्व्यवहारमा पर्दछन् । त्यस्तै, उनीहरूलाई अनावश्यक रूपमा कराइरहने, लज्जित बनाउने एक्ल्याउने जस्ता व्यवहार गर्दा उनीहरूको मानसिक र शारीरिक विकासमा नकारात्मक असर पुग्ने र दीर्घकालीन असर पर्नसक्ने पनि मनोचिकित्सकहरू बताउँछन् ।यसरी गरिने व्यवहारले बालबालिकाहरुमा मानसिक रुपमा नकारात्मक असर पर्नुका साथै विभिन्न अपराधलाई पनि निम्ताएको छ ।