News Portal

  • भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा : विद्यालयमा नेपाल भाषा देखि एसइइ तयारी परीक्षासम्म

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ८ असार २०७९
    १४१० पटक
    sunil prajapati भक्तपुर, ८ असार २०७९

    शिक्षामा नमूना नगरपालिकाको रुपमा परिचित भक्तपुर नगरपालिकाले गत वर्षमा जस्तै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको १२ औं नगर सभाका बीच नगर प्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक नीति तथा कार्यक्रममा नगरपालिकाले माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसइइ) लाई महत्व दिइएको छ । नगरपालिकाले एसइइ परीक्षा अघि पूर्व तयारी परीक्षा संचालन गर्ने व्यवस्था मिलाइने नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन । कक्षा ५ र ८ को अन्तिम परीक्षा र १० को पूर्व तयारी परीक्षा नगरपालिकाले संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

    त्यसैगरी नगरपालिकाले माध्यमिक तहका विद्यार्थीलाई राजनीति शास्त्र, भूगोल र सस्कृती पढाउने बताइएको छ । त्यतिमात्र होइन नेपाल भाषा (नेवारी) लाई छुट्टै विषयको रुपमा पठनपाठनको नीति लिइएको छ । ” नगरभित्रका विद्यालयहरूमा इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपाल भाषालगायतका विषयहरूमा कक्षा ८, ९ र १० मा अध्यापन सुरु गराइनेछ ।” नीति तथा कार्यक्रममा भनिएको छ । साथै, ती विषय लिएर उच्च शिक्षा हासिल गर्ने नगरबासी विद्यार्थीहरूको लागि दिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने समेत उल्लेख गरिएको छ ।

    नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै आएको जानकारी गराउदै यस आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोली गठन गरी आवश्यक तयारी गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । शैक्षिक ऋणको सीमा वृद्धि गर्ने,नगरपालिका बाट संचालित शिशुस्याहार केन्द्रहरूलाई थप व्यवस्थित र स्तरीय बनाउदै वडा—वडामा विस्तार गर्दै लगिने नीति लिइएको छ । पठन संस्कृतिको विकासको लागि वडा—वडामा पुस्तकालयहरू नियमित सञ्चालनको व्यवस्था मिलाइने बताइएको छ ।

    नगरपालिकाले बुधवार सार्वजनिक गरिएको नीति र कार्यक्रमको अधिनमा रही आइतवार बजेट सार्वजनिक गर्ने तयारी गरेको एक नगर सभा सदस्यले जनाएका छन् ।

    हेर्नुस भक्तपुर नगरपालिकाको शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम
    १. भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्था सञ्चालन गरी विभिन्न जिल्लाका जनताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ । हाल ७२ जिल्लाका करिब ७ हजार विद्यार्थीहरू भनपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा अध्ययनरत छन् । ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुरबासी जनताको चाहनाअनुसार नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै आएको छ । यस आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोली गठन गरी आवश्यक तयारी गरिनेछ । वर्तमान शिक्षामन्त्रीले नगरपालिकाबाट सर्वसाधारण जनताको १५ लाख रुपैयाँमा एमबीबीएसको अध्यापन गराउन लिखित पत्र नपठाएको भनी विधेयक पारित गर्न विलम्ब गरेकोले विश्वविद्यालय विधेयक पारित गर्न विशेष पहल गरिनेछ ।

    २. विद्यालयहरूको शैक्षिक स्तर उठाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न समय—समयमा बिषयगत शिक्षक तालिमहरू सञ्चालन गरिनेछ । साथै सामुदायिक विद्यालयहरूमा आवश्यक भौतिक पूर्वाधारहरूको निर्माणमा जोड दिइनेछ ।

    ३. सामुदायिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला र गणित प्रयोगशालाको निर्माण गरिनेछ । विद्यार्थीहरूलाई अध्ययन सँगसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरूमा समेत सक्रिय बनाउन चित्रकला, नृत्य तथा सङ्गीत प्रशिक्षणको व्यवस्था मिलाइनेछ । त्यसको लागि आवश्यक अतिरिक्त क्रियाकलापका शिक्षकको व्यवस्था गरिनेछ ।

    ४. भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रहरूलाई थप व्यवस्थित र स्तरीय सेवा प्रदान गर्दै वडा—वडामा विस्तार गर्दै लगिनेछ । शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेका विद्यालयहरूलाई प्रोत्साहित गर्न अनुदानको नीति लिइनेछ ।

    ५. नगरभित्रका विद्यालयहरूमा इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषालगायतका विषयहरूमा कक्षा ८, ९ र १० मा अध्यापन सुरु गराइनेछ । साथै ती विषय लिएर उच्च शिक्षा हासिल गर्ने नगरबासी विद्यार्थीहरूको लागि दिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ ।

    ६. भक्तपुरलाई ज्ञान—विज्ञानको केन्द्रको रूपमा विकास गर्न नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा नयाँ विषयहरू थप गर्दै लगिनेछ । विद्यार्थीहरूका माग र चाहनालाई ध्यानमा राखेर आवश्यकताअनुसार नयाँ कलेजहरू स्थापना गर्न पहल गरिनेछ ।

    ७. नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई दिँदै आएको छात्रवृत्तिमा समयअनुकूल वृद्धि गर्दै लगिनेछ र नगरपालिकाले प्राविधिक शिक्षालयहरू स्थापनामा जोड दिनेछ ।

    ८. कुनै पनि नगरबासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिँदै समयानुकूल ऋण रकमको सीमा बृद्धि गरिनेछ ।

    ९. विद्यालयहरूको शैक्षिक गुणस्तर विकासको लागि शिक्षा क्षेत्रका विज्ञहरूबाट नियमित अनुगमनको व्यवस्था गरी विद्यालयहरूमा आवश्यक सुधारहरू गरिनेछ ।

    १०. स्थानीय पाठ्यक्रमलाई अभैm प्रभावकारी बनाउन आवश्यक सन्दर्भसामग्रीहरूको व्यवस्था गर्दै स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूका लागि विशेष तालिमको व्यवस्था गरिनेछ ।

    ११. कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको व्यवस्थासँगै शैक्षिक क्यालेण्डरअनुसार विद्यालय सञ्चालन गरिनेछ । साथै एस.ई.ई. पूर्व परीक्षा लिने व्यवस्था मिलाइने छ । तोकिएको मापदण्डका आधारमा उत्कृष्ट ठहर भएका विद्यालय र विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ ।

    १२. पठन संस्कृतिको विकासको लागि वडा—वडामा स्थापित पुस्तकालयहरूका लागि आवश्यक सहयोग गरी नियमित सञ्चालनको व्यवस्था मिलाइनेछ । जनज्योति पुस्तकालयलाई इ–लाइब्रेरीको रूपमा विकास गरिनेछ ।

    १३. नगरपालिकाबाट सञ्चालित कलेजहरूको आयोजनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना गरिनेछ । ती कलेजहरूमार्फत विभिन्न विषयमा अध्ययन अनुसन्धानका साथै समय—समयमा शैक्षिक प्रदर्शनीहरूको आयोजना गरिनेछ ।

    १४. विद्यालयहरूमा स्काउटको तालिम दिइनेछ ।

    १५. गृहिणी महिलाहरू एवम् प्रौढ नगरबासीहरूका लागि निरन्तर शिक्षा सञ्चालन गरिनेछ । साथै विद्यालय र कलेज जीवन छुटेका नगरबासीहरूका लागि बिहान र साँझ कक्षा सञ्चालनको व्यवस्था गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...