भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना भएको छ । भक्तपुर नगरपालिका १ इवामुरा अस्पताल नजिकै सल्लाको रुख ढल्दा सडकमा गुडिरहेका एक यात्रुबाहक बस र मोटरसाइकल च्यापिएका छन् । प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । बिस्तृत विवरण आउन बाकी छ । घटना अपराह्न करिब १२ बजे भएको स्थानीयले जनाएका छन् । अपडेट : जिल्ला प्रहरी परिसरका डिएसपी राजु पाण्डेले दुर्घटनामा परी ३ जनाको निधन भएको पुष्टि गरेका छन् । अपराह्न करिब १२:१५ बजेको समयमा च्वङ्गा गणेश स्थित रहेको सडक छेउको सल्लाको रुख अचानक ढल्न जाँदा दुधपाटी कमलविनायक तर्फ गैरहेको बा. २ ख. ३५८४ नं. को बस र दुधपाटीबाट सल्लाघारी तर्फ आइरहेको बा. ६१ प. ३९७८ नं. स्कुटरलाई किची दुर्घटना हुँदा ३ जनाको ज्यान गएको उनले जानकारी गराए । च्यापिएको सवारी मोटरसाइकल नभई स्कुटर भएको उनको भनाइ छ । ज्यान गुमाउनेमा भक्तपुर न.पा. वडा नं. २ बस्ने बर्ष २५ को विशेष खर्बुजाको सनाखत हुन सकेपनि अन्य २ को पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । नामथर वतन नखुलेका अन्य २ जना मृतक पनि पुरुष नै रहेका छन् ।
दुर्घटनामा परी १५ जना घाइते भएका र उनीहरुको नजिकैको इवामुरा अस्पताल, भक्तपुर अस्पताल लगायत जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।