News Portal

  • भक्तपुरमा ट्राफिक चेकजाँचलाई व्यवस्थित बनाइएको छ : प्रमुख राजु कार्की

    भक्तपुर, २० साउन २०७९
    २९२० पटक
    raju karkiभक्तपुर, २० साउन २०७९

    सवारी दुर्घटना एक समस्याको रुपमा बिकराल बन्दै गएको छ । भक्तपुरमा गत आर्थिक वर्षमा मात्र ७ सय ४९ सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाउनुपरेको अवस्था छ । साउन यता मात्र २१ सवारी दुर्घटना भएका छन्, ३ को ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन महत्वपूर्ण पाटोको रुपमा रहने गर्दछ । भक्तपुरमा ट्राफिक व्यवस्थापनको जिम्मा जिल्ला ट्राफिक कार्यालयले पाएको छ । ट्राफिक ब्यवस्थापनको बारेमा जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक राजु कार्कीसंग भक्तपुर पोष्टका लागि रचना बयलकोटीले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

    भक्तपुरका ग्रामिण क्षेत्रमा तीब्र गतिमा सवारी चलाउने र शहरी क्षेत्रमा जथाभावी पार्किङ् गर्ने समस्या देखिन्छ । त्यसको समाधानका लागि के कस्ता प्रयास गरिएका छन ?

    सडक सुरक्षा एउटा सामाजिक क्षेत्र, सुरक्षा, विकास र जनस्वास्थ्यसँग सम्बद्ध विषय पनि हो । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आवश्यक पहल गरिरहेकै छ । कतिपय स्थानमा उपयुक्त खुला ठाउँको अभावमा पार्किङ् व्यवस्थापनमा समस्या देखिएको साचो हो । स्थानीय सरकार, सामाजिक संघसस्था एवं क्लबहरुसंग समन्वय तथा सहकार्य गरी हामी शहरी क्षेत्रमा पार्किङ् समस्या समाधान गर्न प्रयासरत छौं । ग्रामिण क्षेत्रमा तीब्र गतिमा सवारी चलाउदा दुर्घटना जोखिम बढेको प्रति पनि हामी सचेत छौं । पर्याप्त जनशक्ति नहुँदा हामीले सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गर्न नसकेपनि सिसी क्यामेरा निगरानी, स्वयंसेवक परिचालन, छड्के चेकजाँच र सचेतना मार्फत ग्रामिण बस्तीमा पनि ट्राफिक प्रहरीको पहुँच बिस्तारको योजना बनाइरहेका छौं ।

    ट्राफिक व्यवस्थापनको दृष्टिकोणले उपत्यकामा भक्तपुरको अवस्था कस्तो छ ?
    तुलनात्मक रुपमा काठमाडौं र ललितपुरमा भन्दा भक्तपुरमा ट्राफिक व्यवस्थापनको अवस्था सन्तोषजनक मान्न सकिन्छ । भक्तपुरमा काठमाडौं र ललितपुरमा भन्दा सवारी चाप पनि कम भएकाले ट्राफिक व्यवस्थापनमा सहज हुने नै भयो । तर, अरनिको हाइवे र बिपी हाइवेको प्रेसर पर्ने हुँदा भक्तपुरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण पनि रहिआएको छ ।

    ट्राफिक चेकजाँचलाई कसरी व्यवस्थित बनाइएको छ ?
    ट्राफिक व्यवस्थापनका लागि चोकचोकमा प्रहरी परिचालन गरिएको छ । मापसे चेकजाँचलाई पनि कडाइका साथ लागु गरिएको छ । त्यसैगरी राडार गनको प्रयोग गरी सवारीको गति नाप्ने कार्यलाई निरन्तरता दिइएको छ । बिना लाइसेन्स सवारी चलाउन निरुत्साहन हुनेगरी चेकजाँचमा कडाइ गरिएको छ । सवारी दुर्घटना न्युनीकरणमा सहयोग पुग्नेगरी हामीले चेकजाँचलाई व्यवस्थित बनाएका छौं ।

    स्थानीयले चेकजाँचलाई ट्राफिक प्रहरीको दु:ख दिने मेलोको रुपमा बुझ्दै आएका छन् । चेकजाँच यात्रु मैत्री किन बन्न नसकेको हो ?
    विकसित राष्ट्रहरूमा ट्राफिक नियमकानुनमा कडाइ हुँदा मानिसहरु नियमपालना प्रति सचेत छन् । सडकमा ट्राफिक नागरिककै सुरक्षाका लागि खटेका हुन् भन्ने बोध नहुँदा सम्म ट्राफिक बाट उम्किने उपाय खोज्ने प्रवृत्ती रहिरहन्छ । भक्तपुरमा सडक दुर्घटना र सवारी चोरी रोक्न चेकजाँच लाई कडा गर्नुको बिकल्प छैन । कतिपय अवस्थामा स्थानीय टोलमा हिड्नेलाई पनि कागजपत्र नबोक्दा र जात्रा पर्व लगायतमा मापसे गरेर सवारी चलाउँदा स्थानीयलाई रोक्नु परेको छ । तर, यो दु:ख दिने काम नभई प्रहरीको ड्युटी भएको कुरा बुझाउन नसक्नु हामी सबैको कमजोरी हो जस्तो लाग्छ । आफू सहि भएपनि सडकमा कुनै ट्राफिक प्रहरीले अनावश्यक दुख दिएको भए म ट्राफिक कार्यालयमा खबर गरिदिन समेत सरोकारवाला सबैमा अनुरोध गर्दछु ।

    भक्तपुरमा सवारी दुर्घटनाको प्रमुख कारण के रहेको देखिन्छ ?
    तीब्र गति, मापसे गरेर सवारी चलाउनु, कम उमेरमा सवारी चलाउनु, ट्राफिक नियमबारे जानकार नहुनु र जानकार भएकाले पनि लापरवाही गर्नाले सवारी दुर्घटना भएको देखिन्छ । केही अप्रत्यासित दुर्घटना पनि भएका छन् । केहि दिन अघि रुख ढल्दा एक स्कुटी चालक र बसमा सवार २ यात्रुको ज्यान नै गएको अवस्था पनि छ । यसले हामीलाई थप सचेत बनाएको छ ।

    भक्तपुरका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट नचल्दा पनि दुर्घटना भएको स्थानियले गुनासोे गरेका छन् नि !
    हो, यसले सवारी दुर्घटनाको जोखिम बढाएको छ । भक्तपुरको सल्लाघारीमा एक महिनादेखि नै ट्राफिक लाइट बन्द भएको थियो । अहिले सुचारु भएको अवस्था छ । प्राविधिक समस्याका कारण कतिपय ट्राफिक लाइट नचल्दा हामीले प्रहरी परिचालन गरी आवागमनमा सहजीकरण गरेका छौं । ट्राफिक लाइटमै पनि सवारी ठोक्किने र दुर्घटना हुने गरेको देखिन्छ । मूख्य समस्या तीब्र गति र लापरवाही नै हो भन्ने लाग्छ ।

    तपाईको बिचारमा सडक दुर्घटना रोक्न कुन उपाय प्रभावकारी हुन्छ ?
    सडक संरचना र ट्राफिक जनशक्ति विस्तारको सीमितता हुने भएकोले नयाँ बन्ने र भएका सडकमा प्रविधिको अधिकतम प्रयोग, चालकलाई बढी दक्ष एवं जिम्मेवार बनाउने, जनचेतना बढाउने र समयानुकूल ऐन कानुनको परिमार्जनमा विशेष जोड दिएमा पनि सडक दुर्घटना कम गर्न सकिन्छ । यसका लागि प्रहरी र जनप्रतिनिधि मात्र नभई सर्वसाधारण आफै समेत जिम्मेवार र सचेत बन्न आवश्यक छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...