नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनमा केन्द्रीय सदस्य निर्वाचित भक्तपुरका पत्रकार पेशल आचार्य सम्मानित भएका छन् । उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।
पहिलोपटक भक्तपुरको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित आचार्यलाई जिल्ला पार्टीको तर्फबाट बधाई दिदै सभापति थापाले बिचार बिनाको पत्रकार हुन नसक्ने बताए । लोकतन्त्रको रक्षा र जनताको हित प्रवर्द्धनमा पत्रकारले खबरदारी गरिराख्नुपर्ने भन्दै उनले प्रेस युनियनले त्यसको नेतृत्व गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा भक्तपुर कांग्रेसका नेताहरु त्यसैगरी पत्रकार रमेश खड्का र पुष्करराज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । पार्टीको सहि बिचार प्रवाह गर्ने बलियो सस्थाको रुपमा प्रेस युनियन रहेको र पार्टी निकट पत्रकारलाई पार्टीले सम्झिनु स्वागतयोग्य भएको प्रेस युनियनका भक्तपुर अध्यक्ष रोशन सिल्पकारले प्रतिक्रिया दिएका छन् ।
उक्त अवसरमा सम्मानित पत्रकार पेशल आचार्यले लोकतन्त्रको मूल मर्मलाई आत्मसात गर्दै जनताको पक्षमा कलम चलाइरहने प्रतिवद्धता प्रकट गरेका थिए । हेटौंडामा गत साउन ६ र ७ गते सम्पन्न भएको प्रेस युनियनको नवौं महाधिवेशनबाट आचार्य केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अध्यक्ष अनिता बिन्दुको प्यानलले पराजय ब्यहोर्नुपर्दा सोही प्यानलबाट निर्वाचित हुने आधा दर्जन उम्मेदवारमा आचार्यले आफ्नो नाम दर्ज गराउन सफल भएका थिए । गठ्ठाघर निवासी पत्रकार आचार्य नेपाल अर्थ अनलाइनमा आवद्ध रही क्रियाशील पत्रकारिता गरिरहेका छन् ।