News Portal

  • चाँगुनारायण र नगरकोटलाई पर्यटकीय गन्तब्य स्थल घोषणा गर्न पत्रकार महासंघको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असोज २०७९
    ५३० पटक
    fnj centerभक्तपुर, ६ असोज २०७९

    नेपाल पत्रकार महासंघले १४ बुँदे नगरकोट घोषणा पत्र जारी गरेको छ । नगरकोटमा दुई दिनदेखि बसेको महासंघ केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १४ बुँदे नगरकोट घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

    महासंघद्वारा जारी नगरकोट घोषणापत्रमा भक्तपुरको चाँगुनारायण र नगरकोटलाई पर्यटकीय गन्तब्य स्थलको रुपमा घोषणा गर्न सरकार संग माग गरिएको छ । १४ बुँदे घोषणा पत्रको अन्तिम बुँदामा महासंघले भक्तपुरको समस्या समेटेको महासचिव रोशन पुरीले पुष्टि गरेका छन् । सोही बुँदामा वर्षौ देखि निर्माण सम्पन्न हुन नसकेको कमलविनायक देखि नगरकोट जोड्ने सडक यथाशिघ्र निर्माण सम्पन्न गर्न समेत सरकारसंग माग गरिएको महासचिव पुरीले पुष्टि गरे ।

    आफ्नो पूर्ण बैठकका लागि नगरकोट आएको केन्द्रीय कार्यसमितिलाई बुधवार चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले नगरकोटमा स्वागत गर्दै नगरपालिका र नगरकोटको समस्या सुनाएका थिए । प्रमुख खत्रीले महासंघलाई समस्या समाधानमा सहयोग पुर्याइदिन पनि आग्रह गरेका थिए । उक्त स्वागत एवं साक्षात्कार कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुरले गरेको थियो ।

    उक्त अवसरमा जिल्लाका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकार र सचिव संजीप घिमिरे शुभचिन्तकले समेत कमलविनायक नगरकोट सडक निर्माण सम्पन्न गर्न महासंघले दबाब दिनुपर्ने धारणा व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिले घोषणा पत्रमै समावेश गरेपछि राज्यले त्यसको सुनुवाई गर्ने सचिव शुभचिन्तकले विश्वास व्यक्त गरे । उनले केन्द्रीय कार्यसमितिको बैठकलाई शाखाले अवसरको रुपमा सदुपयोग गरी जिल्लाको पर्यटन प्रबर्दनमा महत्वपूर्ण निर्णय गराउन सफल भएको जिकिर गरेका छन् ।

    नगरकोट घोषणा पत्रको पहिलो बुँदामा भने राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधानको उल्लङ्घन भएको ठहर गर्दै संविधानको दायरामा रही यसको समाधान निकाल्न सरोकारवालालाई ध्यानाकर्षण गराइएको छ । त्यस्तै दोश्रो बुँदामा मिडिया काउन्सिल बिधेयक जारी नभएकोप्रति दुख व्यक्त गरेको छ भने तेस्रो बुँदामा निर्वाचनका लागि राजनीतिक दलले प्रस्तुत गर्ने घोषणा पत्रमा सबै राजनीतिक दलले प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता प्रकट गर्न र निर्वाचित भएपछि त्यसको पालना गर्न माग गरिएको छ ।

    अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा सम्पन्न छैठौं पूर्ण बैठकमा सल्लाहकार एवं निवर्तमान अध्यक्ष गोबिन्द आचार्य त्यसैगरी अर्का सल्लाहकार एवं पूर्व अध्यक्ष डा महेन्द्र बिष्ट समेत सहभागी भएका थिए । उक्त बैठकको घोषणा पत्र निर्माणको संयोजन भने सचिव नारायण किलम्बुले गरेका घोषणा पत्र निर्माण कार्यदलका सदस्य प्रकास धौलाकोटीले जानकारी गराए ।

    २०७९ असोज ५ र ६ गते भक्तपुरको नगरकोटमा सम्पन्न केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले नगरकोट घोषणापत्र जारी गरेको हो ।

     हेर्नुस् १४ बुँदे नगरकोट घोषणापत्र

    १. सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि प्रस्तुत नागरिकता विधेयक प्रमाणीकरण नगरेको घटनाप्रति बैठकको ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभा र राष्टियसभाले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संविधानको धारा ११३(४) को व्यवस्था उल्लंघन भएको महासंघको ठहर छ । उक्त घटनापछि राजनीतिक वृत्तमा उच्च तहबाटसमेत प्रतिक्रियात्मक टिप्पणीहरू आइरहेकोप्रति समेत महासंघको ध्यानाकर्षण भएको छ । पदीय मर्यादा बाहिर गएर भएका घटनाक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यलाई क्षति पु¥याउनेतर्फ सचेत रहँदै संविधान भित्रै रहेर समस्यालाई सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदछ ।

    २. प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुँदासमेत नेपाल मिडिया काउन्सिल विधेयक जारी नहुनु दुःखद छ । सरोकारवालाको सहमति समेतमा महासंघका सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउने सहमति कार्यान्वयन नगरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । तर, संशोधनसहित विधेयक पारित हुन लागेकोमा विधेयकलाई टार्ने गरी भएको प्रयासप्रति यो बैठक खेद व्यक्त गर्दछ ।

    ३.प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलले जारी गर्ने घोषणापत्र÷प्रतिवद्धतापत्र निर्माणमा लागेका सबै राजनीतिक दललाई प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता व्यक्त गर्न र निर्वाचित भएपछि पनि सोहीअनुसारको व्यवहार गर्न तथा नीति निर्माणका लागि माग गर्दछ ।

    ४. श्रमजीवी पत्रकार ऐन र ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका लागि नेपाल पत्रकार महासंघले दशकौँदेखि संघर्ष गर्दै आइरहेको छ । तर, श्रम समस्या थपिनेक्रम रोकिएको छैन । पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्तासमेत नपाउनेलगायतका गुनासो आइरहेका छन् । महासंघको यो बैठक सम्बन्धित सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दछ ।

    ५.आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता दुवैको पालना गर्नु सबैको कर्तव्य हो । तर, पत्रकारहरूको हकमा पत्रकार आचारसंहिता आधारभूत हो । गत निर्वाचनमा निर्वाचन आयोगले समाचारका विषयमा टिप्पणी गर्ने र कारवाहीको धम्कीसमेत दिएको स्मरण गर्दै महासंघको यो बैठक समाचारका विषयमा आयोगको प्रवेशप्रति आपत्ति प्रकट गर्दछ । साथै, आगामी निर्वाचनमा त्यस्तो हुन नदिन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

    ६. निर्वाचनको समयमा पत्रकारहरूले विभिन्न उल्झनहरू झेल्नुपरेको गुनासो छ । पत्रकारहरूलाई सहज रूपमा समाचार सम्प्रेषण गर्ने वातावरणका लागि महासंघ आग्रह गर्दछ । साथै, निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महासंघ निर्वाचन आयोग, सरकार र सबै राजनीतिक दललाई अपिल गर्दछ ।

    ७.प्रविधिको विकास र न्यू मिडियाको बढ्दो प्रभावमा पत्रकार आचारसंहिताको विषय थप संवेदनशील बन्दै गइरहेको छ । त्यसकारण हामी स्वयम्ले बनाएको आचारसंहितालाई हामी स्वयम्ले प्रवद्र्धन र संशोधन गर्ने नीति लिएर महासंघ ‘हाम्रो लागि, हाम्रो आचारसंंहिता अभियान’ थाल्न हरेक प्रदेश र जिल्ला शाखालाई आव्हान गर्दछ ।

    ८.महासंघको विधानअनुसार नयाँ सदस्यताको आवेदन र नवीकरणको लागि प्रदेश समितिमार्फत प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । साथै, बैठकले केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी पुस ८ र ९ गर्ने गरी, प्रदेशको साधारणसभा मंसिर १५ देखि पुस १ सम्म र शाखाको साधारणसभा असोज ६ देखि कात्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

    ९.साना तथा स्वरोजगार सञ्चार माध्यमलाई आन्तरिक राजश्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएको नीतिप्रति महासंघको ध्यानाकर्षण भएको छ । यो बैठक सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गर्दछ ।

    १०. विज्ञापन बोर्डले विभिन्न कानूनी उल्झनको बहाना बनाएर भुक्तानी रोक्नेसहितका विषयमा बोर्डका पदाधिकारीहरूलाई महासंघमार्फत पटकपटक ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ भएको छैन । यो बैठक साना तथा स्वरोजगारमूलक मिडियालाईसमेत सहज रूपमा विज्ञापन उपलब्ध गराउने वातावरण मिलाउन बोर्डसँग आग्रह गर्दछ ।

    ११.महासंघ सञ्चार माध्यममा मातृभाषामा पत्रकारिता गर्नेलाई सरकारले प्रोत्साहनको व्यवस्था गर्न आग्रह गर्दछ ।

    १२. राससलगायतका सरकारी संचारमाध्यममा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गर्नथालेकोप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारलाई निष्कासन गर्ने कार्य नगर्न महासंघ सबै सञ्चारमाध्यमलाई आग्रह गर्दछ ।

    १३.रुस र युक्रेनबीचको युद्धमा परी ३५ जना पत्रकारको मृत्यु भएको छ । कार्यक्षेत्रमा मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धरत पक्षसँग सञ्चार क्षेत्रमा सत्यतथ्य कुरा बाहिर ल्याउने वातावरण तयार गर्न र युद्धको अन्तर्राष्ट्रिय नियमको पालना गर्नका लागि आग्रह गर्दछ ।

    १४.काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय स्थलको रूपमा भक्तपुर जिल्लाको चाँगुनारायण र नगरकोटलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा घोषणा गर्न सरकारसँग माग गर्दछ । यहाँसम्म पुग्ने पर्यटकीय मार्ग कमलविनायक–नगरकोट सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न यो बैठक सरकारसँग माग गर्दछ ।
    रोसन पुरी
    महासचिव

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...