News Portal

  • कहिले प्रसारण हुन्छ एपी वान टेलिभिजनमा दुई पटक रोकिएको राष्ट्रपतिको अन्तर्वार्ता?

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ मंसिर २०७९
    ४१८ पटक
    भक्तपुर, १४ मंसिर २०७९

    राष्ट्रपति विद्यादेवी भण्डारीले एपी वान टेलिभिजनका लागि दिएको अन्तर्वार्ताको प्रसारण दुई सातासम्म रोकिएको छ ।

    टेलिभिजनका प्रधान सम्पादक तथा कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’का प्रस्तोता टीकाराम यात्रीसँगको अन्तर्वार्ताको प्रसारण दुई पटक रोकिएको हो ।

    प्रस्तोता यात्रीले मंसिर २ गते दुई वटा प्रोमो फेसबुकमा सार्वजनिक गर्दै त्यही दिन राती ९ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी गराएका थिए ।

    प्रोमो सार्वजनिक भएलगत्तै मौन अवधिमा राष्ट्रपतिको अन्तर्वार्ता प्रसारण वाञ्छनीय नहुने सुझाव प्राप्त भएपछि शुक्रबारका लागि तय भएको प्रसारण स्थगित गरिएको विषय प्रस्तोता यात्रीले फेसबुकमार्फत सार्वजनिक गरे ।

    ‘हामीले प्रोमो सार्वजनिक गरेलगत्तै निर्वाचन आयोग एवं विभिन्न दलका शीर्ष नेतृत्व तहबाट यसबारे चासो व्यक्त भएको र निर्वाचन अवधिको स्थिर समयमा राष्ट्रपति ज्यूको अन्तर्वार्ता प्रशारण वाञ्छनीय नहुने सुझाव हामीलाई प्राप्त भएका कारण उक्त अन्तर्वार्ता निर्वाचनको मतदानपछि आइतबार राति मात्र प्रसारण गरिने जानकारी गराउदछौं,’ यात्रीले लेखेका थिए ।

    यात्रीले भनेबमोजिम उक्त अन्तर्वार्ता मंसिर ४ गते राती प्रसारण हुनुपर्ने थियो । तर हालसम्म पनि उक्त अन्तर्वार्ता प्रसारण भएको छैन । राष्ट्रपतिको अन्तर्वार्ता दुई पटक रोकिएर अहिलेसम्म प्रसारण नहुनुको कारणबारे सेतोपाटीले यात्रीसँग जिज्ञासा राखेको थियो ।

    निर्वाचन आयोगको ध्यानाकर्षणपछि प्रसारण रोकिएको र निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको दिन अन्तर्वार्ता प्रसारण हुने जवाफ दिए ।

    ‘निर्वाचन आयोगले ध्यानाकर्षण गराएपछि हामीले प्रसारण स्थगित गर्‍यौं । निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएका दिन अन्तर्वार्ता प्रसारण गर्छौं,’ उनले भने ।

    निर्वाचन आयोगले भने राष्ट्रपतिको अन्तर्वार्ता प्रसारण स्थगन गर्नका निम्ति एपी वान टेलिभिजनलाई कुनै पनि ध्यानाकर्षण नगराएको जवाफ दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले सेतोपाटीसंग भने, ‘राष्ट्रपतिको अन्तर्वार्ता प्रसारणमा आयोगले ध्यानाकर्षण गराएको भए मलाई जानकारी हुने थियो । यो विषय मेरो जानकारीमा नै छैन ।’

    राष्ट्रपति कार्यालयले पनि अन्तर्वार्ता के कति कारणले रोकिएको हो भन्ने प्रष्ट जानकारी प्राप्त नभएको बताएको छ ।

    ‘अन्तर्वार्ताको प्रोमो पनि सार्वजनिक भयो तर प्रसारण रोकियो । हामीलाई निर्वाचन आयोगको ध्यानाकर्षणका कारण भनिएको थियो । हामीले आयोगमा बुझ्दा त्यस्तो पाएनौं । के कति कारणले रोकिएको प्रष्ट जानकारी प्राप्त भएको छैन,’ राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सेतोपाटीसँग भने ।

    यात्रीले सार्वजनिक गरेको प्रोमोमा राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन सक्ने सम्भावनालाई नकार्न नसकिने खुलासा गरेकी थिइन् भने दासढुंगा प्रकरणबारे पनि चर्चा गरेकी थिइन् ।

    सेतोपाटीबाट साभार ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...