News Portal

  • सार्वजनिक स्थलमा चाँगुनारायणको पहिलो सार्वजनिक सुनुवाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१ पुस २०७९
    ९१९ पटक
    भक्तपुर,१ पुस २०७९

    जनप्रतिनिधिले जनताको कुरा नसुन्ने र आफ्नै मनोमानीमा रमाउने आरोप लागिरहँदा चाँगुनारायण नगरपालिकाले भने आफ्नो सेवाबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । पहिलो पटक सार्वजनिक स्थानमा सभाको आयोजना गरी चाँगुनारायण नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

    स्थानीय सरकारको रुपमा रहेको चाँगुनारायण नगरपालिकाले बिहीवार वडा नम्बर १ दुवाकोटमा सार्वजनिक सुनुवाई मात्र गरेन । ३ घण्टा बढी समय नगरप्रमुख जीवन खत्रीले स्थानीयको अपेक्षा र सुझाव संकलन समेत गरे । भक्तपुरको कान्छो नगरपालिकाको रुपमा रहेको चाँगुनारायण नगरपालिकाले जनताप्रति उत्तरदायी बन्दै जनताको जिज्ञासाको सामना गर्ने सामर्थ्य देखाएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगत प्रजापतिले नगर नेतृत्वको प्रशंशा समेत गरे । कोठाचोटामा आफ्ना समर्थक मात्र राखेर सार्वजनिक सुनुवाइको नाटक मन्चन गर्ने प्रवित्ति विरुद्ध सार्वासाधरणको सहज पहुँच रहेको सार्वजनिक स्थानमा सार्वजनिक सुनुवाई गरेर नगरपालिकाले आलोचनालाई स्वीकार गर्ने सकारात्मक सस्कार शुरु गरेको भन्दै महासंघले यसको निरन्तरताको लागि समेत शुभकामना दिएको छ ।

    उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ भक्तपुरको तर्फबाट सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ ले गरेका थिए । कार्यक्रममा महासंघले १ हप्ता लगाएर सेवाग्राही र सरोकारवालासंगको स्थलगत कुराकानीको आधारमा तयार पारेको सेवाग्राही बहिर्गमन अभिमत सन्तुष्टि र नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । सचिव शुभचिन्तकले सर्वेक्षणबाट प्राप्त नतिजाले सेवाग्राहीमा सेवा प्राप्तीबारे थप चेतना जागृत हुने र नगरपालिकाले आफ्नो योजना र नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उदेश्य रहेको स्पष्ट पारेका थिए ।

    उक्त अवसरमा सार्वजनिक सुनुवाईमा सहभागी भएका करिब २ सय स्थानीय मध्ये १६ जनाले नगरपालिकाको सेवाबारे जिज्ञासा एवं सुझाव प्रस्तुत गरेका थिए । नागरिक अगुवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले उत्साहपूर्वक सक्रिय सहभागिता जनाएका देखिन्थे। कार्यक्रममा माधवप्रसाद न्यौपाने, तुलसीलाल बासुकला, सूर्यकान्त दाहाल, जनार्दन केसी,केशव खनाल,परशुराम खनाल,गणेश पौडेल,लीलामाया पौडेल,चक्रधरानंद राजोपाध्याय,हिम्मत सिंह नेपाली,प्रेमबहादुर भुजु,दिल कुमार बाला,अनिता नेउपाने,ह्दय खड्का र रितेश खड्काले सार्वजनिक चासोको विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका थिए ।

    उक्त अवसरमा नेपाली कांग्रेसका नगर सभापति शिवहरी केसी, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष नरेश खड्का र नेकपा(एमाले)का नगर उपाध्यक्ष जयराम बास्तोला लगायतले पनि नगरको कामकारवाहीप्रति टिप्पणी गर्दै जनपक्षीय काममा पार्टीको सदैव सहयोग र खबरदारी रहने प्रतिवद्धता प्रकट गरेका थिए ।

    जिज्ञासाहरुको जवाफ दिंदै प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदीले सामुदायिक विद्यालयको स्तरउन्नती, स्वास्थ्य सेवाको सुदृढीकरण र कृषी क्षेत्रलाई उकास्ने योजना बनाउने विश्वास दिलाएका थिए । उनले विषयगत उठेका समस्यालाई समाधान गर्न उपस्थित नगरपालिकाका शाखा प्रमुखहरुलाई निर्देशन समेत दिए ।

    त्यसैगरी नगर प्रमुख जीवन खत्रीले दुवाकोटमा वीर अस्पताल यथाशीघ्र स्थानान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रत्यक्ष भेटेर अवगत गराएको जानकारी गराउदै यस विषयमा नगरपालिका गम्भीरतापूर्वक लागिरहेको बताए । उनले झौखेलमा मानव अंग प्रत्यारोपण केन्द्र सार्न पहल भैरहेको जानकारी गराए । साथै नगरमा क्यान्सर र मृगौलाका बिरामी अनपेक्षित किसिमले बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्यलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर नगरबासीका सबैखाले स्वास्थ्य समस्याको समाधान गर्न विशेष योजना ल्याइने समेत बताए ।

    चाँगुनारायण नगरपालिका मातहत भनिएको नेपाल इञ्जिनियरिङ्ग कलेज सस्थागत रुपमा नगरपालिका मातहत नदेखिएको खुलासा गर्दै यसलाई कानुनीरुपले दीर्घकालीन हिसाबले नगरपालिका मातहत ल्याउन आफू प्रयासरत रहेको प्रमुख खत्रीले प्रष्ट पारे । यस्तैगरी नगरका कुनै पनि स्थानमा नगरपालिकाले माटो सम्याउन तथा डोजर लगाउन रोक लगाएको उनले जिकिर गरे । जग्गा बिग्रेकालाई सम्याउन तथा खेती योग्य बनाउन सर्वपक्षीय छलफलमा आफू लागेको समेत जानकारी गराउदै जमिन भासिने र पहिरोको जोखिममा रहेको नगरपालिकालाई सबै मिलेर सम्भावित बिपद बिरुद्धयोजना कार्यान्वयन गर्नुपर्ने आवस्यकता औल्याए । यस्तै उनले यातायातलाई सबैको पहुँचमा पुर्याइने जिकिर गरे । कृषी,ब्यापार र पर्यटनमा प्राथमिकतापूर्वक लगानी गर्दै आत्मनिर्भरता तर्फ अघि बढ्ने योजना बताए । नगर प्रमुख खत्रीले सबैको साथ लिएर समृद्ध चाँगुनारायणको सपना साकार पार्ने प्रतिवद्धता प्रकट गरे । नगरप्रमुख खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहजीकरण नगरपालिकाकी अधिकृत निला घिमिरेले गरेकी थिइन् । सार्वजनिक सुनुवाईमा नगरपालिकाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु एवं कर्मचारीहरु समेत उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...