News Portal

  • पत्रकार महासंघ स्थापना दिवसमा भक्तपुरका सांसद सम्मानित, ४ पत्रकार पुरस्कृत

    भक्तपुर, २३ पुस २०७९
    ५०९ पटक
    भक्तपुर, २३ पुस २०७९

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई सम्मान र चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिवार कौसल्टारस्थित ह्वाइट प्यालेसमा आयोजित कार्यक्रममा शाखाले भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र बागमती प्रदेश सभा सदस्यहरुलाई सम्मान गर्नुका साथै प्रत्येक वर्ष प्रदान गर्दै आएको विविध पुरस्कारबाट यसबर्ष चार जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुने पत्रकारहरुमा वरिष्ठ पत्रकार प्रविणराज जोशी, भरतबन्धु थापा, कविता थापा र नविना खर्बुजा श्रेष्ठ रहेका छन् । शाखाले पत्रकार जोशीलाई अग्रज पत्रकार सम्मान–२०७९ द्धारा पुरस्कृत गरेको छ । विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल जोशीलाई नगद ५ हजारसहित उक्त पुरस्कार प्रदान गरिएको हो । उनी स्टार एक्सप्रेस साप्ताहिकका सम्पादक हुन् । त्यसैगरी दुई दशकदेखि मुलधारको मिडियामा रही हाल अनलाइन खबरमा आवद्ध रहेका पत्रकार भरतबन्धु थापालाई स्व. भगवान–राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । यो पुरस्कारको राशी नगद रु १० हजार रहेको छ । शाखाले यसवर्षको स्व. मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार भने भादगाउँ टेलिभिजनकी पत्रकार नविना खबुर्जा श्रेष्ठलाई प्रदान गरेको छ ।

    यसैगरी शाखाले यसवर्षदेखि शुरु गरेको क्रियाशिल महिला पत्रकारिता पुरस्कार गोरखापत्रकी फोटो पत्रकार कविता थापालाई प्रदान गरेको छ । महिलालाई पत्रकारितामा प्रेरित र प्रोत्साहित गर्न यो पुरस्कार शुरु गरिएको सचिव संजीप घिमिरे शुभचिन्तकले जानकारी गराएका छन् । पुरस्कारको राशी रु २५ सय रहेको छ ।

    पुरस्कृत चारै जना पत्रकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रनिनिधि सभा एवं प्रदेश सभा सदस्यलाई पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्मानपत्र सहित सम्मान  तथा प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेका छन् । उक्त अवसरमा प्रतिनिधि सभा सदस्यद्वय दुर्लभ थापा र रमा कोइराला पौडेल त्यसैगरी प्रदेश सभा सदस्यहरु किरण थापामगर, सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ राजभन्डारी, देवेन्द्र श्रेष्ठ दिवाकर, भुवन केशरी श्रेष्ठ भावना र धनेश्वरी प्रजापति लगायतले महासंघले दिएको सम्मानलाई जिम्मेवारीको रुपमा लिई जनताको हित बिपरित कुनै कार्य नगर्ने प्रतिवद्धता प्रकट गरेका थिए । पार्टीको पूर्व निर्धारित कार्यक्रम र व्यक्तिगत व्यस्तताका कारण जिल्लाका थप ५ सांसद उपस्थित हुन नसकेका सचिव संजीप घिमिरे शुभचिन्तकले जानकारी गराएका छन् । भक्तपुरबाट यसपटक प्रतिनिधि सभा सदस्यमा ३ र प्रदेश सभामा ११ गरी १४ जना सांसद बन्न सफल भएका उनले जानकारी गराए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले राजनीति प्रति जनतामा बितृष्णा देखिनु दुखद पक्ष भएको बताए । राजनीतिलाई पदमा पुग्ने मात्र साधन ठान्ने र कमाइखाने भाडो बनाउनेले यसलाई बद्नाम गरेको उनले गुनासो समेत गरे । जनताका प्रतिनिधिले इमान्दारिता साथ् जनताको सेवा गरेमा मात्र राजनीति गर्नेहरुको शीर ठाडो हुने बताउदै उनले राजनीतिमा निष्ठा र इमान्दारिताको आवश्यकता औल्याए ।

    वर्तमान सरकार गठबन्धनप्रति इंकित गर्दै उनले पदका लागि गठबन्धन बन्ने र भत्किने कुराको भत्सर्ना गरे । आफ्नो पार्टी राजनीतिक स्थिरताको पक्षमा रहेको खुलासा गर्दै उनले पदका लागि रकार ढाल्न यताउता नगर्ने समेत प्रष्ट पारे । यद्यपी वर्तमान सरकार कमजोर धरातलमा बनेकोले यसको आयुबारे भन्न नसक्ने उनले टिप्पणी गरेका छन् ।”एउटा गठबन्धन अघि बढिरहेको थियो। त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्यो। यो गठबन्धन पनि कति दरिलो र टिकाउ छ भन्न सकिने अवस्था छैन ।”, उनले भने ।

    पत्रकारले देशको समस्याबारे जनतालाई बताइरहेको तर, यो संगै समस्या समाधानको बाटो समेत सुझाउन सक्नुपर्ने उनले सुझाव दिए । पत्रकारिता क्षेत्रलाई नेपाली जनताले असाध्यै बिश्वास गरेको बताउदै यसको पछिल्लो उदाहरण उपप्रधान एवं गृह मन्त्री बन्न सफल रवी लामिछाने भएका उनको भनाइ छ । पूर्व प्रधानमन्त्री एवं सांसद समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिवद्ध हुनुपर्ने समेत प्रष्ट पारे ।

    शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं राससका अध्यक्ष धर्मेन्द्र झा, केन्द्रीय सचिव गोविन्द चौलागाई, वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी, केन्द्रीय सदस्य द्वय ज्ञान प्रसाद पौडेल र शन्तराम बिडारी त्यसैगरी महासंघ उपत्यका प्रदेशकी उपाध्यक्ष रोजिना थापा, सचिव अमर भुजु, काठमाडौ अध्यक्ष सूर्य सुवेदी, ललितपुर अध्यक्ष सागर न्यौपाने र सचिव रामहरि कार्की लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै पत्रकारका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए । सचिव संजीप घिमिरे शुभचिन्तकले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष लिला श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...