News Portal

  • दिउँसोको टिकट बिहान सारेर पोखरा उडेका त्रिभुवन सधैँका लागि अस्ताए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ माघ २०७९
    ३१८ पटक
     भक्तपुर, ३ माघ २०७९

    प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौं आएका थिए। पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम थियो।

    प्रधानमन्त्रीको व्यस्तताका कारण आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए ।

    ‘आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवत: माघे सङ्क्रान्ति परिवारसँग मनाउने योजनापछि उहाँले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ,’ पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भने ।

    पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन । ‘आइतबार बिहान काठमाडौंबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ,’ बहिनीलाई सम्हालिरहेकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भनिन्, ‘सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ ।’

    यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा छन् भन्ने हेक्का थिएन । दिउँसोको टिकट काटेको भन्दै उनी श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा थिइन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमानकाे नाम देखेपछि भने उनको मनको शंका बढ्दै गएको थियो । पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शंका यथार्थमा बदलिदियो । दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुगेकी उनी बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लैजानु परेको थियो ।

    आइतबार साँझ ६:३० बजेसम्म उनलाई अस्पतालबाट घर फर्काइसकिएको थियो । कोठाका भित्ताभरी टाँगिएका श्रीमान्‌का तस्बिर हेर्दै उनी एकोहोरो रोइरहेकी थिइन् । टेबुल माथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमान्‌को तस्बिर हेरेर उनी निकैबेर रोइन् ।

    ‘कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नि, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको ?’ श्रीमान्‌को तस्बिरसँग उनले गुनासो गरिन् । उनका ती शब्दले वरिपरि बसिरहेका आफन्त, शुभचिन्तकको आँखा रसाइरहेको थियो ।

    ‘ज्वाइँ काठमाडौंमै भएकाले माघको ५/६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ,’ पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भनिन्, ‘माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो।’

    आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो । तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो । ‘मलाई त काठमाडौं गएको भन्ने पनि थाहा थिएन । म जाने बेलामा अघि लागेर आफैं गयो,’ रुँदै गरेकी पौडेलकी आमाले भनिन्, ‘कतै जाँदा सधैँभरी खबर गर्ने छोराले खोइ किन हो यसपाली गरेन ।’

    सानै उमेरदेखि पत्रकारितामा होमिएका पौडेल मिहेनती थिए । पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक) का अनुसार पौडेलले १५/१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गरेका थिए ।

    ‘मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो,’ प्रतीकले सुनाए, ‘माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो । मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ । त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिए ।’

    छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उनले बताए । आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उनले स्मरण गरे ।

    उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, महासंघ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए ।

    पौडेलले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए । २०७५ सालमा विवाह गरेका पौडेलका एक छोरा छन् ।

    पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेलले रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

    पौडेलको पार्थिव शरीर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उनको सम्झनामा नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस सेन्टर, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न संघसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । रासस

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...