News Portal

  • जनयुद्ध : एक संस्मरण

    रोहित दहालभक्तपुर, १ फागुन २०७९
    ८०३ पटक
    Rohit Dahalभक्तपुर, १ फागुन २०७९

    साँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला । म त्यतिबेला आई. ए. मा पढ्दै थिएँ र बिराटनगरको महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस जाने गर्थें ।

    “को छ घरमा ?” उनीहरुले बोलाए । म घरको भुइँतले कोठाबाट बाहिर निस्किएँ । एकजना गोरे गोरे अनुहारको अग्लो र अर्को कालो वर्णको अलि होचो मानिस थिए । उनीहरुले असल स्वभावको बिद्यार्थीको खोजी गर्दै आएको बताउँदै चितवनमा हुने एउटा कार्यक्रममा प्रतिनिधित्व गर्न जानुपर्ने आग्रह गरे । उनीहरुले मलाई पटक पटक तपाईं ईमान्दार र असल मानिस भएको हामीलाई सूचना प्राप्त भएको छ भन्ने गर्थे । मैले असमञ्ज मनले ‘सोचौंला’ भनें । उनीहरुले पनि भोलि बेलुकातिर बिराटनगर बसपार्क नजिकको दिपक दाहालको पुस्तक पसलमा भेटौं है भनेर बाटो लागे । म मनभित्र उत्तालिएको कुतुहलतालाई समेटदै कोठा भित्र छिरें । हिड्ने बेलामा मैले उनीहरुको नाम सोधेको थिएँ । गोरे अग्लो मानिसले “म ऋषि र वहाँ टंकजी हो ।” भनेका थिए ।

    भोलि बसपार्कमा हाम्रो फेरि भेट भयो । त्यहाँ उनीहरु दुबैले मलाई बर्तमान समाजको वस्तुस्थिति र यसलाई बदलेर आउने नयाँ समाजको विषयवस्तु बुझाउन खोजे । म कुराप्रति आकर्षित भएँ । उनीहरुले भनेको कुरा र बुवाले भन्नुभएको कुराहरुमा तादाम्यता देखियो ।
    सानो उमेरदेखि नै कार्ल माक्र्सको ठुलो फ्रेममा राखेको तस्वीर र बाकसमा राखेको लेनिन र माओको पोष्टकार्ड आकारको तस्वीर देखाएर बुवाले “उनीहरु गरिब जनताका नेता हुन ।” भनेको कुराका कारण पनि ती दुई जना कम्युनिष्ट हुन भन्नेमा म प्रष्ट थिएँ । पछि बल्ल वहाँहरुलाई मैले चिनेको थिएँ – एकजना डिग्री क्याम्पसमा प्राध्यापन गर्नुहुने ऋषिराज बराल र अर्को मिल्सएरियातिरको सरकारी स्कुलका शिक्षक टंक गिरी हुनुहुँदो रहेछ । यी दुईजना बौद्धिक व्यक्तिहरुको संगत नै नेपाली जनयुद्धसंगको मेरो पहिलो साहिनोे थियो ।

    छ्यालिस सालको आन्दोलनपछि मलाई कान्छा फुपाजुले बिपिको समाजवाद सम्बन्धी पुस्तिका र अरु प्रजातान्त्रिक समाजवाद सम्बन्धी किताबहरु दिनुभएकोले म त्यसको अध्ययन गर्ने गर्थें । कम्युनिष्ट पार्टीको नाममा नेकपा माले र मदन भण्डारीको प्रभाव बढ्दो थियो । मेरो विपितिर लगाव बढ्ने आशंका भएर हो कि कुन्नी बुवाले ‘समाजवाद त यस्तो पो हुन्छ’ भनेर कार्ल माक्र्सको द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सामान्य ज्ञान दिनुभयो । म यो कुराबाट खुब प्रभावित भएँ । बुवाले एकदिन बजार गएको बेला शहीद मैदानको पश्चिमतिर रहेको बाजेको पुस्तक पसलमा लगेर भिक्टर अफनासेवको ‘दर्शन शास्त्रको प्रारम्भिक ज्ञान’ भन्ने पुस्तक किनिदिनुभयो । यो पुस्तकले मेरो दार्शनिक सोचमा नै ठुलो फेरबदल ल्यायो । मेरो बुवा दुर्गा प्रसाद दाहाल झापा विद्रोह भन्दा अघिदेखि कम्युनिष्ट बिचारसंग रहेर मोरंगको ६ नम्बर बुधबारे र बिराटनगरकै पोखरियामा रहेर लामो संघर्ष र संगठन गर्दै नेकपा माले निकट रहनुभएको रहेछ । कुराकानीकै क्रममा बुवाले “सही कम्युनिष्टले संसदीय चुनावलाई मान्दैन, सही कम्युनिष्टले त सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्छ ।” भन्नुभयो । म झन आश्चर्यमा परें ।

    “नेपालमा मोहनविक्रम सिंह भन्ने मानिस छन्, उनले कसैले नदेख्ने गरी राजनीति गर्छन । मसाल नामको कम्युनिष्ट पार्टी हो उनको । बुवाको जाली तमसुक च्यातेर कम्युनिष्ट बनेका उनले हतियारयुक्त लडाईको तयारी गर्नुपर्छ भन्छन ।” बुवाले बताउनु भएको यो कुराले म त झन आश्चर्यमा परें अर्थात झन जिज्ञाशु भएँ ।

    बुवा त्यतिबेला अर्थात २०४७ सालतिर लहान प्राविधिक शिक्षालयमा हुनुहुन्थ्यो । लहानमा बुवालाई भेट्न एकजना मण्डल थरका मानिस आइरहँदा रहेछन । उनी नेकपा(मशाल)का कार्यकर्ता रहेछन । बुवालाई पुरानो कम्युनिष्ट भन्ने बुझेर उनी बुवासंग सम्पर्कमा आउँदा रहेछन । बुवाले पनि उनलाई बेलाबेलामा थोरै खर्चवर्च पनि दिनुहुँदो रहेछ । म लहान गएको बेला क्वार्टरमा ’मशाल’ नामको पत्रिका, पुष्प दाहाल नामबाट लेखिएको पुस्तक, मोहन बैद्यको ‘माले समूहद्वारा माक्र्सवाद र क्रान्तिप्रति गम्भीर विश्वासघात’ नामको पुस्तक देख्थें अनि नबुझे पनि घोरिएर पढथें । मलाई लाग्छ, बुवाले नै ती मण्डललाई मेरो नाम, कलेज भन्नुभएको हुनुपर्छ र ती मण्डलको सूचनाबाट ऋषिराज बराल र टंक गिरी मसंग आईपुग्नु भएको हुनुपर्छ ।

    त्यसपछि बिराटनगरमा जनयुद्धको पक्षको राजनैतिक वातावरण बनाउँन म क्रियाशील हुन थालें । मसँग मेरो माइली फुपूको छोरा कुमार ढकाल दाजु पनि सक्रियतापूर्वक लाग्नुभयो । २०४८ सालतिर नयाँ जनवादी मन्च गठन भएको रहेछ । त्यसैको सिलसिलामा बिराटनगरमा कमरेड सि.पि. गजुरेल आउनुभएको थियो । म, कुमार दाजु, राजन निरौला, दिपक दाहाल लगायतका साथीहरु लागेर बिराटनगर ट्राफिक चोकको उत्तरतिरको बाटो नै छेकेर मन्च बनाई कार्यक्रम ग¥यौं । यसले पूर्वमा जनयुद्धको प्रारम्भिक प्रचारलाई मद्दत गरेको थियो भन्ने मेरो बुझाई हो । त्यही क्रमममा सि.पि. गजुरेलसँग कुराकानी गर्दा त वहाँले “तपाईँ दुर्गाजीको छोरा पो हो ? खै ! वहाँ कता हुनुहुन्छ ? भेट गर्नुप¥यो भन्नुभएको थियो ।” बुवासँग वहाँको राम्रो चिनजान भएको थाहा भएपछि मनोबैज्ञानिक रुपले म सि.पि. गजुरेलले लिनुभएको राजनैतिक लाइनतर्फ झन आकर्षित हुनपुगें अर्थात नेकपा (मशाल)को राजनीतिमा संलग्न हुनपुगें ।
    असारे काकासँगको संगत

    एकदिन डा. ऋषिराज बरालले मुनालपथ घरमा असारे काकालाई लिएर आउनुभयो । वहाँ पूर्वतिर नै पार्टी काममा खटिनुभएको रहेछ । त्यसपछि त असारे काका पटक पटक हाम्रोमा रात बस्ने गरी आउन थाल्नुभयो र मेरो चेतनालाई नयाँ जनवादी गणतन्त्र तर्फ तिखार्न खुब मेहनत गर्न थाल्नुभयो ।

    “काका, काठमाण्डौमा रहेको राजतन्त्र ढाल्न गाउँ गाउँमा संघर्ष गर्नुभन्दा शहरमै विद्रोह गर्दा हुन्न र ?” मैले प्रश्न गरेको थिएँ ।
    “हेर, रोहित बाबु ! तिमीले गरेको प्रश्न निर्मल लामाजीको लाइन हो । राजतन्त्रको जराहरु गाउँगाउँसम्म पुगेका छन् । गाउँका साना सामन्ती, जमिन्दारहरुले राजतन्त्रको जरा बनेर उसलाई टिकाइरहेका हुन्छन् । गाउँगाउँबाट सामन्तवादका जराहरु काट्दै गयो भने राजतन्त्र भन्ने रुख त आफैं गर्लम्म ढलिहाल्छ नि । सामन्तवादको जरा काट्ने भनेको सामन्तहरुलाई मार्नु नै पर्छ भन्ने हैन तर सुध्रन नसक्ने अनि क्रान्तिकारीहरुलाई मार्न षडयन्त्र गर्ने सामन्तहरु मारिन पनि सक्छन् ।” वहाँले यसरी मलाई बर्ग संघर्षका रुपहरु सिकाउनुभयो ।
    “बाबु, खेत जोतिरहेको एउटा किसानले हलो विसाएर एकछिनका लागि बाहिर निस्कन्छ अनि दुश्मनका किल्लामा बम राखेर फेरि खेतमै फर्केर हलो जोत्न थाल्छ । हाम्रो लडाईँ त यस्तो हुन्छ । यसलाई नै छापामार युद्ध भन्छन्” वहाँले घरमा आएको बेला सुत्नुभन्दा अगाडि मलाई प्रशिक्षण दिनेक्रममा यसो भन्ने गर्नुहुन्थ्यो ।

    मेरो पहिलो प्रकाशित पुस्तिका

    राजनैतिक गतिविधिका क्रममा म र कुमार ढकाल दाजु सँधै सँगै नै हुन्थ्यौं । हामी दुईजना मिलेर नेकपा एमालेको कार्यक्रमका बेला राष्ट्रवादी बाम नेता मदन भण्डारीसँग पनि भेटेर कुराकानी गरेका थियौं । साह्रै सालिन र मिजासिला मदन भण्डारीको व्यवहारसँग म प्रभावित भए पनि वहाँले प्रतिपादन गर्नुभएको बहुदलीय जनवादसँग मलाई किन किन चित्त बुझेन । मैलै २०४८ सालमा वहाँको विचारलाई खण्डन गर्दै “एमाले कम्युनिष्ट पार्टी नै हो त ?” भन्ने पुस्तिका लेखेँ । त्यसबेलासम्म मशाल, चौथो महाधिवेशन, सर्वाहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा (एकता केन्द्र) बनिसकेको थियो । यस पुस्तकमा मैले मदन भण्डारीले सत्ताको रुप र सार पक्षलाई अलग गरेर माक्र्सवादकै विरुद्ध उभिनुभएको उल्लेख गर्दै पेरुको जनयुद्ध, भारतको माओइष्ट कम्युनिष्ट सेण्टर र पिपुल्स वार ग्रुपको जनयुद्धसँग जोडिँदै नेपालमा पनि दिर्घकालीन जनयुद्ध आवश्यक रहेको उल्लेख गरेको थिएँ । त्यो पुस्तिका २०४८÷०४९ सालतिर निकै चर्चित भयो । काठमाण्डौका आमसभामा समेत त्यो पुस्तिका हातहातमा पुगेको रहेछ । त्यतिबेलासम्म मैले जनादेश साप्ताहिकमा लेख्न थालिसकेको थिएँ । मेरो लेखन्का कारण नेकपा(एकता केन्द्र)का अधिकांस नेताहरुले मलाई नामले चिन्नुहुन्थ्यो तर प्रत्यक्ष भेट्दा भने वहाँहरुले चिन्नुहुन्नथ्यो, म पनि कार्यक्रममा सहभागी भए पनि परिचय दिन जाने गर्दिनथें । वास्तवमा मेरो स्वभाव अन्तर्मुखी भएकोले पनि नेताहरुसँग चिनिन इच्छा लाग्दैनथ्यो । त्यो बेला नै मेरो डा. बाबुराम भट्टराईसँग र क. सन्देश (नारायणकाजी श्रेष्ठ) सँग प्रदिप पोखरेल दाजुको घरमा भेट भएको थियो । बाबुराम भट्टराईले त काठमाण्डौ आएको बेला भेट हुँदा चिन्नुहुन्नथ्यो तर म रोहित दहाल भन्ने बित्तिकै “ओहो, रोहितजी, बिराटनगरबाट कहिले आउनुभयो भनिहाल्नुहुन्थ्यो ।”

    मैले चिनेको ऋषिराज बराल
    ऋषिराज बरालले पछि पि.एच.डि सक्नुभयो । पुस्तकहरुमा वहाँलाई डा.ऋषिराज बराल भनेर लेखिएको देखिन्थ्यो । तर बिराटनगर बस्दा वहाँमा पढाईको दम्भ मैले कहिले पनि देखिन । म, कुमार ढकाल दाजु र वहाँ विभिन्न कार्यक्रममा संलग्न भइरहन्थ्यौं । मेरो लेख्ने बानी देखेर वहाँले मलाई थुप्रै किताबहरु पढ्न दिनुभयो र कथा विधामा लेख्दा तिमीलाई उपयुक्त हुन्छ भनेर सुझाव पनि दिनुभयो । मलाई कथाकारको रुपमा स्थापित गराउन वहाँले गरेको मेहनत बिर्सन सक्दिन । हामी तीनजना नै साइकल लिएर गाउँगाउँ पुग्थ्यौं । बिराटनगर महेन्द्र चोकमा हिमालय टाकिजको भित्तामा एकजना कलाकार साथीको सहयोगमा विभिन्न कार्टुनहरु बनाएर हामी तीनजनाले टाँस्ने गथ्र्यौं । मदन भण्डारीको हत्यापछि शोकलाई सम्झौतामा बदलेको समयमा हामीले सरकार र आन्दोलनकारीको नेतृत्वकर्ताले मानिसको खोपडीलाई प्लेटमा राखेर खान लागेको कार्टुन टाँसेका थियौं । यसले खुब प्रशंसा र आलोचना बटुलेको थियो ।

    टनकपुरको असमान सन्धिका विरुद्ध पनि नेपाललाई तीनतिरबाट डरलाग्दो नंग्राले चिथोरेर रगत निकालेको कार्टुनचित्र टाँसेका थियौं । यो चित्र त तत्कालिन पत्रपत्रिकाहरुमा मज्जाले प्रकाशित भएको थियो । ऋषिराज बराल सरलाई जनयुद्ध गर्नुपर्छ भन्ने तीब्र आकांक्षा देखिन्थ्यो अनि हामी दुई दाजुभाइको मनमा त्यसले गहिरो जरा गाडेको थियो । बराल सरले नै बिराटनगर बसपार्कमा रहेको हाम्रो पुस्तक पसलमा अग्निप्रसाद सापकोटासँग परिचय गराउनुभएको थियो । टनकपुर सम्झौताको विरोध, अनिष शाक्यको काठमाण्डौमा भएको हत्याको विरोध गर्ने क्रममा बराल सर, म, प्रदिप पोखरेल दाइ, मसालका बुढा नेता मेघनाथ आचार्य, नेमकिपाका एकजना हुमागाईँ थरका नेता राजन निरौला, अन्जु न्यौपाने, सीता पोखरेल, किरण ओझा, सुदेशमणि पोखरेल, हिसन समाल, प्रकाश पोखरेल खुब खट्ने गथ्र्यौं । आन्दोलन भयो कि मेरो जिम्मा रिक्सामा चढेर नेपाल बन्दको प्रचार गर्ने हुन्थ्यो । म र किरण ओझा अनि त्यस्तै म र सुदेशमणि पोखरेल मिलेर जोगबनी नाकादेखि पोखरिया सिंगिया खोलासम्म अनि हाटखोलाको सिंगिया खोलादेखि पूर्वको पिचरादेखि अझ परसम्म रिक्सामा माइकिङ्ग गथ्र्यौं । मौकामा चौका हानेजस्तो गरेर नेपालबन्दको प्रचार गर्दा मैले “भविष्यमा हुने दिर्घकालिन जनयुद्धको तयारी गर्न……..नेपाल बन्दलाई सहयोग गरौं ।” समेत भन्न भ्याउँथें । यसो भन्नु त पार्टी नीतिमा थिएन तर पनि त्यो जोश आउँथ्यो कता कताबाट । एकदिन ऋषिराज बराल सरले दिउँसो अढाई÷तीन बजेको सेरोफेरोमा हाम्रो पुस्तक पसलमा भेट भएपछि “पारिजात दिदीलाई भेट्ने हो ?” भन्नुभयो । म त साह्रै खुसी भएँ । वहाँले काठमाण्डौ जाने रात्री बसमा लैजानुभयो अनि झ्यालमा पुगेर “दिदी, यी रोहित दहाल भाइ, नवोदित कथाकार” भनेर चिनाउनुभयो । पारिजात दिदीले पनि “नयाँ कथाकारहरुसँग त राम्रोसँग भेटघाट गर्नुपर्ने हो तर हतार भयो अहिले त । जे होस् कलमको तागत हतियारभन्दा बलियो हुन्छ भन्ने हेक्का राखेर लेख्न नछाड्नु ।” पारिजात दिदीले भनेको यो कुराले पनि मलाई जनयुद्धसँग नाता गाँस्न मलजल ग¥यो । पारिजातको पछिल्लो उपन्यासको समालोचना गर्दै ‘पारिजातको लेखन् बिषालु बन्न पुगेको’ भन्ने ऋषिराज बराल सरलाई पारिजातले पनि ‘ म त बरालको समालोचना नै बिषालु देख्छु’ भन्नुभएको थियो । तर भेट हुँदा यति साह्रो निकटता देखिँदो रहेछ ।

    पर्खाल काण्ड अनि निर्मल लामामाथिको प्रहार
    २०५० सालको शुरुवाततिरको कुरा हो । म र कुमार ढकाल दाजुलाई एउटा सनक चल्यो । हामीले हार्डवेयर पसलबाट रातो माटो किनेर ल्यायौं अनि काठको दुईवटा विँडमा झुम्रो बाँधेर ब्रस बनायौं । विहान शायद तीन बजेतिरै उठ्यौं अनि तीनपैनीदेखि तीनटोलीया मोडिने मोडसम्म अनि त्यहाँबाट बसपार्क हुँदै बरगाछी सम्म पर्खालमा लेख्दै हिँड्यौं । पर्खालमा लेखिएका वाक्यहरु यस्ता थिएः
    दिर्घकालीन जनयुद्धको शुरुवात गरौं, दलाल पुँजीपति र सामन्तीहरुलाई धपाऔं ।
    दलाल माडवारीहरुलाई लखेटौं ।

    माओवाद जिन्दावाद ।
    खबरदार, राष्ट्रघाती शासक हो, जनयुद्धले खरानी पार्ला ।
    भोलिपल्ट बजारभरी लेखिएको यो नाराले खैलाबैला मच्चिएछ । म र कुमार दाजु दिउँसोतिर पर्खालमा लेखेको नारा हेर्न साइकलमा निस्कियौं । आफू आफूमै दंग परेर मुसुमुसु हास्यौं पनि । यो पर्खाल लेखन्ले दुईलाइन संघर्ष चलिरहेको एकता केन्द्रभित्र ठूलो विवाद मच्चिएछ । तत्कालिन साप्ताहिक विमर्श लगायतका पत्रिकाहरुले ‘एकता केन्द्रबीचको विवाद बिराटनगरबाट छताछुल्ल’ भनेर पो लेख्न थाले । हामीलाई त वास्तवमा भुमिगत पार्टीभित्रको चुलिँदै गरेको विवाद वास्तवमा थाहा नै थिएन । संयुक्त जनमोर्चाका तत्कालिन केन्द्रीय सदस्य अनि मेरो घरसँग वारिपारि घर भएका दाजु प्रदिप पोखरेलले यस विषयमा छानवीन गर्न थाल्नुभयो । टंक गिरी लगायतका सरहरुले पनि खोजी गर्न सोधपुछ गर्न थालेपछि हामीले केही थाहा नपाएजस्तो अभिनय ग¥यौं । प्रदिप पोखरेल दाइलाई हामीप्रति नै शंका लागेको रहेछ, वहाँले एक्ला एक्लै बोलाएर केरकार गर्नुभयो । “पार्टीले जनयुद्धको घोषणा नै गरेको छैन, यस्तो नारा लेख्ने ? तपाईँलाई प्रहरीले पक्डिएर लगेको भए कसले जिम्मा लिन्थ्यो ? यो नारावाजीले क्रान्तिको तयारीलाई समेत धक्का पुग्छ, थाहा छ ?” भनेर खुब हकार्नु भयो ।

    मैले त हैन भनेरै जितें तर कसैले पत्याएन ।
    घटना भएको पन्ध्र÷बीस दिनपछि असारे काका हाम्रो घरमा आउनुभयो । राती खाना खाइसकेपछि सो विषयवस्तुबारे सोधपुछ गर्न थाल्नुभयो । म र कुमार दाजुले घटनालाई स्वीका¥यौं । त्यसपछि वहाँले मायालु पाराले हकार्नु भयो, “यो उग्रपन्थी रोमान्सवाद हो । क्रान्ति यसरी हुँदैन । जनयुद्ध गर्नुभन्दा पहिले नै शत्रुलाई चनाखो बनाउनु गलत हो । यस्ता कार्यका लागि पार्टीले सदस्यताबाट नै निस्काशन गर्छ नि !” हामी चुपचाप लाग्यौं । गल्ति गरिएछ भन्ने बोध भयो । त्यसपछि फेरि असारे काकाले ढाडस् दिँदै भन्नुभयो, “तिमीहरुले गलत गरेको भएपनि पार्टीभित्रको अन्तर्विरोधमा दक्षिणपन्थीहरुलाई चिन्ने अवसर भने पाइयो । यो पर्खाल लेखन्ले पार्टीभित्र जनयुद्ध नगर्नेहरु प्रष्टरुपमा देखिएर आए । यो चैं ठिकै भयो तर तिमीहरुले गरेको काम भने पार्टीका लागि घात गर्ने प्रकृतिको हो , बुभ्mयौ ?” हामी केही बोल्न नसक्ने अवस्थामा पुगेको थियौं ।

    २०५१ साल पौष २६ गतेको जनादेश साप्ताहिक (बर्ष ४ अंक ८)मा मेरो एउटा लेख प्रकाशित भयो, “निर्मल लामाजी ! माओवादको रगतले सराप्ला”। यो लेख त्यो बेला प्रकाशित भएको थियो जुनबेला दिर्घकालिन जनयुद्धमा जाने वा नजाने विषयमा विवाद भई निर्मल लामा लगायत संयुक्त जनमोर्चाका केही साँसदहरु सहितलाई नेकपा (एकता केन्द्र)बाट कार्वाही गरिएको अवस्था थियो भने अर्को तर्फ क. प्रकाश, निर्मल लामा लगायतका नेताहरु सहितले नेकपा(एकता केन्द्र) कै नामबाट राजनैतिक गतिविधि गरिरहनुभएको थियो । निर्मल लामाले एउटा पत्रिकालाई अन्तर्वार्ता दिँदै, “रक्सि म खान्छु, नशा जनमोर्चालाई लाग्छ” भन्नुभएको थियो र रिम लगायतका संगठनलाई आतंक मच्चाइरहेको भनी संकेत गर्नुभएको थियो । वहाँले त्यसरी बोलेको झोंकमा मैलै पनि लेखबाट वहाँलाई ‘नशामा मात्तिएर राता आँखा पार्दै बोलेको’, ‘साम्राज्यवादीहरुलाई दमनका लागि वातावरण बनाएको’ भनेर खुब विरोध गरेर लेखें । अहिले यसो विचार गर्छु, मैले निर्मल लामालाई त्यसरी लेख्नका लागि मेरो हैसियत चैं थिएन । अरु बरिष्ठ कमरेडहरुले लेख्दा सुहाउँथ्यो, कम्युनिष्ट आन्दोलनमा त्याग, संघर्ष गरेको नेतालाई मैले अलि छुद्र भएर लेखेछुँ कि जस्तो लाग्छ । हुन त, यति तीखो लेख लेखेको भए पनि कसरी राम्रो लेखक बन्न सकिन्छ भन्ने बिषयमा पार्टी फुटेपछि पनि गिरिराजमणि पोखरेलले मलाई सुझावहरु दिइरहनु हुन्थ्यो र मलाई बिचार, दर्शनका बारेमा सिकाउनु हुन्थ्यो । म गिरिराजमणि पोखरेललाई एक आदर्श नेता नै मान्ने गर्छु त्योबेला र अहिले पनि । निर्मल लामा आधारभुतरुपमा त्यागी कम्युनिष्ट नै हुनुहुन्छ ।

    स्ववियु चुनाव र क्रान्तिकारी तयारी
    २०५१ सालमा महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसमा स्व.वि.यू. चुनावको चहलपहल शुरु भयो । म त्यतिबेला अ.ने.रा.स्व.वि.यू.(क्रान्तिकारी) को मोरङ्ग जिल्ला अध्यक्ष थिएँ । चुनावमा मलाई नै उठ्न केन्द्रीय कार्यालयबाट निर्देशन आयो । विद्यार्थी नेताहरु हितमान शाक्यसँग पनि मेरो बिराटनगरमा भेट भएको थियो । विद्यार्थी कालमा डाचाराज वाग्लेलाई पनि हामीले कार्यक्रममा बोलाएका थियौं । रामनारायण विडारी, यानप्रसाद गौतमसँग कार्यक्रममा अतिथी बनाएर बिराटनगरमा कार्यक्रमहरु गर्ने गरिन्थ्यो । स्व.वि.यू. चुनावकै सेरोफेरोमा हामीलाई एक कार्यक्रममा बोलाएर यानप्रसाद गौतमले मलाई (लेखक भएकोले) ईँगित गर्दै भन्नुभएको थियो, “कलम नितान्त लेख्न प्रयोग गरिन्छ तर यो खतरनाक हतियार पनि हो, आवश्यक प¥यो भने शत्रुको आँखा फोड्न सकिन्छ ।” जनयुद्ध कालमा वहाँका केही प्रबृत्तिगत कमजोरी रहे र वहाँ जनयुद्धमा आलोक प्रबृत्तिका नामले चर्चित हुनुभयो । अहिले यसो हेर्छु, शान्तिप्रक्रियापछि त जताततै आलोक प्रबृत्ति नै मौलाउँदो छ ।

    चुनाव लडने विद्यार्थीको पनि अभाव थियो त्योबेला । म आफैं अध्यक्षमा उठें । सचिवमा नगेन्द्र ढकाल नाम गरेका एकजना मित्रलाई उठ्न आग्रह गरें । अहिले पाटन क्याम्पस र किर्तिपुर क्याम्पसमा प्राध्यापन गर्नुहुने डा. तिलक खत्री पनि मेरो प्रभावमा माओवादी आन्दोलनतर्फ आकर्षित भए पनि भर्खर बुझ्दै गरेको हुनाले उम्मेद्वारी दिन चाहनुभएन । तर तिलक खत्रीजीले हाम्रो मत बढाउन कोशिस भने गर्नुभएको थियो । एमाले निकटको अनेरास्ववियुबाट विनोद ढकालले अध्यक्षमा उम्मेद्वारी दिनुभएको थियो । वहाँले मेरो उम्मेद्वारी फिर्ता गराउन घरमै आएर कोशिस गर्नुभयो । वहाँले अरु कुनै पदमा तालमेल गरेर जाऔं भन्ने प्रस्ताव पनि गर्नुभयो तर संगठनको लाइन भनेको कसैसँग तालमेल नगरी जनयुद्धको मनोवैज्ञानिक प्रचार गराउने नै थियो । चुनाव प्रचार गर्न पनि कठिन, प्रचार सामाग्री ढिलो आयो । प्रचार गर्न निषेध गरेको दिन म र कुमार ढकाल दाजु, नगेन्द्रजी, तिलक खत्रीजी लगायतले रातको समय पारेर क्याम्पस पुगी पोष्टर टाँस्न थाल्यौं । ऋषिराज बराल सरले तिमीमाथि हमला हुनसक्छ, बाहिरफेर धेरै ननिस्कनु भनेर सचेत पनि गराउनुभएको थियो । त्यतिबेलै ने.बि.संघको समूह “को हो ? के हो ?” भन्दै लाठी, मुङ्ग्री लिएर आए । म त आत्तिएर भागिसकेको थिएँ तर कुमार दाजुले पाखुरामा समाएर नभाग्न भन्नुभयो । उनीहरु छेउमा आए । एकछिन कुटुँला झैं गरेका थिए तर एकजनाले पोष्टर हेरेछ अनि “यीनीहरु त बागी अखिल रहेछन्” भन्यो । त्यसपछि उनीहरुले “ल, टाँस्नु टाँस्नु । एमाले अखिल आए भने हामी धपाऔंला” भन्दै अलि परतिर गएर बसे । हामी त मख्ख पर्दै पोष्टर टाँस्न थाल्यौं । चुनावमा हाम्रो त खास राम्रो मत आएन, मेरो सत्तरी मत आएको रहेछ । संगठन नै नभएको अवस्थामा के मत झथ्र्यो र ! तर मैले र सचिवले ल्याएको मतसँगै बदर भएको मतका कारण अखिल पाचौंले अध्यक्ष र सचिव बाहेक अरु पद जितेको थियो ।

    जनयुद्धको तयारी र प्रचारबाजी
    बिराटनगरको हाम्रो घरमा हामीले अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन गरायौं । बुवाआमा उत्तरपानी, धनकुटामा हुनुहुन्थ्यो । बुवाआमा नभएको मौकामा घरमा जिल्लाभरका करिब असी जनाजति भेला भयौं । असारे काका र रविन्द्र श्रेष्ठ पनि आउनुभएको थियो । रविन्द्र श्रेष्ठले जनयुद्ध कसरी लडिन्छ भनेर प्रशिक्षण दिनुभयो । यस्तो लाग्थ्यो कि हाम्रो घर जनयुद्धको प्रारम्भिक अभ्यास गर्ने रातो किल्ला हो ! विद्यार्थीको सम्मेलन भने पनि त्यहाँ जनयुद्ध कसरी गरिन्छ ? शत्रुसँग कसरी जोगिन सकिन्छ ? भन्ने विषयवस्तुमा नै असारे काका र रविन्द्र श्रेष्ठले प्रशिक्षण गर्नुभएको थियो । अहिले रबिन्द्र श्रेष्ठ जनयुद्धको नायकबाट पतन भएर जानुभयो । त्यो सम्मेलनले मलाई नै अ.ने.रा.स्व.वि.यू.(क्रान्तिकारी)को मोरङ्ग जिल्ला अध्यक्ष चुन्यो । त्योबेलासम्म म यङ्ग कम्युनिष्ट लिगको मोरङ्ग जिल्लामा समेत पुगिसकेको थिएँ । २०५२ साल लागेपछि म बिराटनगरबाट काठमाण्डौ गएँ । विद्यार्थी नेता कृष्ण के.सी.ले किन काठमाण्डौ आएको ? भनेर हकार्नु पनि भयो । काठमाण्डौ आएपछि पनि असारे काकाको मुख्य आतिथ्यतामा रमेश शर्मा सरले ई. शरद पौडेल र म सम्मिलित नेकपा माओवादीको बुद्धिजिवी सेल कमिटी बनाउनु भयो । त्यतिबेला सेल कमिटीमा बस्न पाउनु पनि गर्वको कुरा हुन्थ्यो । जनादेश साप्ताहिकको कार्यालय जाँदा शक्ति लम्सालले मलाई हेर्दै, “तपाईँका अक्षरहरु कस्तो छापे जस्तै लाग्छन्, त्यसमा केरमेट गर्न पनि लोभै लागेर आउँछ” भन्नुभएको थियो । कृष्णसेन इच्छुकले त मलाई धेरै माया गर्नुहुन्थ्यो । मेरा लेखहरु मागेर लैजानु हुन्थ्यो अनि ढिलोचाँडो कुनै न कुनै पत्रिकामा छापेर खबर गर्नुहुन्थ्यो । संयुक्त जनमोर्चाका काठमाण्डौ संयोजक कुमार पौडेल त मेरो र कुमार दाजुको मीनभवनको कोठामा रात बस्ने गरी आउनुहुन्थ्यो र राजनीतिका कुराहरु सिकाउनुहुन्थ्यो ।

    त्यस्तै गरी जनयुद्धको प्रारम्भिक चरणमा लेखनाथ न्यौपानेजीले सरस्वती क्याम्पसमा कविता प्रतियोगिता राख्नुभएको थियो र मलाई त्यसको प्रमुख अतिथी बनाउनु भएको थियो । यो कविता प्रतियोगिता पनि जनयुद्धको वैचारिक अभ्यास थियो । मलाई त्योबेलामा भएको अखिल क्रान्तिकारीको सम्मेलनबाट केन्द्रीय सदस्यमा बस्न असारे काकाले निकै जोड गर्नुभएको थियो । मैले मानिन । त्योबेलाको अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बन्नु भनेको निकट भविष्यमा हुने भिषण युद्धमा जनसेना बन्न जानु जत्तिकै थियो । मेरो आत्मगत अवस्था र तयारी नै भएको थिएन, युद्धमा लडाकु बनेर हिँड्ने ।

    जनयुद्ध शुरु हुनुभन्दा पहिले कुमार दाजुले बागबजारमा रहेको राजेन्द्र सुवेदी सरको पुस्तक पसल किन्ने र त्यहाँ माक्र्सदेखि माओसम्मका पुस्तक मात्र राख्ने निधोमा पुग्यौं । त्यही क्रममा हामीले बिराटनगरबाट माओत्सेतुङ्गका सयौं किताबहरु बसमा चढाएर ल्यायौं । किताब पुरानो पुरानो पनि भएकोले प्रहरीले चेक गरेर पनि छाडिदियो । जनयुद्धको विचार सम्प्रेषणमा ती किताबहरु कोसेढुंगा नै सावित भयो । पछि पुस्तक पसल किन्ने कुरा मिलेन । त्यसपछि डा. ऋषिराज बराल सरको सहयोगमा ऐश्वर्य छापाखाना, भुरुङ्गखेलका संचालक बन्धुदेब पाण्डेले ती सबै पुस्तक खरिद गर्नुभयो ।

    २०५२ सालको फागुन १ गतेको अघिल्लो रात म, कुमार ढकाल दाजु र भुपाल निरौला दाजु कतिबेला जनयुद्धको प्रचार सामाग्री आउँछ भनेर मन सिरिङ्ग सिरिङ्ग पारेर बसेका थियौं । मीनभवनको डेराबाट साथीकोमा बस्न जान्छु भनेर ढाँटेर आएको थिएँ । राती पर्चा, पोष्टर आयो । हामीले मीन भवन, भीमसेन गोला, पुरानो बानेश्वर र बत्तिस पुतलीसम्म ती पोष्टरहरु टाँस्यौं । पर्चाहरु मानिसहरुको घरघरमा गेटगेटमा लगेर राखिदियौं । फागुन १ गते बिहान मैले एउटा पर्चा बोकेर घरमा आएँ अनि बुवालाई दिएँ । “सर्वाहारा बर्गको सत्ता स्थापना नभएसम्म सम्झौताहीन संघर्ष गर्दै जनयुद्ध जारी राखिनेछ” यस्तै आशय थियो पर्चामा । बुवाले हेर्नुभयो अनि अलि लामो सास फेरेर, “यो संघर्षले कम्युनिष्टहरुलाई पत्तासाफ गर्ने गरी नरसंहार पो हुन्छ कि !” बुवाको मनमा इमान्दार कम्युनिष्टहरुप्रतिको मायाभाव प्रकट भएको देखें । फागुन २ गते विहानको समाचारमा त जनयोद्धहरुले सिन्धुली, काभ्रे, रोल्पा, रुकुममा प्रहरी कार्यालय कब्जा गरी हतियार लुटेको, बैंकमा आक्रमण भएको समाचारहरु मरमसला हालेर प्रसारित भइसकेको थियो । शान्ति प्रक्रियापछि माओवादीको एउटा केन्द्र बर्जुवा शक्तिहरुसँग सम्झौतामा मात्र अल्झिएको देखिनु विडम्बना नै हो !

    हनुमान ढोकामा थुनिएको समय
    २०५३ साल श्रावणको अन्तिम हप्तामा म काठमाण्डौको जय बागेश्वरीबाट गिरफ्तारीमा परें । बौद्ध टुसालदेखि पर्चा बाँड्ने कार्यक्रम थियो । भक्तबहादुर श्रेष्ठको संयोजकत्वमा शक्ति लम्साल सहित संलग्न संयुक्त जनआन्दोलन संयोजन समिति बनेको थियो । त्यसलाई माओवादीकै आन्दोलनको रुपमा राज्यले बुझेको थियो र वास्तवमा माओवादीको बैधानिक संघर्ष गर्ने थलो थियो त्यो । त्यसमा संलग्नहरुलाई औपचारिक प्रचारमा माओवादी पार्टी छाडेका स्वतन्त्र नागरिकहरुको संगठन भन्ने भ्रम पारेको थियो पार्टीले । त्यहि संयोजन समितिको पर्चा बाँड्ने क्रममा म पक्राउ परें । एक रात गौशाला प्रहरी कार्यालयमा थुन्यो । त्यहाँ हरिभक्त प्रजापति भन्ने इन्सपेक्टर थियो, बडो छुच्चो । उसले मलाई बोलाएर “बाबुराम भट्टराई कहाँ छ ?” भनेर सोध्यो । मैले पनि, “यत्रो एल.सी काण्डका अपराधीलाई भारतबाट समेत पक्डन सक्ने नेपाल प्रहरीले थाहा पाउनुप¥यो नि बाबुराम कहाँ छन् भनेर ?” भन्दै उल्टो प्रतिप्रश्न गरें । उसलाई बडो जंग चलेछ, लठी उठाएर हिर्काउन खोज्यो तर हिर्काएन । त्यसपछि केहीबेर भनाभन भयो । रातभर एउटा पाकेटमारसँग कोठामा थुनिदियो त्यो इन्सपेक्टरले । भोलिपल्ट बुवा प्रहरी कार्यालय पुग्नुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को निर्देशकको जिम्मेवारी लिइसक्नुभएका बुवाको कुरा सुनेर मलाई छोड्छ कि भन्ने ठानेको तर अघिल्लो दिनको रिस रहेछ, फेरि माओवादीलाई कसरी छोड्ने भन्ने पनि भयो होला । मलाई हनुमान ढोका चलान ग¥यो । बेलुकासम्ममा त्यहाँ कवि पूर्णबिराम सहित धेरैलाई समातेर ल्याइसकेको थियो । भोलिपल्ट सँगै पर्चा बाँड्न जाने रमेश श्रेष्ठ, राजु नेपाल सहित भरत बुर्जा, धनबहादुर मगर, लक्ष्मी मुडवरी सहित पक्डा खाएर त्यहाँ आइपुगे । मलाई एक्लो भएको महशुस भएन, झन उर्जा पैदा भयो ।

    म गिरफ्तारीमा परेको भोलिपल्ट नै सम्पूर्ण जस्तो पत्रिकाले जयबागेश्वरीबाट माओवादी कार्यकर्ता रोहित दहाल पक्राउ भनेर समाचार लेखे । मैले पनि थुनाभित्र नै पढें खबर । कुनै पत्रिकाले त मेरो नामलाई मजदुर नेता कुमार दाहाल हो भनेर समेत लेखेको देखें । हनुमान ढोका प्रहरी कार्यालयको प्रमुखमा केशब बराल भन्ने एकजना थिए । उनी पछि अख्तियारको आयुक्त पनि बनेका थिए । उनले मेरो केरकार गर्ने बेलामा एक्कासी प्रश्न गरे, “तपाईँ ऋषिराज बरालको डेरामा किन जानुभएको ?” म चकित परें । कार्यक्रममा गएको विहान म ऋषिराज बराल सरको मित्रपार्कमा रहेको डेरामा पुगेको थिएँ । मैले “मेरो कलेजको गुरु हो” भनें । डा. ऋषिराज बराललाई “एकनम्बरको आतंककारी हो त्यो । पर्चा लिन गएको उसकोमा ?” भनेर कुर्लिए प्रहरी हाकिम । मैले इन्कारी बयान दिँदादिँदै उनले जनादेश साप्ताहिकमा प्रकाशित मेरा धेरै लेखहरुको कटिङ्ग ल्याएर अगाडि तेस्र्याएर राखे अनि केरकार गरे । मैले मेरै लेख हुन भनिदिएँ । त्यसपछि उनले थप कडाइका साथ थुनामा राखे ।

    थुनाभित्रका अनगिन्ति अनुभवहरु यो लेखमा लेख्न सम्भव छैन । प्रगतिशील लेखक संघले कवि पूर्णविराम र युवा कथाकार रोहित दहाललाई रिहा गर्न विज्ञप्ति जारी ग¥यो । खगेन्द्र संग्रौला, गोबिन्द भट्ट, गोबिन्द बर्तमान, डा.गोपिन्द्र पौडेल, डा. ताराकान्त पाण्डे, कृष्णसेन इच्छुक, ईश्वरचन्द्र ज्ञवाली, नारायण ढकाल लगायतका १७ जना लेखकहरुले पनि मेरो र कवि पूर्णविरामको गिरफ्तारीको निन्दा गर्दै रिहाईको चेतावनी सहित विज्ञप्ति निकाले । पन्ध्रदिनपछि म छुटें तारिखमा । तारिख धाउँदै थिएँ तर माओवादी नेता सुरेश आले मगरले मलाई भेटेर “उसलाई मन लाग्यो भने तारिख धाए पनि पक्डिन्छ, नधाए पनि पक्डिन्छ, किन धाउनु तारिख ?” भन्नुभयो । मैले पनि तारिख धाउन छोडें । २०५४ सालतिर म जागिरे भएर पोखरा पर्यटन तालीम केन्द्रमा गएँ । जागिरे भएपनि जनयुद्धको पक्षमा रोहित दहालकै नामबाट जनादेश, पृष्ठभूमी, योजना लगायतका साप्ताहिक पत्रिकामा लेखि नै रहेँ । २०५६ सालमा जनयुद्धको कथाहरु सम्मिलित कथा संग्रह ‘इस्पातले बनेका मान्छेहरु’ डा.ऋषिराज बरालको खटाइबाट प्रकाशित गरेको थिएँ । त्यो कथासंग्रह जनयुद्धको साहित्यका रुपमा कतिपय ठाउँमा कोर्समा नै राखिएको थियो भनेर धेरै माओवादी साथीहरुले पछि भन्नुभएको थियो । यसरी खुले आम जागिरे भएर लेख्दा पक्डा खाइन्छ कि जस्तो लाग्थ्यो तर पक्डा खाइएन । जागिरे भएकै बेला मलाई पक्डन शाही सेनाले धेरै पटक कोशिस ग¥यो तर सीटीइभीटीका तत्कालिन उपाध्यक्ष सोमनाथ पौडेल, पूर्व मन्त्री देवी ओझा लगायतले मलाई गिरफ्तार हुनबाट बचाउनु भएको थियो । राजा ज्ञानेन्द्रले संकटकाल लगाएको हप्तामा समेत जागिरे भएकै बेला मेरो लेख, ‘अनि किन गाउँदैन त बन्दूकले गित ?’ भन्ने साहित्यिक अनुरागको लेख प्रकाशित भएको थियो ।

    अहिले जनयुद्धका नायकहरु विभाजित छन् । कोही अब यही व्यवस्थाबाटै जाने हो भन्छन् भने कोही फेरि सशस्त्र संघर्ष गर्ने भन्छन् । केवल आवेग र उत्तेजनामा जनयुद्धसँग नजिकिएका केही मानिसहरु राप्रपातिर पुगेर गणतन्त्र नै गलत भन्ने नियतमा समेत पुगेका देख्छु, कोही काँग्रेसको फेर समातेर समेत हिंडेका छन् तर एउटा कुरा चैं के सत्य हो भने “श्रममा जोडिएको जनसेनाबिनाको कम्युनिष्ट पार्टी गफ गर्ने अखडा हो अनि शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी व्यापारकै रुपमा निरन्तरता दिँदै व्यक्तिगत सम्पत्तिलाई छोड्न नसक्ने कम्युनिष्टका मुख्य नेताहरु पनि गफाडी नेता मात्र हुन् ।”

    (भक्तपुरको चाँगुनारायण नगरबासी लेखक रोहित दहाल प्रगतिशील साहित्यकार एवं बामपन्थी विश्लेषक हुन् ।)

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि : नगरलाई दुध,मासु र अन्डाको हव बनाइने(पूर्णपाठसहित)

    सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर...

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा...

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको...

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ ।...

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले...