News Portal

  • नगरकोट सडकको नालीबेली : ९ वर्ष सम्म नबनेको स्थानीयको गुनासो, उपप्रधानमन्त्री भए भावुक

    संजीप शुभचिन्तक भक्तपुर, १८ फागुन २०७९
    ४८८ पटक
    भक्तपुर, १८ फागुन २०७९

    ९ वर्षदेखि निर्माण सम्पन्न हुन नसकी थला परेको कमलविनायकको भत्केकोपाटी (लाञ्चा फल्चा) देखि नगरकोट जोड्ने सडक १ महिना भित्र सम्पन्न गर्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । स्थानीयले अनुगमन मात्र हुने तर निर्माण सम्पन्न नहुने गुनासो गरेपछि भावुक भएका उनले १ महिना भित्र निर्माण सम्पन्न हुने बिश्वास समेत दिलाएका छन् ।

    उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले बिहीवार सडकको स्थलगत अवलोकन गर्दै आफ्नो अनुगमन निर्माण सम्पन्न गर्नका लागि भएको बिश्वास दिलाएका हुन् । भारतीय एक्जिम बैंकको ऋण सहयोग रहेकाले नेपालका लागि भारतका राजदुत नवीन श्रीवास्तवलाई साथै लिएर उनी स्थलगत अनुगमनमा आएका थिए ।

    जनगुनासोबारे राजदुत श्रीवास्तवलाई बताउदै उपप्रधानमन्त्री श्रेष्ठले ९ वर्षदेखि निर्माण सम्पन्न नहुँदा भारतीय ऋण सहयोग र निर्माण ठेक्का पाएको भारतीय निर्माण कम्पनी प्रति स्थानीयले शंका गरेकाबारे जानकारी गराएका थिए ।

    तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्री मण्डलमा अर्थमन्त्री रहेका वर्षमान पुनले योजना पारिदिएपछि कमलविनायकको भत्केकोपाटीदेखि नगरकोट जोड्ने सडक बनाउन शुरु भएको हो । तर, बिबिध कारणले निर्माण सम्पन्न हुन नसक्दा स्थानीय मात्र होइन, पर्यटकीय क्षेत्र नगरकोट भ्रमणमा समेत असर गरेको छ ।

    बिहीवार आफ्नो मन्त्रालयका सचिव र सडक बिभागका महानिर्देशकसहितको सरकारी टोलीको नेतृत्व गर्दै अनुगमन गर्न आइपुगेका सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग भारतीय राजदुत श्रीवास्तव, बागमती प्रदेशका सांसदहरु देवेन्द्र श्रेष्ठ र भुवन केशरी श्रेष्ठ भावना, निवर्तमान प्रदेश सांसद प्रतिमा श्रेष्ठ त्यसैगरी सत्तारुढ माओवादी केन्द्रको जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म र संयोजक सुनिल गोठे बासु लगायत सहभागी रहेका थिए ।

    उक्त अवसरमा भक्तपुरका सिडिओ खगेन्द्रप्रसाद रिजाल र एसपी प्रजित केसीले सडकको अवस्थाबारे अवगत गराएका थिए ।

    के हो समस्या
    भक्तपुरको कमलविनायकस्थित भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडक लामो समयदेखि बन्न नसक्दा सडक प्रयोगकर्ताको बिजोग हुने गरेको छ । वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने यस सडकका कारण सडक प्रयोगकर्ता सास्ती खेप्न बाध्य छन् । सडक स्तरोन्नति गर्ने ठेक्का पाएको कम्पनीले समयमै काम नसक्दा यो राजनीतिक पार्टीहरुका लागि समेत राजनीतिक मुद्दाको विषय बनेको छ । सडक बन्न नसक्दा कतिपयलाई राजनीतिको रोटी सेक्न समेत यसले मद्दत मिलेको छ ।

    यस कारण समयमा सकिएन सडक निर्माण

    भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक सुधार आयोजना अन्तर्गत तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारको पालामा योजना स्वीकृत भएको करीब १६ किमीको यो सडक खण्ड चौडा गरी कालोपत्रे गर्न भारतीय कम्पनी एआइसीपिएल र नेपाली कम्पनी एससीपिएल (शैलुङ कन्स्ट्रक्सन) काठमाडौंले संयुक्त ठेक्का पारेको  थियो । ०७१ असार मसान्तमै निर्माण सम्पन्न गरिने गरी ठेक्का स्वीकार गरेपनि यी दुई कम्पनीले काम सम्पन्न गर्न सकेनन ।

    निर्माण कम्पनीले स्थानीयको अवरोध, असहयोग, नाकाबन्दी, भूकम्प, कोरोना माहामारी लगायत समस्या देखाउदै आएकोमा सबैभन्दा बढी आफूहरुले पाउनुपर्ने पैसा नपाउदा काम प्रभावित भएको भन्ने गर्दै आएको छ । तर, सधै बहाना बनाउदै काम नगर्ने गरेको कारण कम्पनी बदनाम बनेको छ । स्थानीय भने काम्पनीले पाएको पैसा जग्गामा लगानी गर्दा निर्माण प्रभावित भएको आरोप लगाउछन ।

    राज्य संयन्त्र अनुगमनमा सिमित
    मन्त्रलयका सचिव र सडक बिभागका महानिर्देशकसहितको सरकारी टोलीले मात्र होइन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्ग र रेनु यादबले पनि यस सडकको स्थलगत अनुगमन गरेका थिए । त्यतिमात्र होइन संसदका बिभिन्न संसदीय समितिका सभापति देखि सांसद र नेताहरु पनि पटक पटक स्थलगत अनुगमनमा सहभागी भएका छन् ।

    जतिसुकै अनुगमन गरेपनि समस्या ज्युँका त्युँ रहेको स्थानीय दिपक लामा बताउछन् । ” अनुगमनकर्ताका मोटरले उल्टै धुलो उडाए तर, उपलब्धी भएन ।” उनले भने ।

    यस्तो छ १ महिनामै निर्माण सम्पन्न हुने आधार

    निर्माण कम्पनीले नाकाबन्दी, भूकम्प, कोरोना लगायत कारण देखाए पनि आफूले पाउनुपर्ने पैसा नपाउदा काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधिले बताउदै आएका थिए । बिहीवार भने २० प्रतिशत भन्दा कम मात्रै काम बाकी रहेको जानकारी गराउदै वडाले रुख काट्ने लगायत स्थानीयका आवश्यक बिबाद समाधान गरिदिए एक महिनाभित्रै निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता प्रकट गरिएको छ । उपप्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाए अनुसार बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार एवं उक्त क्षेत्रका माओवादी केन्द्रका केन्द्रीय नेता डिपी ढकालले सडकबारे अवगत गराएपछि तत्कालै मन्त्रालयले निर्माण व्यवसायी र भारतीय दुतावाससँग समन्वय गरी काम अघि बढाएको छ । १ महिनामा निर्माण सम्पन्न गर्ने वातावरण बनाएर नै अनुगमनमा आएको उपप्रधानमन्त्रीका प्रेस विज्ञ कमल गिरीले जनाएका छन् ।

    प्रचण्डलाई प्रहार गर्ने हतियार
    संयोगबस यस सडकको निर्माण ठेक्का पाएको नेपाली कम्पनीका मालिक शारदाप्रसाद अधिकारी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् । समयमै निर्माण सम्पन्न नगरेका शारदाको कमजोरीलाई अध्यक्ष प्रचण्डसंग लगेर जोडी दिंदा जिल्ला पार्टीलाई त्यसले आघात पुर्याइरहेको पार्टीका स्थानीय नेता कार्यकर्ताहरु स्वीकार गर्दछन् ।

    नेकपा (माओवादी केन्द्र)का भक्तपुर सहइन्चार्ज समेत रहेका बागमती प्रदेश सांसद देवेन्द्र श्रेष्ठ दिवाकर भने यसलाई आफ्नो अध्यक्ष प्रचण्ड माथि प्रहार गर्ने हतियारको रुपमा उद्याइएको आशंका गर्दछन । प्रचण्ड माथि हिलो छ्यापिरहन घरबेटी संलग्न भएको कम्पनीलाई कुनै सरकारले कारवाही नगरेको र बरु आफ्नो पार्टी प्रत्येक पटक सरकारमा हुँदा काम भएको र अब निर्माण सम्पन्नको चरणमा देखिएको उनले दावी गरेका छन् ।

    माओवादीलाई प्रतिष्ठाको विषय

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय नेता डीपी ढकाल यो सडक आयोजनाका पहलकर्ता नै हुन् । उनी तत्कालिन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव रहेका बेलामा यो आयोजनाले स्वीकृती पाएको थियो । तर, उनले त्यसको जस लिन नपाउदै समयमै सडक नबनाएको अपजस उनको पार्टीले पायो । विपक्षीहरुले उक्त बाटोका ठेकेदार शारदा प्रसाद अधिकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी भएको कुराको निकै नै प्रचार गर्दा ढकालले आफैले पहल गरेको बाटोमा जस लिन सकेका छैनन् ।

    आफ्नै पहलमा योजना पारीएको सडक र आफू सो क्षेत्रको बासीन्दा र नेता समेत रहेकोले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले यसलाई सम्पन्न गर्न सिंगो पार्टीकै तर्फबाट पहल गरिरहेका छन् ।

    होस्टेमा हैसेंको आवश्यकता
    नेपाल उद्योग बाणिज्य संघ चागुनारायणकी सचिव एवं समाजसेवी चण्डिका लामिछानेले बाटोको निर्माण सम्पन्न गर्न होस्टेमा हैसेंको आवश्यकता औल्याएकी छन् । बिचारमा बिबिधता भएपनि बिकासमा एकता हुनुपर्ने उनको भनाइ छ । स्थानीय नेताहरु फुटेर नभई जुटेर मात्र सडक निर्माण सम्पन्न गर्न सकिनेमा उनले जोड दिएकी छन् । नगरकोट सम्झेर आएका उपप्रधानमन्त्री एवं सरकार प्रति अविश्वास र आसंका होइन, खबरदारी र सहयोग संगसंगै हुनुपर्ने उनले बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...