News Portal

  • राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ चैत २०७९
    ८३३ पटक
    भक्तपुर, १८ चैत २०७९

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । युवा नेता रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    शनिवार सल्लाघारीस्थित एक पार्टी प्यालेसमा सम्पन्न १० औं अधिवेशनको बन्द सत्रले रविन थापाको अध्यक्षतामा ५९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको केन्द्रीय सदस्य राजाराम सुवालले जानकारी गराएका छन् । उनले दिएको जानकारी अनुसार ५९ सदस्यीय नयाँ कार्यसमितिमा पदाधिकारी संख्या भने ६ मात्र रहेको छ । उपाध्यक्षमा महेश मास्के र सचिवमा दिपेश बिसुंके निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा भने २ जना क्रमस: सविता श्रेष्ठ र मिठाराम दाहाल(अल्ला) रहेका छन् भने कोषाध्यक्षमा अरुण कवें निर्वाचित भएका बताइएको छ ।

    नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेको छ । केन्द्रीय उपाध्यक्ष क्रान्ति बुर्लाकोटीले उनीहरुलाई सपथ ग्रहण गराएकी हुन् । नवनिर्वाचित अध्यक्ष थापाले सबै युवालाई एकताबद्ध गरी पार्टी र संगठनको नीति र निर्देशन अनुरुप राष्ट्रिय युवा संघलाई थप संगठित गर्ने एवं नयाँ उचाईमा पुर्याउने प्रतिक्रिया दिएका छन् ।

    अधिवेशनको उद्घाटन केन्द्रीय इन्चार्ज रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले अतिबादी, प्रतिक्रियाबादी र यथास्थितिबादीबाट युवालाई बचाउन एवं देश र जनताको हितमा लगाउन राष्ट्रिय युवा संघमा गोलबन्द गर्नुपर्ने आवश्यकता औल्याए । उनले बालेन र रविहरुसंग अग्रगामी बिचार र अजेण्डा नभएपनि युवाहरुलाई भ्रममा पारिरहेका प्रष्ट पार्दै उनीहरुको ब्यक्तिबादी चरित्र बिस्तारै बाहिर आइरहेको बताए ।

    पूर्व मन्त्री एवं निवर्तमान संघीय सांसद समेत रहेका नेता बस्नेतले राजतन्त्रको प्रत्यक्ष शासन जनताले भोगिसकेकाले आम युवाले ज्ञानेन्द्र शाही जस्ता युटुबरका कुरा बिश्वास गर्नु नहुने बताए । उनले राजाको पालामा भोकमरीले जनता मर्ने गरेका, गरिब र निमुखाले दास जस्तै भएर बाच्नुपरेका र बम्बइका कोठीमा चेली बेचिने गरेका लगायत कुराको स्मरण गर्दै जनताको शासनलाई गाली नगर्न युवाहरुले शाहीलाई सम्झाउनुपर्नेमा जोड दिए ।

    नेता बस्नेतले राष्ट्रिय युवा संघ नेपालमा समाजवाद हुँदै साम्यवाद तर्फको यात्रामा हिडेका युवाहरु भएकोले बिचारमा दृढ हुनुपर्ने र बहकिनु नहुने बताए । बिचार, पार्टी र नेतृत्वको रक्षा गर्न राष्ट्रिय युवा संघ किञ्चित पछि पर्नु नहुने प्रष्ट पार्दै उनले विरोधीहरु बिरुद्ध बोल्न नसक्ने युवा राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता हुन नसक्ने उद्घोष समेत गरे । राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेता बस्नेतले सत्ता र शक्तिको आधारमा आफ्ना युवा शक्तिलाई अनावश्यक दुःख दिने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए ।

    उक्त अवसरमा नेता बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापामाथि आक्रामक रुपले प्रस्तुत भएका थिए । सांसदले बिकास निर्माण गर्ने नभई नीति नियम बनाउने भाषण गर्दै हिड्ने सांसद थापाले ४ महिनामा १ पटक पनि संसदमा बोल्न नसकेको भन्दै उनले व्यंग्य गरे । “संसदमा एक दिन बोल्न सकेका छैनन् यहाँका सांसद । महेश बस्नेत थियो भने चार सय पटक भक्तपुरको आवाज उठाई सक्थ्यो ।” उनले भने ।

    उनले सूर्यविनायक धुलिखेल सडक आयोजनाको लागि ओली सरकारले १० अर्व छुट्याएको तर त्यसको जस लिन काँग्रेस र सांसद थापा लागिरहेका उल्लेख गरे । त्यतिमात्र होइन, १० अर्वको ठेक्का लगाउदा अन्तराष्ट्रिय ठेक्का गर्नुपर्ने भएकोले ठेकेदारको मिलेमतोमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीले ३८ करोड कमिसन लिएर ठेक्कालाई २ टुक्रा गरेर ठेक्का लगाइएको उनले आरोप लगाए । ”त्यो कमिसनको ३ करोड चुनावको २ दिन अघि भक्तपुर आइपुग्यो र हामीले हार्नुपर्यो ।” निवर्तमान सांसद बस्नेतले दावी गरे ।

    उनले वर्तमान सांसद दुर्लभ थापाको बिकास गर्ने हुती नभएको समेत जिकिर गरे । महेश बस्नेतले हनुमन्ते करिडोरमा दुई अर्व ल्यायो, दुर्लभले दुई लाख ल्याएर देखाए हुन्छ ।” उनले चुनौती दिए । आफूले भक्तपुरका सबै अस्पतालमा करौडौं बजेट ल्याएको बताउदै नेता बस्नेतले सांसद थापा बजेट ल्याउन नसक्ने मात्र नभई बिकास भाड्दै हिड्ने बिकासबिरोधी भएका समेत बताएका थिए ।”मानव अंग प्रत्यारोपण केन्द्र बन्न नदिएर स्वास्थ्य क्षेत्रका माफियाहरुसँग मिलेको त सबैले देखेकै हो ।” उनले भने ।

    उनले भक्तपुरमा माओवादी, एकीकृत समाजवादी र नेमकिपाको कुनै हैसियत नभएको उल्लेख गर्दै त्यहाँ भित्रका असली कम्युनिष्टलाई एमालेमा ल्याउन अभियान चलाउनुपर्ने आवश्यकता औल्याए । ”हामीले राप्रपाबाट ल्याएका नेताहरुलाई मेयर र सांसद बनाईसक्यौं । अवसर र सम्मानको ग्यारेन्टी गरी असल कम्युनिष्टहरुलाई एमालेमा स्वागत गरौँ ।” उनले भने ।

    नेपाली कांग्रेस चुनाव र सम्मेलनमा गरी ५ वर्षमा २ पटक मात्र उठ्ने कुम्भकर्ण पार्टी भएकाले एमालेको संगठित शक्ति सामू काँग्रेस निरिह रहेको उनको भनाइ छ । प्रचण्डले हेग जानुपर्ने डरले काँग्रेससंग सरकार बनेपनि अबको निर्वाचनमा यी दुवै शक्ति ध्वस्त हुने र देश एमालेमय हुने उनले ठोकुवा समेत गरेका छन् ।

    उक्त अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले एमाले भक्तपुरमा सवैभन्दा ठूलो दल भएको भन्दै माओवादी र एकीकृत समाजवादीका कारण चुनाव हार्नुपरेको जानकारी गराए । पार्टी फुट्दा विगतको बिरासत कायम हुन नसकेको उनको निष्कर्ष थियो । उनले आफू पनि युवा संघकै जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला नेतृत्वमा पुगेको जानकारी गराउदै युवालाई पार्टीले उचित अवसर र जिम्मेवारी दिने विश्वास दिलाएका थिए ।

    त्यसैगरी वागमती प्रदेशका सांसद किरण थापा र सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले युवाहरु पार्टीका पिल्लर भएका प्रष्ट पार्दै युवालाई पार्टीले उचित स्थान दिनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...