News Portal

  • मध्यपुर थिमि क्षेत्र सिन्दुरमय

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २ बैशाख २०८०
    ३४० पटक
    मध्यपुर थिमि, २ बैशाख २०८०

    भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको अवसरमा मध्यपुर थिमिमा हुँदै आएको सुथसिया अर्थात सिन्दुर जात्रा सम्पन्न भएको छ । आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं स्थानीयले एक आपसमा सिन्दुर छरेर जात्रा मनाएका हुन् ।

    परापूर्व कालमा एउटा राक्षसले गाउंमा छिरेर दुख दिएको र त्यसलाई सबै जनताले मिलेर कहिले नफर्किने गरी गाउँबाट लखेटेको खुसीयालीमा सिन्दुर जात्रा मनाउन थालिएको किंवदन्ती छ ।

    ३२ खट्को जात्रा पनि भनिने यो जात्रामा मध्यपुर थिमि क्षेत्रका विभिन्न स्थानीय इष्ट देवी देवताका ३२ खट् बालकुमारी परिसरमा भेला गराई सिन्दुर जात्रा शुरु हुने परम्परा छ । यस पटक भने २६ खट्को सहभागिता रहेको थियो । आ आफ्नो टोलका ईष्ट देवी देवताका खटसहित हातहातमा धपक्क बलेको चिलाख लिएका समूह, त्यसपछि धिमे, भुस्या, छुस्या र काँय् बाजा बजाउनेको समूहसहित आएका मानिसहरु बालकुमारी मन्दिर परिसरमा जम्मा भै सिन्दुर जात्रा गरेका मध्यपुर सँचार समाजका अध्यक्ष बाबुकाजी साछें श्रेष्ठले जानकारी गराएका छन् ।

    बालकुमारी परिसरमा बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत बालकुमारी मन्दिरमा राखिएको थियो । आज बिहान सिद्धिकाली देवी आफ्ना गणका देवी देवताका खटसहित बालकुमारी परिसरमा प्रवेश गरेका थिए । सिद्धिकालीको खट बालकुमारीमा ल्याएर विराजमान गराएपछि बालकुमारीले सिद्धिकालीलाई सिउ दिएर स्वागत सत्कार गरेका थिए । त्यसपछि पमा नाईकेहरुको अनुमतिले बालकुमारीको खट उचालेर जात्रा शुरु गरिएको थियो ।

    बालकुमारीको खट उचालेसँगै बालकुमारीको जयजयकार र धिमे, भुस्या, छुस्या र काँय्बाजाको तालले बालकुमारी परिसर जुरुक्क उचालिएको अनुभुती भएको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।

    जात्रा शुरु भएसँगै बालकुमारीको खट दथुटोलहुँदैं नगरपरिक्रमा गराएको थियो । बालकुमारीको खटसँगै लहरै सबै देवीदेवताका खटलाई पनि नगरपरिक्रमा गराएको थियो ।

    जात्रामा लाय्कु दरवारको मुल ढोका अघि बालकुमारीलाई बाटो छेक्ने परम्परा रहेको छ । बालकुमारी दरवारभित्र पस्छ भनी सिद्धिकाली, बालाखुचा द्योलगायतका देवी देवताले बाटो छेकेर बस्ने गर्दछ ।
    थिमिको दिगुटोलबाट सिद्धिकालीको गणका देवी देवताका खट चपाचो क्षेत्र लैजाने र बालकुमारी, दक्षिण बाराही र विष्णुवीरका गणका देवी देवताका खट पुनः बालकुमारीतर्फ ल्याएका थिए ।

    परम्परा अनुसार यसवर्ष बालकुमारीको खटसहित दक्षिण बाराही, विष्णुवीर लगायतका देवताका खट शंखधर चोक हुँदैं दक्षिण बाराही मन्दिर ल्याएका थिए । बैशाख २ गते शनिवार परेमा बालकुमारीको खटसहित दक्षिण बाराही, विष्णुवीर लगायतका देवताका खट दक्षिण बाराही मन्दिर लैजाने परम्परा रहेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

    यसका अतिरिक्त नगरको बोडे, नगदेश र लौहकिन्थलीमा भने बालकुमारीमा नल्याई छुट्टै नै खट निकालिएको छ ।

    मध्यपुर थिमिको वडा नं. ७ नगदेशमा पनि सिद्धिगणेशको खटलाई वडाका सबै टोलटोलमा परिक्रमा गराएर जात्रा मनाएका छन । परम्परा अनुसार सिद्धिगणेशको खट पनि बालकुमारी ल्याउनुपर्ने भएपनि केही वर्ष अघि भएको एक घटनाले सिद्धिगणेको खट बालकुमारी ल्याउने परम्परा टुटेको हो । नगदेशमा पनि हजारौं स्थानीयले एक आपसमा सिन्दुर छर्केर हर्षोल्लासका साथ सिन्दर जात्रा मनाएका हुन ।

    यस्तै मध्यपुर थिमिको वडा नं. १ लोहकिल्थलीका स्थानीयले पनि सिद्धिकालीको खटलाई परिक्रमा गराई सुथसिया जात्रा मनाएका छन । वडा नं. १ को प्रजापति टोलका स्थानीय बाजागाजासहित बैशाख १ गते साँझ थिमिको सिद्धिकालीमा पुगेर जात्रा मनाउने परम्परा भएपनि २०६७ सालको बिस्का जात्रादेखी लोहकिल्थलीमा नै सिद्धिकालीको खट निर्माण गरी जात्रा शुरु गरेको बिस्का जात्रा व्यवस्थापन मूल समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् ।

    मध्यपुर थिमि क्षेत्रको बिस्का जात्रामा प्रत्येक चोक, चौबाटो र टोलटोलमा स्थानीयले एक आपसमा सिन्दुर छर्केर खुसीयाली मनाउँदा मध्यपुर थिमि क्षेत्र सिन्दुरमय बनेको थियो थियो स्थानीय हर्षित भएका थिए ।

    जात्रा अवलोकन गर्न जनप्रतिनिधि, राजनीतिक व्यक्तित्वका अलावा उच्च पदस्त सरकारी एवम गैरसरकारी अधिकारीका साथै बिभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...