भक्तपुर, १६ जेठ २०८०नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उपाध्यायले आफ्ना विरूद्ध भ्रम फैलाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
प्रवासी नेपाली समाजको निमन्त्रणामा जापानमा रहेका नेकपा(एमाले)का पोलिटब्युरो सद्स्य महेश बस्नेतमाथि त्यहाँस्थित उनकै कार्यकर्ताले जुत्ता प्रहार गरेको स्टाटस सामाजिक संजालमा लेखेपछि उपाध्यायप्रति बस्नेत आक्रोशित बनेका छन् । आफू विरूद्ध हुँदै नभएको भ्रम फैलाएर उपाध्यायले बौद्धिकताको नाममा अराजकता देखाएको उनको भनाइ छ । आफू बिरुद्ध सामाजिक संजालमा विष बमन गरिरहने उपाध्यायको मानसिक सन्तुलन गुमेको भन्दै उनले आक्रोश पनि पोखेका छन् । पूर्व सचिव उपाध्याय सामाजिक संजालमा धेरैले पछ्याउने पात्र हुन् ।
बस्नेतका स्वकीय सचिव दिनेश थापाले पूर्व मन्त्री बस्नेतको जापानमा भब्य स्वागत भएको भनेका छन् । जापानस्थित नेपाली राजदुतावासमा १६औं गणतन्त्र दिवसको अवसरमा सोमबार नेता बस्नेतले जापानमा रहेका सम्पूर्ण नेपालीहरुको अभिलेख राख्ने दर्ता प्रणाली र नेपालीको फोन दुतावासले उठाउने व्यवस्थाको विशेष कार्यको उद्घाटन समेत गरेका उनले जानकारी दिएका छन् ।
७ दिने जापान भ्रमणमा रहेका नेता बस्नेतले विदेशमा आर्जन गरेको नेपाली युवाको सीप, क्षमता, दक्षता, पुँजी तथा अनुभवलाई नेपालीको समृद्धिको लागि प्रयोग गर्नुपर्नेमा पहल गरिरहेका जिकिर गर्दै उनलाई त्यहाँ कुनै किसिमको अभद्र व्यवहार नभएको उनको सचिवालयले जानकारी गराएको छ ।