सानोठिमी, १६ असार २०८०मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा व्यापक आकर्षण देखिएको छ । मेलामा वर्षाको बाबजुत युवा तथा विद्यार्थीहरुको ब्यापक आकर्षण देखिएको हो ।
सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा शनिवार सम्पन्न मेलामा ५० जनाको रोजगारी पक्का भएको आयोजकले जनाएको छ । मेलामा राखिएका विभिन्न संघसंस्था, उद्योग, व्यवसायमा रहेको रोजगारीको अवसरमा आवेदन दिने मध्ये मेला स्थलमा नै ५० जनाको रोजगारी पक्का भएको मेलाका संयोजक एवं मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले जनाएका छन् ।
मेलामा १ सय भन्दा धेरै रोजगारीको अवसरका लागि विभिन्न संघसंस्था, व्यवसाय र उद्योगले आवेदन माग गरेका थिए । मेलामा सबैभन्दा धेरै नीजि विद्यालयकोहरुको संस्था प्याव्सन भक्तपुरले ४१ जनाको लागि रोजगारीको अवसर दिंदै आवेदन माग गरेको थियो । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यवसायिक संघसंस्थाहरुले समेत गरी १ सय भन्दा धेरै रोजगारीको अवसर दिइएको थियो ।
रोजगारको खोजीमा आएकाहरु मध्ये ४ सय ८० जनाले आफ्नो अनुकुल रोजगारीको लागि आवेदन दिएका थिए । ५० जना आवेदक लाई मेलामै जागिर ग्यारेन्टी गरिएपनि अन्यका हकमा उनीहरुको योग्यता र आवश्यकताका आधारमा रोजगारीका लागि बॊलाउन सकिने बिकल्प बाँकी नै रहेको बताइएको छ ।
मेलामा रोजगारी प्रदान गर्न ईन्स्योर परियोजनाले ६, भक्तपुर चेम्वर्स अफ कमर्सले ५०, पुर्ण हस्तकला संकलनले ५०, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२, मध्यपुर उद्योग वाणिज्य संघले ११, जिल्ला सहकारी संघ भक्तपुरले ८, प्याव्सनले ११७, बालकुमारी महिला समाज मध्यपुर थिमिले ५०, रोजगारी सर्भिसेज प्रालिले ९८ जनाको व्यक्तिगत विवरण संकलन गरेका छन् । उनीहरुले प्राप्त विवरणको सर्टलिस्ट गरी रोजगारका लागि बोलाउने बताइएको छ ।
यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा १ हजार ६ सय ५० जनाले परामर्श सेवा लिएको मेलाका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले जनाएका छन् । ३ हजार ३ सय जनाले मेलाको अवलोकन गरेका उनले जानकारी दिए ।
मेलामा सहभागिताले आफूहरुलाई उत्साहित बनाएको नगरपालिकाका उप प्रमुख विजय कृष्ण श्रेष्ठ एवं प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिक्रिया दिएका छन् । आफूहरुले रोजगारीका लागि गरेको चुनावी प्रतिवद्धता पूरा गर्न मेला एक प्रयास मात्र ब्भएको भन्दै उनीहरुले रोजगारी सृजनाका लागि थप रचनात्मक काम गर्दै जाने बताएका छन् ।
यस अघि शनिवार बिहान मेलाको उद्घाटन गर्दै संघीय सांसद दुर्लभ थापाले रोजगारी सिर्जना र शीप बिकास तथा करिअर काउन्सेलिङ्गलाई मेलाकै रुप दिएर नगरपालिकाले उदाहरणीय शुरुवात गरेको बताए । सांसद थापाले जनप्रतिनिधिले यसैगरी जनतासंग जोडिएर काम गर्नुपर्नेमा जोड दिंदै नगरपालिकालाई शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनको केन्द्र बनाउन संघीय सरकारको समेत सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।