News Portal

  • जनयुद्ध, जनआन्दोलन र दुर्घटनाका घाइतेलाई भक्तपुर अस्पतालमा शुल्क लाग्दैन : मन्त्री जोशी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ असार २०८०
    ९६१ पटक
    uttam joshiभक्तपुर, २२ असार २०८०

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले भक्तपुर अस्पताल लगायत प्रदेश सरकार मातहत रहेका १३ वटै अस्पतालमा शहिद परिवार तथा जनयुद्ध र जनआन्दोलनका घाइतेहरु, विपन्न परिवार तथा सडक दुर्घटनाका परेका घाइतेहरु त्यसैगरी क र ख वर्गको अपाङ्गता भएका व्यक्ति र बन्य जन्तुको आक्रमणमा परेका व्यक्तिलाई उपचारमा कुनैपनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको बताएका छन् ।

    शुक्रवार भक्तपुर अस्पतालको १ सय १९ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले भने, ” उहाँहरु सबैलाई निशुल्क स्वास्थ्य सेवा दिने बागमती प्रदेश सरकारले व्यवस्था मिलाएको छ । भक्तपुर अस्पताललाई पनि पनि त्यस्ता नागरिकलाई निशुल्क सेवा शुरु गर्न आग्रह गर्दछु ।” जनप्रतिनिधि र कर्मचारी जनताप्रति जवाफदेयी हुनुपर्नेमा जोड दिंदै मन्त्री जोशीले जनताको हितमा नलाग्ने छुट कसैलाई नहुने जिकिर गरे ।

    प्रदेश सरकारले भक्तपुर अस्पतालमा मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत नसर्ने रोगको पहिचान परामर्स र व्यवस्थापनका लागि बजेट छुट्याएको र शैलजा आचार्य अल्जायामर्स रोग रोगथाप र उपचार शिर्षकमा पनि भक्तपुर अस्पताललाई बजेट दिइएको जानकारी गराउदै मन्त्री जोशीले दुवै कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई निशुल्क सेवाको व्यवस्था मिलाइएको बताए । उनले मृगौला रोग पहिचानका लागि पनि निशुल्क परिक्षन्को व्यवस्था प्रदेश सरकारले मिलाएको जानकारी दिए ।

    त्यसैगरी मन्त्री जोशीले यस आर्थिक वर्षदेखि जेष्ठ नागरिकका लागि सबै प्रादेशिक अस्पतालमा दाँत उपचार सेवा निशुल्क गर्न बजेट व्यवस्था गरिएकोले भक्तपुर अस्पतालमा पनि सो सेवा निशुल्क गर्न निर्देशन दिए ।

    मन्त्री जोशीले भक्तपुर अस्पतालको अनुगमन र सेवा सुविधाबारे सेवाग्राहीसंग जानकारी समेत लिएका थिए । सेवाग्राही सन्तुष्ट पाइएका बताउदै उनले भक्तपुर अस्पतालले सेवाग्राहीमैत्री सेवा सुविधा दिएको प्रति सन्तोष व्यक्त गरे । उनले भक्तपुरका जनप्रतिनिधि र सरोकारवालाले यस अस्पतालको हित अभिवृद्धिमा गरेको योगदानको उच्च कदर गर्दै प्रदेश सरकार सहकार्यका लागि सधै तयार रहेको बताए ।

    कार्यक्रममा मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालमै आफू जन्मिएको बताउदै यस ऐतिहासिक बिरासत बोकेको अस्पतालको बिकासमा कुनै कसर बाँकी नराख्ने बताए । ढकालले भक्तपुर अस्पतालमा सिटी स्क्यान संचालनका लागि ८ करोड रुपैया यो वर्षको बजेटमा बिनियोजन गरिएको बताउदै यस अस्पतालको स्तर उन्नतीका लागि आफूहरु सदैव तत्पर रहने प्रतिवद्धता प्रकट गरे ।

    उक्त अवसरमा बागमती प्रदेश सभाका सदस्य सुरेश श्रेष्ठले आगामी वर्ष भक्तपुर अस्पतालमा एमआरआइ सेवा बिस्तार गर्न आफूले पहल गर्न बताए । अर्का सांसद भुवनकेशरी श्रेष्ठ भावनाले वीर अस्पतालको पछि भक्तपुर अस्पताल स्थापना गर्न सक्षम उतीबेलाको दुरदर्शी नेतृत्वका तुलनामा केही गर्न नसकिएको स्वीकार गर्दै सबै मिलेर भक्तपुर अस्पताललाई देशकै सुविधासम्पन्न अस्पताल बनाउन लाग्नुपर्ने बताइन । त्यस्तै प्रदेश सभाकै अर्की सांसद धनेश्वरी प्रजापतिले भक्तपुर र भक्तपुर अस्पतालको बिकासको सवालमा आफूले अर्को कुनै स्वार्थ नराखेर सहयोग गर्दै आएको र निरन्तर भक्तपुरको बिकासको पक्षमा उभिने बताइन ।

     

    कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य र शिक्षामा भक्तपुर अस्पतालले निजीलाई प्रोत्साहित नगर्ने प्रष्ट पारे । त्यतिमात्र होइन उनले नगरपालिकाले आफ्नो र आफू मातहत रहेका संस्थाको खाता समेत निजी बैंकमा नखोल्ने नीति लिएको खुलासा गरे । सरकार बलियो बनाउन सरकारी संस्थाहरु बलियो बन्नुपर्नेमा जोड दिंदै उनले निजी भनेको नाफामै केन्द्रीत हुने भएकाले सरकारीलाई नगरपालिकाले हरेक क्षेत्रमा प्राथमिकता दिदै आएको बताए ।

    भक्तपुर अस्पतालको नेतृत्वले जनताको हितलाई केन्द्रमा राखी काम गरिरहेकोले नगरपालिकाले पनि भक्तपुर अस्पताललाई सहयोग गर्न कन्जुस्याई नगरेको उनको भनाइ छ । भक्तपुर अस्पताल र ख्वप अस्पतालले गत वर्ष ४ लाख बिरामीलाई उपचार गरेको तथ्यांक पेश गर्दै उनले यस्ता सेवामुखी अस्पताललाई सबैको साथ् र सहयोग हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले हिजो अस्पतालको बेथिति बारे समाचार दिंदा दिंदा दिक्क लाग्ने गरेको र आज अस्पतालको प्रगती बारे सूचना दिंदा आनन्द मिल्ने गरेको बताउदै अस्पतालसामु प्राप्त उपलब्धीको रक्षा गर्न चुनौती रहेको बताएका थिए ।

    अस्पतालका अध्यक्ष रमण श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा मेसु डा सुमित्रा गौतमले अस्पतालको विगत र वर्तमानको समीक्षा गर्दै भावी योजनाबारे पेश गरेकी थिइन् । कार्यक्रममा अस्पतालका डा सुनिल ढुंगेल लाई ‘हिरो अफ द इयर’ बाट सम्मानित गरिएको थियो भने अन्य चिकित्सक तथा कर्मचारी पनि बिबिध विधामा सम्मानित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...