News Portal

  • ख्वप विश्वविद्यालयबारे सांसद थापाको स्पष्टीकरण, नेमकिपालाई दर्जनौ प्रश्न

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २० भदौ २०८०
    २२८४ पटक
    भक्तपुर, २० भदौ २०८०

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालयका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेका छन् ।  ख्वप विश्वविद्यालयको बिषयलाई लिएर नेमकिपाले राजनीतिको रोटी सेकिरहेको आरोप लगाउदै सांसद थापाले आफूलाई विश्वविद्यालय बिरोधी देखाउन खोजेको प्रति आपत्ति प्रकट गर्दै आफू विश्वविद्यालय विरोधी नभएको स्पष्टीकरण दिएका हुन् ।

    नेमकिपाको मुखपत्र मजदुर दैनिकमा प्रकाशित पाठक पत्रमा आफूले बोलेको विषयलाई एक जनप्रतिनिधि भनी छद्मभेषी नाममा विषयान्तर गर्ने प्रयास भएको र सफेद झुठ बोली आफूलाई ख्वप विश्वविद्यालय विरोधी देखाएर राजनीतिक स्वार्थ सिद्ध गर्ने दुस्प्रयास गरिएको उनको दावी छ ।

    जिल्ला समन्वय समिति भक्तपुरले भदौ १७ गतेदेखि १९ गतेसम्म जिससको सभाहलमा आयोजित वार्षिक समिक्षा बैठकमा  ‘ख्वप विश्वविद्यालय कुनै एक अमुक पार्टी र भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरबासी र भक्तपुरका सबै राजनीतिक दलहरुले अपनत्व लिन सक्ने हुनुपर्ने’ भन्ने धारणा आफूले राखेको उनले स्पष्ट पारेका छन् ।

    उनले आफू  भक्तपुरको सांसद भएको र भक्तपुरमा अरुपनि सांसद रहेको भन्दै निर्वाचन जितेको ९ महिना बितिसक्दा पनि भक्तपुर नगरपालिकाले जिल्लाका संघिय र प्रदेश सांसद, अन्य नगरपालिकाका प्रमुख, उपप्रमुखहरुलाई ख्वप विश्वविद्यालयको अवधारणा, यसको उद्देश्यका बारेमा कुनै जानकारी नदिएको, एक पटकपनि छलफलको लागि नबोलाएको अवस्थामा कसरी ख्वप विश्वविद्यालय स्थापनाको लागि संसद र अन्य निकायमा आवाज उठाउने ? भनी प्रश्न गरेको जानकारी दिए ।

    ख्वप विश्वविद्यालयको पक्षमा आवाज उठाउन पहिला अपनत्व हुनुपर्ने उल्लेख गर्दै उनले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालयको बारेमा सबै राजनीतिक दल र जिल्लाबाट संघिय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग र अन्य नगरपालिकाका प्रमुखहरुसँग पछि छलफल गर्न र सबैलाई अपनत्व ग्रहण गर्न सकिने वातावरण बनाउन आग्रह र सुझाव दिएको उनको भनाइ छ ।

    ”एक जनप्रतिनिधि भनी छद्मनामधारी व्यक्तिले आफ्नो आसयलाई बंग्याएर विश्वविद्यालयमा भाग खोजेको, भागवण्डाको राजनीति गर्न खोजेको जस्तो आरोप लगाउनु ख्वप कलेजलगायतका शैक्षिक संस्थामा आफूले खाईपाई आएको र आफूले एकलौटी गर्दै आएको भाग खोसिएला भन्ने डर सिवाय अरु केही होइन ।” उनले भने ।

    भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टी शैक्षिक संस्थामा राजनीति गर्नुहुँदैन भन्ने तर भक्तपुर क्याम्पस लगायत देशभरका अन्य क्याम्पसहरुको स्ववियु र प्राध्यापक संघको निर्वाचनमा भाग लिने, भागवण्डा गर्ने गर्दै आएको घाम जस्तै छर्लङ भएको उनको भनाइ  छ ।

    “भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शैक्षिक संस्थामा नेमपिकाले पार्टीको विचार प्रचार प्रसार गर्ने कार्यक्रम गर्छन । विद्यार्थीहरुलाई नेमकिपा राजनीतिक कार्यक्रममा सहभागी गराउँछन । शिक्षक, कर्मचारीहरुसँग पार्टीका लागि लेभी उठाउँछन । तर त्यही शैक्षिक संस्थाहरुमा अन्य दलका विचारलाई निषेध गरिएको छ । यो पनि सत्य हो,” उनले प्रश्न गरे “के भक्तपुर नगरपालिकामा नेमकिपाको एकल प्रतिनिधित्व छ भन्दैमा उसले सञ्चालन गरेका शैक्षिक संस्थाहरु नेमकिपाको पेवा हो ? के नारायणमान बिजुक्छेंको मात्र भक्तिगान गाउनुपर्ने संस्था हो ?”

    “नेमकिपा र यसका अध्यक्ष बिजुक्छें विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण दिनुपर्ने, विद्यार्थीहरुले पनि राजनीतिमा चासो राख्नुपर्ने, युवा विद्यार्थीहरुलाई राजनीति शास्त्र अध्ययन गराउनुपर्ने विचार राख्छन । के यो विचार नेमकिपाको सिद्धान्त मात्र पढ्नु र पढाउनुपर्छ भन्ने हो ? राजनीतिक भनेको नेमकिपा र उसको विचार मात्र हो ? भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरुमा अन्य राजनीतिक दलका विचारहरु पठनपाठन गराउन बन्देज हो ?” उनले अगाडि भने ।

    सांसद थापाले छद्म नाममा प्रकाशित पाठक पत्रमा आफू सँग सम्बन्धित नै नभएको विषय समेत उठान गरेर बदनाम गराउने षडयन्त्र गरिएको भन्दै दु:ख व्यक्त गरे । “के बागमती प्रदेशको बजेट मैले हाल्ने हो ? यसको बजेट बाँडफाँडमा मेरो भूमिका रहन्छ ? प्रदेश सरकारको काम कारवाहीमा संघिय सांसदको कुनै भूमिका नहुने स्पष्ट हुँदा हुँदै पनि जबरजस्ती उक्त विषय उठान गर्नु मलाई बदनाम गराउने दुषित मनसाय सिवाय अरु हुन सक्दैन ।” उनले भने ।

    नेपालका कम्युनिष्टहरु आफूलाई कामदार वर्ग, शोषित पिडित वर्गको प्रतिनिधि ठानेपनि ब्यवहार त्यस्तो नगर्ने उनको दावी छ । नेमकिपा त झन बढी क्रान्तिकारी कुरा गर्ने र कोरिया, क्युवाको आदर्श छट्ने तर, आफूहरु आलिशान महलमा बस्ने र मजदुर किसानलाई बेवास्ता गर्ने उनको आरोप छ । “उहाँहरु मजदुर किसानको प्रतिनिधि भन्नुहुन्छ, त्यही मजदुर किसानको जग्गामा प्लटिङ गरेर आवास विकास गर्नुहुन्छ र कौशी खेतीको प्रवर्दनको नाटक गर्नुहुन्छ । यो भनेको हात्तिको देखाउने र चपाउने दाँत जस्तै हो । के नेमकिपाका नेता कार्यकताहरुको जीवनशैली कुनै पुँजीपतिहरुको भन्दा कम छ ?” उनले प्रश्न गरेका छन्  ।

    “मानिसहरु निश्चय नै अवसरको खोजीमा रहन्छन । अवसरकै खोजीमा संसारका मानिसहरु एक स्थानबाट अर्को स्थानमा बसाईं सरिरहन्छ । नेपाली युवाहरुपनि अवसरको खोजीमा विदेशिनु कुनै नौलो कुरा होइन । यद्यपी नेपालमै युवाहरुले चाहेजस्तो अवसरको सिर्जना गर्ने दायित्व सरकारको हो । तर के यो दायित्व सरकारको मात्र हो ? स्थानीय सरकारको पनि होइन ? हो भने भक्तपुर नगरपालिकाले वर्षेनी कति जनालाई रोजगारी दिए ? के भक्तपुर नगरका युवाहरुलाई विदेश जान नगरपालिका र नेमकिपाले रोक्न सके ? नेमकिपाका नेताहरु स्वयम का छोराछोरी किन विदेशमा पठाएको ? जनताको छोराछोरीलाई विदेश जान हुँदैन भन्ने आफ्नालाई भने त्यही पुँजीपति भनिएका देशमा पठाउने । यस्तो दोहोरो राजनीति कहिलेसम्म चल्छ ?” उनले नेतामाथि प्रश्न गरे ।

    “भक्तपुर नगरभित्र कति कलकारखाना उद्योग खुले ? के भक्तपुर नगरपालिकाले स्वरोजगारको लागि तालिम मात्र दिने हो ? उद्योग खोल्ने वातावरण बनाईनु पर्छ की पर्दैन ? भएको भक्तपुर औद्योगिक क्षेत्रलाई अन्यत्र स्थानान्तरण गर्न लगातार दवाब दिइरहेको नगरपालिकाले कसरी उद्योग कलकारखाना खोलेर रोजगारीको अवसर सिर्जना गर्छ ?” उनले प्रश्न गरेका छन् ।

    सांसद थापाले आफ्ना बारेमा कुनैपनि प्रतिक्रिया लेख्न कुनै छद्मभेषी नाम उल्लेख नगरी खुलमखुल्ला छलफल, बहस गर्न तयार रहेको र त्यसका लागि सक्षम समेत रहेको बताउँदैं यस्ता छद्मभेषी गतिविधिले कदापी विचलित नहुने समेत बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...