News Portal

  • ज्यापू दिवसमा भक्तपुरका पत्रकार किसी सम्मानित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० पुस २०८०
    ३९६ पटक
    भक्तपुर, १० पुस २०८०

    भक्तपुरका पत्रकार कृष्ण किसी ज्यापू दिवसका अवसरमा सम्मानित भएका छन् । किसी ज्यापू समुदायको युवा प्रतिभा (सञ्चार) बाट पुरस्कृत भएका हुन् । पुरस्कारको राशी रु १० हजार रहेको छ ।

    य:मरी पुन्ही तथा २० औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले मंगलबार काठमाडौको वसन्तपुरमा आयोजित एक विशेष समारोहका बीच किसीलार्ई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पुरस्कृत एवं सम्मानित गरिएको हो ।

    दुई दशक देखि पत्रकारितामा क्रियाशील किसी नागरिक दैनिकका भक्तपुर समाचारदाता हुन् । उनी ख्वप विद्यालय र कलेजमा पत्रकारिता विषय अध्यापन पनि गर्दछन । उक्त अवसरमा किसी संगै पत्रकारिताबाहेक अन्य विविध विधाहरुमा गरी २७ जनालाई सम्मान गरिएको बताइएको छ ।

    ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् ।

    पढ्नुस् प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

    सर्वप्रथम २० औं राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका ज्यापु समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भिन्तुना।

    नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो। भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ। विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो। यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

    नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन् । नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन् । यस राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरूबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।

    सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएका छन्। यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको छ। तिनीहरूको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो। यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ।

    काठमाडौं महानगरपालिकाभित्रका ज्यापुहरूले विभिन्न वाधा अड्चनको वावजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी आएको प्रयासलाई नेपाल सरकारले कदर गर्दै आइरहेको छ । सरकारको सानो सहयोगबाट सुरू भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौं उपत्यकाभित्रका ज्यापुहरूलाई मात्र नभएर मोफसलमा बसोबास गरेका ज्यापुहरूसमेत समेटेर बिसौं राष्ट्रिय ज्यापु दिवस मनाएकोमा तपाईहरूलाई बधाइ ज्ञापन गर्दै आगामी दिनमा समेत नेपाल सरकारको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

    तपाईहरू सबैलाई अवगत नै छ– म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको थिएँ । अहिले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको छ । यसका साथै नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारका निम्ति मैले लगातार संघर्ष गर्दै आइरहेको छु । आगामी दिनमा समेत मेरो र नेपाल सरकारको तर्फबाट यहाँहरूलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

    ज्यापु दिवसको अवसर पारेर तपाईहरूले मलाई गर्नुभएको सम्मानका निम्तिसमेत आयोजक संस्था, ज्यापु समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, पहिचान र अधिकार प्राप्तिको सङ्घर्षमा संविधानप्रदत्त बाटोबाट अगाडि बढ्न सबैमा आग्रह गर्दछु ।

    अन्त्यमा, राष्ट्रिय ज्यापु दिवस–२०८० ले नयाँ जोश, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...