News Portal

  • भक्तपुर प्रहरीको पहिलो नागरिक सुनुवाई, गुनासो सम्बोधन गर्ने एसपी बिष्टको प्रतिवद्धता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० पुस २०८०
    ५०२ पटक
    भक्तपुर, २० पुस २०८०

    जिल्ला प्रहरी परिसर भक्तपुरले जिल्लामा पहिलोपटक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीको सेवाको विषयलाई लिएर परिसरले शुक्रवार पहिलोपटक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा जिल्लाका ४ वटै नगरपालिकाको ३८ वटै वडाका नागरिकको प्रतिनिधिमुलक सहभागिता रहेको परिसरका सूचना अधिकारी एवं डिएसपी बसन्त पाठकले बताएका छन् । समाजका बिभिन्न वर्ग र पेशाको समेत उत्साहजनक प्रतिनिधित्व भएको उनको भनाइ छ ।

    भक्तपुरका प्रहरी प्रमुख रहेका एसपी बेद बिष्टको अध्यक्षतामा भएको उक्त नागरिक सुनुवाई कार्यक्रममा संस्कृतीविदहरु प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ, प्राडा उत्तम कर्माचार्य, अनन्त प्रसाद धौभडेल, रवीन्द्र पुरी र पर्यटन व्यवसायी दिपेशराज शर्मा लगायतले भक्तपुरको पुरातात्विक तथा साँस्कृतिक सम्पदा संरक्षण गर्न, उक्त क्षेत्रमा हुने हुलहुज्जत र अश्लिल गतिविधि रोक्न र सवारी साधनलाई व्यवस्थित बनाइ पर्यटकलाई सुविधा प्रदान गर्न तथा सम्पदा क्षेत्रको महत्व बढाउन थप सक्रियताको आवश्यकता औल्याएका छन् ।

    त्यसैगरी समाजसेवी श्याम सुन्दर धौभडेलले अपराध र दुर्घटना न्यूनीकरण गरे मात्र प्रहरी सफल हुने बताएका छन् । पूर्व प्रहरी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी बिनोद चरण रायले लागूऔषधको दुर्व्यसनबाट युवालाई जोगाउन समुदाय र प्रहरी मिलेर अघि बढ्नुको बिकल्प नभएको बताउदै युवालाई सचेतनासंगै कारोवारीको जालो तोड्नपर्नेमा जोड दिएका छन् ।

    शिक्षाकर्मीहरु राम हाडा, भक्तराज भण्डारी, सिंह लामा लगायतले विद्यार्थीहरुलाई प्रहरीका विविध जनचेतना मूलक कार्यक्रममा सहभागी गराएर देश र जनताप्रति उत्तरदायी बनाउन सकिने सम्भावना बारे बोल्दै उनीहरुलाई झैँझगडा, लागुऔषध र साइबर क्राइम लगायतबाट बचाउन प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका छन् ।

    कार्यक्रममा सिविआरका प्रतिनिधिले अपाङ्गता भएकाहरुको अधिकार रक्षाको लागि प्रहरीले विशेष काम गर्नुपर्नेमा जोड दिंदै अपाङ्गता भएकाहरु समाजका खराब मानिससंग मात्र नभई आफ्नै परिवार र आफन्तहरुबाट समेत प्रताडित भएको हुनसक्ने तर्फ ध्यान दिएर अनुसन्धान र उद्धारका कार्य गर्न आग्रह गरे ।

    उक्त अवसरमा उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायी कृष्णेश्वरी हाडाले लैंगिक हिँसा र कार्यालयमा हुने महिला हिँसाका घटना बाहिर आउँन नसकेको तर्फ ध्यानाकृष्ट गराइन ।

    नागरिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जगत कृष्ण प्रजापति र सचिव संजीप घिमिरे शुभचिन्तकले नागरिकको गुनासो सुन्ने कार्यक्रम शुरुवात गरेकोमा प्रहरी नेतृत्वको प्रशंसा गर्दै अझै पनि जिल्लामा चोरीका घटना घट्न नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्रहरी र सरकारी वकिल बीच अपराध अनुसन्धान र मुद्दा दर्ताको विषयमा असमझदारी देखिने गरेको भन्दै दुवै पक्ष निर्दोष नपरुन र दोषी नउम्किउन भन्नेमा सचेत र एकतावद्ध बन्नुपर्ने बताए । उनीहरूले ट्राफिक नियम तोड्ने सवारी र सम्भावित अपराधीबारे नागरिकले सजिलै शब्द, फोटो वा भिडियो मार्फत सूचना गर्न सक्ने गरी सामाजिक संजाल वा भाइवर तथा ह्वाट्सएप चलाउन र कारवाही गर्न सुझाव समेत दिएका छन् ।

    उक्त अवसरमा नागरिक प्रतिनिधिहरुले सबै प्रहर जागा रहेर नागरिकको सुरक्षा गर्ने प्रहरीप्रति नागरिक समुदाय अनुग्रहित रहेको उल्लेख गर्दै कतिपय प्रहरीका व्यक्तिगत आचरण र ब्यवहारजन्य कमजोरीले सिंगो प्रहरी संगठनको साख गिर्नसक्ने तर्फ सचेत रही नागरिकमैत्री कार्यसम्पादन गर्नपर्ने प्रष्ट पारेका छन् । उनीहरुले दबाब र प्रभावमा प्रहरी पर्न नहुने बताउदै कानुनी राज्यको अनुभूती दिलाउन र दण्डहिनताको अन्त्यगरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र नागरिक हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा जिल्ला प्रहरी परिसरका प्रमुख रहेका एसपी बेद बिष्टले नागरिक सुनुवाईले प्रहरीलाई आफ्नो कामबारे पृष्ठपोषण प्राप्त भएको प्रतिक्रिया दिएका छन् । व्यक्त बिचारहरूबारे प्रहरीले कुनै रिसिवी नराख्ने जिकिर गर्दै उनले कार्यक्रममा प्रस्तुत धारणा र सुझावलाई ग्रहण गरी सेवालाई थप सुधार गर्ने पनि प्रतिवद्धता प्रकट गरेका छन् । कार्यक्रममा नागरिकका बिबिध जिज्ञासाबारे उनले प्रष्ट पार्ने प्रयास गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...