News Portal

  • युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १ जेठ २०८१
    ५१८ पटक
    भक्तपुर, १ जेठ २०८१

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण गरिएको छ । यसले पत्रकारितालाई नयाँ चरणमा प्रवेश गराएको र संगसगै आचार संहिता कार्यान्वयन लागायतका विषयमा चुनौती थपिदिएको विश्लेषण गरिएको हो ।

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलवार भक्तपुरमा सम्पन्न युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताको सवाल विषयक अन्तरक्रिया कार्यक्रमा बिज्ञहरुले सो विश्लेषण गरेका हुन् ।

    सहभागीहरुले प्रविधिको बिकासले सञ्चारका माध्यमहरुमा पनि नयाँपन ल्याउने गरेको स्मरण गर्दै संचारको नयाँ माध्यमलाई हाउगुजीको रुपमा बुझ्न नहुने बताए । पत्राकरिता क्षेत्र संचार माध्यमका कारण प्रभावित हुनुनहुनेमा जोड दिंदै वक्ताहरुले समाचारको कन्टेन्ट नै पत्रकारिताको प्राण भएको प्रष्ट पारेका छन् । पर्चा छरेर प्रचार गर्ने शैलीले पत्रिकाको महत्व कमजोर पार्न नसके जस्तै अनलाइन र युट्युबका सस्ता भाइरल कन्टेन्टले पत्रकारितालाई कमजोर पार्न नसक्ने उनीहरुको निष्कर्ष छ ।

    प्रविधिको आधुनिकता बाट प्रेस जगत भाग्न नसक्ने भन्दै बक्ताहरुले न्यु मिडियाका रुपमा आएका युट्युब र अनलाइन लाई व्यवस्थित गरी पत्रकारिताको आचार संहिता भित्र राखेर संचालन गर्नुपर्नेमा जोड दिए । त्यस्ता मिडियाका कन्टेन्टलाई नियमन गरी आधिकारिक र बिश्वश्नीय समाचारको श्रोत् बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

    कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब र अनलाइन सञ्चारको एक माध्यम मात्रै भएको भन्दै पत्रकारहरुले चलाउने यी मिडिया र आम नागरिकले चलाउने सामाजिक प्लेटफर्म बीच फरक छुट्याउनसक्नुपर्ने आवश्यकता औल्याए । संचार सम्बद्ध संस्थाहरुमा दर्ता रहेका युट्युब र अनलाइनलाई पत्रकार आचार संहिताको घेरा भित्र राख्न सजिलो हुने भएपनि दर्ता नहुने र व्यक्तिगत लहडमा संचालित यस्ता माध्यमले भने मिध्या समाचार संस्प्रेशण गरिरहेका उनले खुलासा गरे । यसले युट्युब र अनलाइनप्रति नै बिस्तारै मानिसहरुको बिश्वास घट्दैजाने सम्भावना रहको भन्दै उनले न्यु मिडियालाई विश्वसनीय बनाइराख्नु चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् ।

    अध्यक्ष बस्नेतले सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गरिनुपर्ने र गल्ती भए सच्याउने तत्परता देखाउनुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले अहिले टेलिभिजन र प्रिन्ट मिडिया पनि युट्युब र अनलाइनमा जानुपरेको जानकारी गराए ।  “अहिले मिडिया डिजिटलाइज भएको छ, यसो भन्दैमा प्रिन्ट मिडियाको भविश्य सकियो भन्ने होइन, अझै पनि प्रिन्ट मिडिया पर्खेर, कुरेर बस्ने जमात छ ।” उनले भने ।
    युट्युब र अनलाइनका कन्टेन्ट बिश्वासनीय बनाउन सम्पादकीय प्रक्रिया पुरा गरेर पत्रकार आचार संहितासहितको कन्टेन्ट पस्कनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले पंचायत कालमा पत्रकारिताको इतिहास स्मरण गरे । उतिबेला मिसन पत्रकारिताको महत्व रहेको र राजाको बारे सहि समाचार लेख्दा पनि जेल जानुपरेको स्मरण गर्दै उनले पत्रकारिता वर्गीय हुने बताए । राजनीतिक स्वतन्त्रता बिना स्वतन्त्र पत्रकारिता सोच्न समेत नसकिने बताउंदै उनले पूर्ण प्रजातान्त्रिक व्यवस्थामा मात्र पत्रकार स्वतन्त्र रहन सक्ने जिकिर गरेका छन् ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रिन्ट मिडिया, रेडियो र टेलिभिजन पनि अनलाइन र युट्युबमा राखेपछि न्यु मिडिया हुने जिकिर गरे । अनलाइनमा राखेर वा इमेल मार्फत ब्यापक पाठक दर्शक समक्ष पुर्याउन सकिने बताउदै उनले प्रेस काउन्सिल नेपाल, बिभाग, मन्त्रालय, सरकार र राज्यले पुरानो र नयाँका नामका संचार माध्यमलाई विभेद गर्न नहुने बताएका छन् ।

    कार्यक्रममा विषय विज्ञ उज्जवल आचार्य र काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमा पछिल्लो समय देखिएका प्रभाव र कन्टेन्टका विषयहरूमा कार्यपत्र प्रस्तुत गरेका थिए। आयोजक प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले स्वागत मन्तब्य राखेका थिए ।

    भक्तपुर जिल्लामा सक्रिय ४ दर्जन बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा अग्रज पत्रकार तीर्थ कोइराला, गोपाल खनाल, सम्पादकहरु दिनेश रेग्मी, अखण्ड भण्डारी,केदार कोइराला, कुलचन्द्र न्यौपाने, राजन शिवाकोटी, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, क्रियाशील महिला पत्रकार समूहकी उपाध्यक्ष रामकला खड्का, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, केन्द्रीय सदस्य ललिता साह, नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष विकल श्रेष्ठ, अमर भुजु, पुष्करराज बुढाथोकी, सल्लाहकार रमेश गिरी, प्रेस चौतारीका उपत्यका प्रदेश अध्यक्ष हेमराज सिलवाल, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य, पत्रकार कौसल भट्टराई, ज्ञानराम श्रेष्ठ, कृष्ण किसी, रत्न कृष्ण श्रेष्ठ, कविता थापा लगायतले न्यु मिडियाको अवस्था र आचार संहिताबारे बिचार व्यक्त गरेका कार्यक्रम संयोजक संस्था नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सचिव संजीप शुभचिन्तकले जानकारी गराएका छन् ।

    सो अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल लगायत काउन्सिलका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...