News Portal

  • अनुमती मागेरै रोए प्रअ महर्जन

    भक्तपुर पोष्ट संवाददाता ललितपुर, १० जेठ २०८१
    २९२ पटक
    ललितपुर, १० जेठ २०८१

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो । केही बेरमै मञ्चमा अतिथिहरूको लस्कर देखियो । माहोल रोमाञ्चक बन्दै थियो । कार्यक्रम सुरु भयो । मञ्च अगाडि सयौँ विद्यार्थी र अभिभावकहरुको उपस्थिति थियो । तर उपस्थित सबैको नजर एकनाशले मञ्चमा रहेका एकजना व्यक्तिमा अडिएको थियो । माहोल रोमाञ्चक थियो । तर, उपस्थित शिक्षक, विद्यार्थी र अभिभावकको आँखा भने रसाइ रहेका थिए । उनीहरू वेलावेलामा आँसु लुकाउने प्रयास गर्दथे । नाक पुछेर, आँखा छोपेर। तर, उनीहरूको घुक्क घुक्क बाहिरै सुनिन्थ्यो ।

    उता सबैको नजरले एकनाशले ताकेपछि मञ्चमा बसेका व्यक्तिले पनि असजिलो महसुस गरिरहेका थिए । उनको पनि सुक्क सुक्क र गला भासिएको आवाज आइरहेको थियो । उनी आफ्नो अनुहारमा देखिएको निरासा र पिर लुकाउन वेला वेला हाँसे जस्तो गरिरहे । अँह उनको अनुहारमा हाँसो कत्ति सुहाएन । बरु लाग्थ्यो उनी रोएको भए वेश हुन्थ्यो ।

    यो दृश्य थियो, उमेरहदका कारण अनिवार्य अवकाश भएका गम्भीर समुन्द्र सेतु माविका प्रअ देवेन्द्र महर्जनको बिदाइको । २०४३ साल चैत २४ गते शिक्षण पेशामा प्रवेश गरेका महर्जन बुधबार ६० वर्षे उमेरहदका कारण विद्यालयबाट बिदा हुँदै थिए । जब देवेन्द्र सरको बिदाइको कार्यक्रम सुरु भयो । सबैतिर सन्नाटा छायो । विव्यस र शिअसंका प्रतिनिधि, शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावकहरूले मायाको चिनो दिँदै पालैपालो उनलाई बिदाइ गर्न थाले । सबैको अनुहार मलिन थियो, आँखा रसाएका थिए । अनुहारमा केही गुमाएको भाव प्रष्ट झल्किन्थे ।

    पहिला विद्यार्थीहरूले छुट्टै कार्यक्रम गरेर बिदाइ गरेपछि फेरि विव्यसलगायत विद्यालय परिवार र स्थानीयको बिदाइ कार्यक्रम सुरु भयो । दृश्य उही दोहोरियो । शिक्षा विज्ञान तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकाश सिंह र महालक्ष्मी नगरपालिकाका शिक्षा विभागका निर्देशक चिरञ्जीवी पौडेलले पहिले बिदाइ गरे । त्यसपछि विव्यस, शिअसं, सल्लाहकार समिति, स्थानीय शिक्षासेवी लगायतले पालैपालो बिदाइ गरे ।

    सबैबाट देवेन्द्र सरको योगदान, कार्यक्षमता र इतिहासको चर्चापरिचर्चा भयो । परिवारका सदस्यसहित मञ्चमा सुकसुकाइ रहेका देवेन्द्र सरभित्र उकुसमुकुस र छटपटि प्रष्ट देखिन्थ्यो । सायद विद्यालय परिवारबाट बिदा हुँदै छु भन्ने सम्झेर होला । कतिले यस्ता महान् छोरा जन्माउने आमा पनि महान हुनुहुन्छ भन्दा मञ्चमै रहेकी आमालाई खुसी लुकाउन गाह्रो भइरहेको थियो । किनभने उनको खुसी मुटुबाट छचल्किएर आँखाबाट बग्न थालेका थिए ।

    देवेन्द्र सरको बिदाइको समय आयो । यतिवेलासम्म मञ्चमा बसेका देवेन्द्र सर तल ओर्लिए । पञ्चेबाजाको टोली अगाडि लाग्यो । दुबो र फूलका मालामा नव दुलाहाझैँ सजिएका देवेन्द्र सरले विद्यालयबाट पाइला अगाडि बढाए । सारा विद्यालय परिवारले पछ्यायो । गेटमा पुगेपछि देवेन्द्र टक्क अडिए । उनले पछाडि फर्केर एकपटक विद्यालयलाई अघाउञ्जेल हेरे । यतिबेला उनका आँखाबाट बगेका आँसुले चस्मा पार गर्दै गालामा धर्साहरू बनाउन थाले । उनले गेटलाई सुम्सुमाए । बिच भूँइमा रहेको एउटा ढुङ्गा लगेर साइडमा राखे । एकपटक फेरि विद्यालयतिर फर्केर गेटलाई ढोगे र अगाडि बढे । उनका पाइलाहरूमा केही परिवर्तनहरू देखिए ।

     

    त्यसपछि नगरमा टोली अगाडि बढ्यो । मान्छेहरू ढोकैसम्म आएर देवेन्द्र सरलाई बिदाइ गरे । केहीले झ्यालहरूबाट चिहाए । बाटोमा हिँड्नेहरूले पनि कानेखुसी गरिरहेको देखिए । देवेन्द्र सर भने हात जोड्दै, वरिपरिकालाई अभिभादन गर्दै, मनको पीडा लुकाएर हाँस्न प्रयास गरिरहन्थे । अन्त्यमा उनको घर आइपुग्यो । अभिभावकका आँखा रसाए । विद्यार्थीहरू भक्कानिए । यसरी ३८ वर्षे शिक्षण पेशाबाट बिदा भएर देवेन्द्र सर त्यही घरमा पुगे । जुन घरबाट उनी ३८ वर्ष पहिले पहिलो पटक शिक्षणका विद्यालयका लागि अगाडि बढेका थिए ।

    २०४३ चैत २४ गते महालक्ष्मी–४, सीतापाखा ललितपुरको सूर्योदय बालविकास प्राविबाट शिक्षण पेशा सुरु गरेका देवेन्द्र सरले एकवर्ष त्यहीँ स्वसेवक शिक्षकको रूपमा पढाए । त्यसपछि २०४४ चैत १८ अस्थायी नियुक्ति लिएर सोही विद्यालयमा पढाउन थाले । सोही विद्यालयमा पढाउँदा पढाउँदै २०४७ असार २१ गते स्थायी नियुक्त भए । त्यसपछि २०५२ साल जेठ १७ गते महालक्ष्मी–२, इमाडोलको गम्भीर समुन्द्र सेतु माविमा सरुवा भएर आए ।

    २०५६ देखि २०७४ सालसम्म सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका देवेन्द्र सर २०७४ चैत १८ गतेदेखि बुधबारसम्म विद्यालयको प्रधानाध्यापकको रूपमा कार्यरत थिए । यसबिच उनी जिल्लाको शैक्षिक उन्नयनमा क्रियाशील प्रअहरूको संस्था शैक्षिक समन्वय केन्द्रको कोषाध्यक्ष, सचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हाल्न सफल भए । यसैगरी नेपाल शिक्षक महासंघ ललितपुरको सहअध्यक्ष,कार्यबाहक अधयक्षको जिम्मेवारी पनि निर्वाह गरे । साथै एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला नेतृत्व हुँदै प्रदेश उपाध्यक्षको जिम्मेवारी सम्हाले ।

     

    जीर्ण अवस्थामा रहेको विद्यालय उनको नेतृतवमा काँचुली फेर्न सफल भयो । विद्यालयको शैक्षिक र भौतिक अवस्था कायापलट गर्न सफल देवेन्द्र सरले विद्यालयमा इञ्जिनियरिङको शिक्षा सुरु गरेर प्राविधिक धारतर्फ पनि अब्बल बनाएका छन् ।

    सायद उनको यही कार्यक्षमता र योगदानले गर्दा होला सायद शिक्षा विज्ञान तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकाश सिंह र महालक्ष्मी नगरपालिकाका शिक्षा विभागका निर्देशक चिरञ्जीवी पौडेललगायतले बिदाइ कार्यक्रममा उनको प्रशंसा गरेर थाकेनन् ।

    महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नन्दकुमार न्यौपाने, विव्यस अध्यक्ष केदारकुमार केसी, शिक्षक अभिभावक संघका अध्यक्ष हरि बहादुर अधिकारी, सल्लाहकार समितिका अध्यक्ष विजय बानियाले उनको योगदानको तारिफ गर्दै उनको बिदाइले विद्यालयलाई असर पर्न नहुने कुरा व्यक्त गरे ।

    पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रविनजंग बस्नेतले देवेन्द्र सरको माया, शिक्षा र व्यवहार सधैँ सम्झिरहने बताए ।सोही दिन नवनियुक्त प्रअ निराकुमारी श्रेष्ठलेसमेत पदभार ग्रहण गरिन्।

    सधैँ हँसिलो अनुहार, सधैँ रसिलो व्यवहार । कसैलाई नपिर्ने, कसैको चित्त नदुखाउने । आँखामा राखेपनि नबिझाउने, सधैँ सबैका प्रिय बनिरहेका थिए देवेन्द्र सर । बच्चादेखि बुढासममका साथी । विद्यार्थी देखि अभिभावकसम्मका हितैषी । शिक्षकहरूका सुख दुखका साथी । जुन विद्यालयमा २० वर्ष पढाए । इँटाइँटा जम्मा गरेर महल ठड्याए । झट्ट हेर्दा ठुलै निजी विद्यालयको झल्को दिने भवन, सुचना प्रविधिमा आधारित शिक्षा, प्राविधिक धारको सिकाइ । यी सबै सफलतामा देवेन्द्र सरको पसिना मिसिएको छ ।

    मलाई आफ्नो घर परिवार छाडेर बिदा भएको अनुभूति भइरहेको छ । देवेन्द्र सरले भने । सधैँ छिटो खाना खाएर विद्यालय जान हतारिने, राति अवेरसम्म विद्यालयकै बारेमा सोच्ने मेरो दिनचर्या हुन्थ्यो । अब त विद्यालय जान नपर्ने भयो । मनले के मान्छ र खै ? सम्झिँदा पनि रुन मन लाग्छ । यस पटक भने अनुमती मागेरै रोए ।

    विद्यार्थीहरु साँझ अवेरसम्म उनलाई छाड्न मानिरहेका थिएनन् ।

    प्रतिकृया दिनुहोस्

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...