News Portal

  • गठ्ठाघर दुर्घटना : छोरीको स्कुटी लिएर आएका उत्तमको दर्दनाक अन्त्य

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३२ साउन २०८१
    ८७५ पटक
    भक्तपुर, ३२ साउन २०८१

    भक्तपुरको मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित छ लेन सडकमा बिहीवार दिउँसो भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका व्यक्ति ओखलढुङ्गाका उत्तम कोइराला रहेको पुष्टि भएको छ । आफन्तले शव पहिचान गरेको प्रहरीले पुष्टि गरेको हो ।

    भक्तपुर प्रहरीका प्रमुख रहेका एसपी बेद बिष्टले मृतकबारे केही अनलाइनले गलत सूचना संस्प्रेषण गरेका भन्दै मृतक महिला नभई पुरुष भएका बताए । ”गठ्ठाघर दुर्घटनामा ओखलढुङ्गा चिशंखुगढी गाँउपालिका वडा नं. ४ खहरे घर भई हाल काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोईरालाको ज्यान गएको पुष्टि भएको छ ।” उनले भने ।

    मृतकका आफन्त होमकुमार दाहालले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार मृतक कोइराला तत्कालिन जनकपुर चुरोट कारखानाका पूर्व कर्मचारी हुन् । कारखाना बन्द भएपछि उनी काठमाडौंमा आएर संघर्ष गर्दै छोरीहरुलाई पढाइरहेका थिए । कपनको सरस्वती नगरमा उनको घर रहेको छ ।

    माइली छोरी साउन २२ गते अमेरिका उडेपछि छोरीको स्कुटर लिएर बिहीवार कोइराला भक्तपुर आएका थिए । छोरीले चलाउदै आएको स्कुटी केही दिन अघि देखि उनले चलाउदै आएका थिए ।

    कोइराला फेरि कहिल्यै नफर्किने गरी गठ्ठाघरमा अस्ताएपछि आफन्तहरु स्तब्ध भएका छन् । छोरीलाई कानुनको स्नातकोत्तर तह एलएलएम पढाउँन अमेरिका पठाएका कोइरालाको छोरी प्रतिष्ठित कानुन व्यवसायी भएको हेर्ने रहर अधुरै रह्यो । उनी बिहीबार भक्तपुर आउनुको कारणबारे भने परिवारजन बेखबर छ ।

    उनका ३ छोरीहरु टुहुरा भएका छन् भने घरमुलीको दुखान्त निधनले श्रीमतीलाई ठुलो मानसिक आघात परेको छ । उनी घरीघरी बेहोस हुने गरेकी छन् । आफन्तलाई उनले छोरीहरु पढाउँन र बिदेश पठाउन गरेको ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सताएको देखिन्छ । कोइरालाको जेठी छोरी अस्ट्रेलियामा छिन भने माइलीलाई केही दिन अघि मात्र उनले अमेरिका पठाएका थिए । कान्छी छोरीले भने यसै साल एसईई परीक्षा पास गरेकी छन् ।

    प्राय नलगाउने कुर्ता पाइजामा र इष्टकोटमा सजिएर स्कुटीमा हिडेका कोइराला सवार बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा बिहीवार दिउँसो करिब २ बजेको समयमा ठक्कर दिएको थियो र उनी ट्रकको चक्कामा च्यापिदा शव चिन्नै नसक्ने अवस्थामा पुगेको थियो ।

    भक्तपुर प्रहरीलाई उनको पहिचान गर्न २० घण्टा समय लाग्यो । खुट्टा बाहेक सबै अंग क्षतबिक्षत भएको र उनले लगाएको पाइजामाले गर्दा महिलाको मृत्यु भएको शुरुमा प्रहरीले आसंका गरेको थियो । दुर्घटनाको ३ घण्टा पछि ट्रकलाई क्रेनले उचालेर शव उठाउँदा पुरुष व्यक्ति भएको जस्तो लागेपनि शवको पहिचान हुन नसकेको एसपी बेद बिष्टले बताए ।

    भक्तपुरपोस्टसंग कुरा गर्दै एसपी बिष्टले मृतकसंग पहिचान खुल्ने कुनै कागजात नभेटिएको र मृतक सवार बा४९प ८९४४ नम्बरको स्कुटरको ब्लु बुक रेकर्डमा सवारी धनी ओखलढुंगाका उत्तम कोइराला देखिएकाले अनुसन्धान गर्दै जाँदा कोइरालाकै ज्यान गएको थाहा भएको जानकारी गराए ।

    कोइरालाको मोबाइल नम्बर स्वीच्ड अफ आइरहेको थियो । ओखलढुङ्गा घर भएका एसपी शान्तिराज कोइराला लगायत प्रहरी अधिकारी एवं जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरेर आफन्तको सम्पर्क भेटिएको र उनीहरुले शवको पहिचान गरेपछि मृतकको सनाखत गर्न सकिएको एसपी बिष्टले भक्तपुर पोस्टलाई बताए ।

    मृतकका आफन्तले भने समाचारमा महिलाको ज्यान गएको भन्दै नाम नै सार्वजनिक भएकाले आफ्नै मानिस परेको भन्ने त्यतिबेला नलागेको जानकारी गराउंदै समाचारका कारण सनाखतमा ढिलाई भएको बताए ।

    बिहीवार घटनास्थलमै आएर दोलखाका एक व्यक्तिले मृतक आफ्नी बहिनी भएको भनेपछि सोही कुरा समाचारमा आएको थियो । गलत सूचना दिएको आरोपमा उनी हाल प्रहरी वृत्त थिमिको नियन्त्रणमा रहेका बताइएको छ ।

    ठक्कर दिएपछि पनि स्कुटी चालकलाई जानीजानी घिसारेर ज्यान लिएको र ट्राफिक चेक पोइन्टका कारण दुर्घटना भएको आरोप लगाउदै दुर्घटनापछि ट्राफिक प्रहरी माथि स्थानीय खनिएका थिए । स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र करिब ३ घण्टा तनावग्रस्त बनेको थियो ।

    एसपी बेद बिष्टको कमाण्डमा जिल्लाका १ सय १८ प्रहरी त्यसैगरी नेपाल प्रहरीका विभिन्न कार्यालयहरुबाट १ सय ३० जनाको थप टोली र सशस्त्र प्रहरीको १ सय २० जनाको प्रहरी टोली समेत घटनास्थलमा खटिएका थिए । २२ सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिन प्रहरी सफल भएको थियो । सो क्रममा एसपी बिष्ट आफैं पनि प्रदर्शनकारीको ढुङ्गा प्रहार बाट घाइते भएका छन् ।

    स्थानीयहरु ट्राफिक प्रहरी माथि आक्रोशित रहेकाले शुक्रवार छ लेन सडकमा ट्राफिक चेकिङ्ग नै स्थगित गरिएको थियो । शुक्रवार सार्वजनिक सिसिटिभी फुटेजमा भने केही संचार माध्यममा आएजस्तो ट्राफिकले स्कुटीलाई रोकेको कारण दुर्घटना भएको भन्ने देखिदैन ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले संयमता अपनाउन सबै संग आग्रह गरेकी थिइन् । स्थिति नियन्त्रणमा आएपछि उनले सबैप्रति आभार व्यक्त गर्दै प्रदर्शनकारीको भावना अनुरुप दुर्घटनाको सत्यतथ्य छानविन हुने प्रतिवद्धता प्रकट गरेकी छन् ।सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा पिडित परिवारको तर्फबाट तुलसीहरि कोइराला सहित पाँच सदस्यीय एक छानविन समिति बनाइएको उनले बताइन् ।

    श्रोतका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरका पूर्व प्रमुख रहेका एसपी प्रजित केसीको नेतृत्वमा अर्को छानविन समिति बनाएर अनुसन्धान समेत अघि बढाइएको छ ।

    ट्रक चालक जिल्ला सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...