News Portal

  • माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ असोज २०८१
    ३१५ पटक
    भक्तपुर, ३ असोज २०८१

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको भनेका छन् । नेपाली काँग्रेस र नेकपा(एमाले)लगायतका दलहरु पुरानै संविधानको सिरानी हालेर सुतिरहेका बेलामा माओवादीले वर्तमान संविधानको लागि बलिदानी गरेको उनले बताएका हुन् ।

    संविधान दिवसका अवसरमा अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै संविधानका एक मस्यौदाकार समेत रहेका बिडारीले माओवादी जनयुद्धलाई हत्या हिँसा भन्नेहरुले संविधानको मर्म नबुझेका बताए । वर्तमान संविधान बनाउन संविधान सभाको माग गर्दा हजारौ मानिसलाई तत्कालीन राज्य पक्षले हत्या गरेको, बेपत्ता बनाएको, जेलनेल र अंगभंग गराएको इतिहास युवा पुस्ताले बुझ्नुपर्ने पनि उनको भनाइ छ ।

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य बिडारीले वर्तमान संविधान समाजवादी संविधान नभएको पनि प्रष्ट पारेका छन् । समाजवाद उन्मुख संविधान भन्ने वाक्यांशका लागि पनि अन्य दलहरुलाई सहमती गराउन निकै कसरत गर्नुपरेको उनले खुलासा गरेका छन् । समाजवादको बाटो पहिल्याउन यसले मद्दत गर्ने उनले बिश्वास व्यक्त गरे ।

    उनले वर्तमान संविधानमा मौलिक हकको पर्याप्त व्यवस्था भएको उल्लेख गरेका छन् । ३१ वटा मौलिक हक उल्लेख भएको संसारकै उन्नत संविधान नेपालको संविधान भएको उनले दावी गरेका छन् । त्यस्तै समावेशी र समानुपातिक व्यवस्थाले दलित, महिला, सिमान्तकृत एवं पछाडि पारिएका वर्ग र क्षेत्रका हक अधिकार सुनिश्चित भएको उनको दावी छ । उनले भारत र अमेरिकाको भन्दा नेपालको संविधान राम्रो भएको बताएका छन् । संविधान कार्यान्वयनको पक्षमा जोड दिदै उनले यसलाई अक्षरश: लागू गर्न सके गाँसबास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सम्वृद्धि लगायतको ग्यारेन्टी गरिएको उनको जिकिर छ।

    ”संविधान सभाले बनाएको पहिलो र अघिल्ला ७ संविधानको तुलनामा यो सर्वोत्कृष्ट संविधान हो ।” उनले भने । तर, यसैमा सन्तुष्ट हुने अवस्था भने नभएको उनको तर्क छ ।

    अहिले संविधान संशोधनको बहस चलिरहँदा आफूहरु संशोधनको बिरोधी नभएको उनले बताए । ”पुरानैमा फर्काउन होइन, अग्रगमनका लागि संविधान संशोधन आवश्यक छ । उनले भने । नेता बिडारीले राजनीतिक शौदाबाजीका लागि नभई देशको हितलाई केन्द्रमा राखी संविधान संशोधन गर्नपर्ने बताएका छन् ।

    सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले वर्तमान संविधान सहमतीको दस्तावेज भएकोले आफूहरुले चाहे जस्तो समाजवादी संविधान नबनेको बताए । यद्यपी अन्य यथास्थितिबादी दलहरुलाई लतार्दै समाजबाद उन्मुख संविधान बनाउनु सन्तोषजनक भएको उनको भनाइ छ ।

    नेता ढकालले दलहरुमा केन्द्रीकृत मानसिकता रहेकाले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउन थप प्रयासको आवश्यकता औल्याए । ”हात खुट्टा बाधेर पोखरीमा पठाए जस्तोसुकै पौडीबाज पनि पौडिन सक्दैन, अहिले प्रदेशहरुको अवस्था पनि त्यस्तै छ । ” उनले भने ।

    संघीयताले खर्च बढाएको भ्रम फ़ैलाइएको भन्दै उनले तत्कालीन विकास क्षेत्र,अञ्चल, जिविस र गाविसहरुको तुलनामा झन् कम प्रशासनीक खर्च भैरहेको तथ्य प्रस्तुत गरेका छन् । बिकास बजेट खर्च गर्नेमा संघ र स्थानीय भन्दा प्रदेश सरकार पहिलो भएको भन्दै उनले संघीयताले बिकासको बाढी ल्याएको बताए ।

    विकास, सेवा बिस्तार र उपलब्धीका हिसाव किताब प्रस्तुत गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा देशले प्रगती गरिरहेको प्रष्ट पारे । तथ्यलाई तोडमोड गर्ने संघीयता विरोधीहरुको प्रतिकार गर्नुपर्ने उनको भनाइ छ ।

    अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सानोठिमी क्याम्पसका प्राध्यापक विष्णु पौडेल र सुजन सोडारी, स्ववियु सभापति रेशमलाल श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय नेताहरु रमेश खड्का, प्रकास केसी,मास बहादुर लामा, अन्जित तामाङ्ग त्यसैगरी वाइसिएल भक्तपुरका अध्यक्ष सरराज उप्रेतीको समेत आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...