शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आगामी फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गरिने भएको हो ।
शिक्षा पत्रकार समूहको सोमबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रोशन गाउँलेले जनाएका हुन् । समूह स्थापनाको २५ वर्ष पुगेको अवसरमा फागुन ५ मा राष्ट्रिय शिक्षा सम्मेलन गर्ने निर्णय भएको उनले बताएका छन् ।
शिक्षा सम्मेलनमा नेपालको शैक्षिक विकासमा केन्द्रीत रही शिक्षासम्बन्धी विविध विषयमा कार्यपत्र प्रस्तुत हुने, तीनै तहका सरकारका शिक्षा नीतिबारे शैक्षिक बहस मार्फत नीति निर्माणमा सहयोग पुर्याउने लक्ष लिइएको बताइएको छ ।
शिक्षा पत्रकार समूहको शनिवार सम्पन्न १२औं अधिवेशनबाट निर्जला कक्षपतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सो नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै सोमबार पहिलो बैठक सम्पन्न गरेको हो ।